|
जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य जाँच गर्दै चिकित्सक टोली।

जाजरकोट : जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल ज्वरोबाट मंगलबार थप एक जनाको मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका ३ जाजरकोटका ५८ वर्षीय लालबहादुर भण्डारीको मंगलबार बिहान मृत्यु भएको छ।

योसँगै जुनिचाँदेमा भाइरलले मृत्यु हुनेको संख्या १२ पुगेको छ। आइतबार उपचारका लागि गएका भण्डारीको मंगलबार बिहान मृत्यु भएको हो।

दुई दिन अगाडि उपचार गराएर फर्केका भण्डारी भाइरलका साथै पखाला ज्वरो आउने गरेको उपचारमा संलग्न डाक्टर पवन शाक्यले बताए। ‘दुई दिनअगाडि उपचार गर्न आउनुभएको थियो, भाइरल ज्वरो र रुघाखोकी थियो, हामीले उपचार गरेर पठायौँ, सञ्चो नभए आउन भनेका थियौं, यहाँ नआएर निजी मेडिकलमा जानुभएछ’ उनले भने।

डाक्टर सहितको स्वास्थ्यकर्मीको टोली बसेको स्थान नजिकै भए पनि बिरामीका आफन्तले यहाँ नल्याएर थप उपचारको लागि निजी मेडिकलमा लिएको  शाक्यले बताए। चिसो निकै बढेको तर खानपान र न्यानो कपडा नलगाउँदा भाइरलले सताएको उनले बताए। रुघाखोकी लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा आउन र झोलिलो खानेकुरा खान शाक्यले आग्रह गरका छन्।

प्रभावित गाउँहरुमा डक्टर शाक्यको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पुगेर शनिबारदेखि घरदैलो उपचार थालेको छ।  बिरामीहरु स्वास्थ्य संस्था आउनुको साटो धामीझाँक्री गर्नतिर लाग्ने र समयमा उपचार नपाउँदा ज्यानै जाने खतरा हुन थालेपछि स्वास्थ्यकर्मी बिरामीको घरमै पुगेर उपचार थालेका हुन्। तीन दिनमा करिब साढे सात सय भाइरलका बिरामीको उपचार गरिएको डा. शाक्यले बताए।

भाइरलका कारण मजकोट गाउँमा बालबालिका र वृद्धहरु बढी प्रभावित भएका छन्। धेरैजसो  प्रभावित क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दुरीमा पर्छ।  हिजो मात्र मौगाना गाउँमा सुई किन्ने पैसा नहुँदा एक महिनाका बालक भुपेन्द्र नेपालीको  ज्यान गएको थियो।  जाजरकोटमा फैलिएको भाइरल ज्वरोका कारण यसअघि ११  जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.