|

सिन्धुुपाल्चोक : दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोक जिल्लालाई समृद्ध बनाउन यहाँका सबै सांसदहरू जुटेका छन्। विजयी सांसदहरूले चुनावअघिका दिनमा फरक पार्टीबाट चुनाव लडेका भए पनि सिन्धुपाल्चोकलाई समृद्ध बनाउन सबैको साथ र सहयोग आवयश्क भएकोे बताएका छन्। 

वाम गठबन्धनले पाँचवटा सिट जितेको सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धन पक्षधरले एक प्रदेशसभा मात्र जितेको थियो। उनीहरू ठूलाठूला योजना लिएर चुनाव लडेका थिए। 

चुनाव सकिएको महिना दिन बितिसकेको छ। तर न केन्द्रीय संसद बन्न सकेको छ, न त प्रदेश नै। यद्यपि, थाहाखबरले सिन्धुपाल्चोकका विजयी सांसदहरूसँग उनीहरूका प्राथमिकतामा परेका योजनाहरूबारे कुराकानी गरेको थियो।

तातोपानी नाका खोल्नेदेखि बाह्रबीसे ट्रान्जिट सिटी– सापकोटा
प्रतिनिधिसभा– १ का सांसद अग्निप्रसाद सापकोटाले आफ्नो क्षेत्रको मात्र विकास गर्नेमा होइन, पूरै जिल्लालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा जोड दिए। ‘जनताको अमूल्य मतलाई आफूले उच्च सम्मान गर्दै जनतासँग आफूले गरेको प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी राख्दिनँ’, सापकोटाले भने, ‘सिन्धुपाल्चोकलाई मुलुककै नमुना जिल्ला बनाउने योजनामा हामी लागेका छौँ।’

सिन्धुपाल्चोकवासीले सडक, शिक्षा, रोजगार र तातोपानी नाका खुलाउन विशेष माग गरेका छन्। यी मागहरू पूरा गर्न पहल गर्ने सापकोटाले प्रतिबद्धता व्यक्त गरे। ‘तातोपानी नाका खुलाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ चुनाव अघि, त्यो अबको तीन महिनामै खुल्छ।’ नाका सञ्चालनमा ल्याउन उच्च तहबाट नै पहल भएकाले तातोपानी नाका खुल्न अब समय नलाग्ने उनले बताए। चिनियाँ पक्षले पनि सुरक्षा व्यवस्थालाई कडाइ गरेर तातोपानी नाका खुलाउन लागिपर्ने भएकाले गृहमन्त्रालयलाई तातोपानी नाकाको विषयमा ध्यान खिचिएको बताउँछन्।

‘बाह्रबीसेलाई ट्रान्जिट सिटीको रूपमा विकास गर्ने अर्को चुनावी प्रतिबद्धता छ’, उनले भने, ‘पर्यटन, खनिज, जडिबुटी र जलस्रोतको सदुपयोग गरेर मैले सिन्धुपाल्चोकलाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेको छु।’ त्यसैगरी, प्रत्येक गाउँमा सडकको पूर्वाधार खडा गर्ने आफ्नो प्रतिबद्धता रहेकाले त्यो पूरा गर्ने वाचा पनि सापकोटाले गरे।  

चुनौतीका साथसाथै अवसर पनि हुने भएकाले समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि कुनै चुनौती नआउने विश्वास लिएको समेत उनले बताए। अवसरका रूपमा पनि मतदाताले मत दिएर बलियो साथ देखाएको हुनाले अबको पाँच वर्षमा समृद्ध सिन्धुपाल्चोक बनाउने जिम्मा आफ्नो काँधमा आइसकेको उनको भनाइ छ। जनताको बलले अझै बलियो साथ प्राप्त भएकाले सबै योजनाहरू पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

आफैँमा आत्मनिर्भर बन्न जोड– तामाङ
प्रतिनिधिसभा क्षेत्र नं.– २ का सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक आफैँमा समृद्ध जिल्ला भएको बताए। ‘सिन्धुपाल्चोक धार्मिक, पर्यटकीय र कृषिबाट समेत आफैँमा आत्मनिर्भर बन्न सक्छ। त्यसैले सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रलाई प्रबद्र्धन गर्न आवश्यक छ’, तामाङले भने। 

