|

बैतडी : आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिनअघि नै बजेट आए पनि बैतडीमा विकास खर्चको अवस्था दयनीय देखिएको छ। जिल्लामा चालु आर्थक वर्ष ०७४÷७५ को बजेट आएको आठ महिना पुग्नै लाग्दासमेत विकास बजेट खर्चको अवस्था न्यून देखिएको हो।

बजेट निकासा भएको ८ महिना र आर्थिक वर्ष सुरु भएको ६ महिना पूरा हुनै लाग्दा बैतडीमा २५ दशमलव ३७ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका अनुसार आर्थिक वर्षको ६ महिना तथा सरकारले बजेट ल्याएको साढे सात महिना पुग्दासमेत पुँजीगत अर्थात् विकास बजेट खर्च ३१ करोड ९८ लाख ६ हजार ७ सय ११ रुपैयाँ निकासा भएको छ।                                          

चालु आर्थिक वर्षमा सरकारले बैतडीको विकासका लागि पुँजीगत बजेट १ अर्ब २६ करोड ५ लाख ५३ हजार ३ सय रुपैयाँ विनियोजन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका सूचना अधिकारी भाष्करदत्त पन्तले बताए। चालु आर्थिक वर्षको मंसिरसम्म निर्वाचनका कारण विकासका गतिविधिले गति लिन नपाएको विकासे कार्यालयहरुको दाबी छ।

निर्वाचनका कारण विकास बजेट खर्च नहुनु नै मुख्य कारण भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त कोष तथा लेखा नियन्त्रक नरेशराज भट्टले बताए।

‘विकासे कार्यालयहरुसँग बुझ्दा मुख्य कारण चुनाव र नयाँ संरचनाको अलमलले गर्दा काम हुन पाएन,’ उनले थपे, ‘स्थानीय तहमा कर्मचारीको अभावले पनि बजेट कार्यन्वयन हुन पाएन।’

सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्थाअनुसार १५ जेठमै बजेट ल्याए पनि त्यसबाट खासै अन्तर देखिएको छैन। आर्थिक वर्षको ६ महिना बितिसक्दासमेत विकासे अड्डाहरुले कतिपय योजनाको ठेक्का आह्वानसमेत गर्न सकेका छैनन्।

सहरी विकास तथा भवन डिभिजन कार्यालयले पुँजीगततर्फ हालसम्म कुल ४५ करोड विनियोजित भएकोमा १३ करोड मात्रै खर्च गरेको छ।

यस्तै, सुदूरपश्चिम डिभिजन सडक कार्यालय बैतडीले चालु खर्चतर्फ कुल ३५ करोड ३६ लाख बजेट पाएको १४ करोड खर्च गरेको छ। अधिकांश विकासे कार्यालयहरुले जनशक्ति अभावकै कारण कम काम भएको बताएका छन्।

स्थानीय तहलाई झन् सकस

चालु आर्थिक वर्षमा सरकारले स्थानीय तहलाई प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि परिचालन क्षमता कमजोर भएका कारण खर्च हुन नसकेको देखिएको छ।

अधिकांश स्थानीय तहमा विकास बजेट खर्च १ प्रतिशतभन्दा बढी हुन सकेको छैन। बैतडीका सबैभन्दा पुरानो नगरपालिका दशरथथचन्द नगरपालिकाले आर्थिक वर्षको ६ महिनासम्म १ प्रतिशत मात्रै बजेट खर्च गरेको नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए।

‘नयाँ संरचना आएलगत्तै नगरसभा हतारमा गर्नुपर्‍यो,’ उनले भने, ‘बजेट कार्यन्वयनका लागि जनशक्तिको पनि अभाव रह्यो।’

यस्तै, भर्खरै बनेका नयाँ नगरपालिका र गाउँपालिकामा कर्मचारी अभावका कारण विकास बजेट निकै कम खर्च भएको छ। ‘प्राविधिक कर्मचारीको नाममा ओभरसियर पनि छैनन् कसरी विकास बजेट खर्च गर्ने ?’ पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी ऐरबमले भनिन्।

कसरी विकास बजेट खर्च गर्ने भन्नेबारे जनप्रतिनिधि अलमलमा रहेको देखिन्छ। अहिलेसम्म योजनाहरु कार्यन्वनका लागि सम्झौता गर्ने काम चलिरहेको स्थानीय तहहरुले बताएका छन्।

दोगडा केदार गाउँपालिकाले भने अन्य स्थानीय तहको तुलनामा विकास खर्च बढी गरेको छ। गाउँपालिकाले हालसम्म झन्डै ३० प्रतिशत पुँजीगत खर्च गरेको बताए। चुनावी व्यस्तता र कर्मचारी अभावका बाबजुद पनि विकास बजेट खर्च सन्तोषजनक रहेको दागडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए।

यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा बैतडीमा चालु खर्च भने ५६ प्रतिशत नाघेको छ। चालुतर्फ  विनियोजित कुल ४ अर्ब ६१ करोड ९० लाख ५३ हजार रुपैयाँ बजेटमध्ये बैतडीमा हालसम्म २ अर्ब ६२ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ।

चालु खर्च जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रहरी, जिल्ला प्रशासन, शिक्षा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयले बढी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.