सिन्धुपाल्चोक– २ मा धार्मिक दृष्टिले महत्त्वका साथ हेरिएको गौरती भीमेश्वरको मन्दिर हर्लाङबलाङ, दाह्रगौडामा निर्माण हुन लागेको भूकम्प स्मृति बाटिका, हेलम्बु, तेम्बाथानलगायतको मनमोहक क्षेत्र यहीँ छ। 

मेलम्ची नगरपालिका कृषि उत्पादनमा धेरै अगाडि रहेको छ। तमाङका अनुसार कृषि क्षेत्रमा मेलम्ची नगरपालिकालाई मात्र नभएर पूरै क्षेत्रलाई नै परिचित बनाउन र आत्मनिर्भर बन्न सक्छ। 

सिन्धुपाल्चोकमा उत्पादन भएका स्रोत र साधनलाई व्यवस्थित गराउन सके मात्र पनि नमुना जिल्लाको रूपमा स्थापित हुने तामाङको भनाइ छ। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजार यसै क्षेत्रमा परेको छ। सदमुकाममा पहिल्यैदेखि खानेपानी र सडकको समस्या जड बनेको छ। खानेपानीलाई व्यवस्थित गराउन सके मात्र पनि सदरमुकामवासीको चाहना पूरा हुने उनले बताए।

प्रदेश सांसदका आ–आफ्नै विकासे योजना
आफ्नो पहिलो प्राथमिकता तातोपानी नाका सञ्चालनमा ल्याउने र सीमा क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन पहल गरिसकेको प्रतिनिधिसभा क्षेत्र नं.– १ ‘क’का सांसद अरुण नेपालले बताए। ‘सीमा क्षेत्रमा भएको समस्या समाधानलाई पहिलो प्राथकिताका साथ हेरेको छु’, उनले भने, ‘त्यसपछि मात्र विकास निर्माणअन्तर्गतका सडक, खानेपानी, विद्युतलाई राखेको छु।’ 

सिन्धुपाल्चोकमा धेरै स्रोत र साधन भएको भए पनि सही उपयोग नहुँदा विकास निर्माणको हिसाबले पछाडि परेको प्रतिनिधिसभा क्षेत्र नं.– १ ‘ख’का सांसद सरेश नेपालले बताए। ‘सिन्धुपाल्चोकमा धेरै स्रोत र साधन छ। त्यसको सदुपयोग गर्न नसक्दा हामी धेरै पछि परेका छौँ’, सांसंद नेपालले भने, ‘सडक निर्माण भएका छन् तर नामका मात्र। त्यसलाई व्यवस्थित गर्न आवश्यक छ। शिक्षालाई प्रभावकारी बनाउन आवश्यक हुन्छ। त्यसपछि मात्र विकास निर्माण सफल हुन्छ।’

प्रतिनिधिसभा क्षेत्र नं.– २ ‘क’का सांसद युवराज दुलाल ‘शरद’ले चुनावताका आफ्नो प्रदेशको विकासका लागि विकासको बाकस ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए। विकासको बाकसभित्र शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायतका सबै विकासका पूर्वाधार पर्ने उनको भनाइ छ। 

‘आफ्नो प्रदेश समृद्ध बनाउनका लागि भिजन तयार पारिसकेको छु। मैले मेरो समृद्ध प्रदेशको खाका प्रस्तुत गरिसकेको छु’, दुलालले भने, ‘त्यसलाई कसरी प्रयोगमा ल्याउँदा जनमुखी हुन्छ, त्यसैगरी जनभावनाअनुरूप विकास निर्माणको कामलाई अगाडि बढाउँछु।’ 

विकास निर्माणको हिसाबले आफ्नो प्रदेश अलिक पछाडि परेको भए पनि पाँच वर्षभित्रमा नमुना प्रदेशको रूपमा स्थापित गर्ने प्रतिनिधिसभा– २ ‘ख’का सांसद निमा लामा ह्याल्मो बताउँछन्। ‘पहिले चुनाव लड्दा छुट्टाछुट्टै पार्टीबाट लडेको भए पनि अब सबैको काम भनेकै जनताको पक्षमा लाग्ने भएकाले आफ्नो ठाउँको विकासमा आफैँ अग्रसर बन्न प्रेरित हुनुपर्ने भएको छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.