|

  • विकास डाँगी-

दाङ : तुलसीपुर बजारमा विगत २० वर्षदेखि सिलाइ पेसा गर्दै आएका प्रेमबहादुर परियारलाई बजारमा आएका रेडिमेड कपडाहरूले आफ्नो पेसा हराउँछ कि भन्ने चिन्ता छ। १२ वर्षको उमेरदेखि बुबासँग कपडा सिलाउन सिकेका परियारले सिलाइ पेसाबाटै आफ्नो घर गृहस्थी चलाउँदै आएका छन्।

केही वर्ष पहिले आफूहरूलाई रात दिन काम भ्याइनभ्याई हुने गर्थ्यो तर केही अहिले बजारमा रेडिमेड कपडा बढ्नाले अबको केही वर्षपछि यो पेसा नै हराउन सक्ने उनले बताए। एकातिर रेडिमेड कपडा सस्तो छ, अर्कोतिर आफूहरूको सिलाइ नै महँगो छ, यसकारण पनि मानिसहरूले रेडिमेड नै प्रयोग गर्दै आएका छन्। त्यसैले आफ्नो पुर्ख्यौली पेसा जोगाउन राज्यले नै केही गर्नुपर्ने उनले बताए। 'आफूले अब यो पेसा जोगाउन आफ्ना छोराछोरीलाई सिकाउने हो भने पनि यो पेसाको भविष्य छैन', उनले भने, 'नसिकाए पेसा नै हराउने डर छ।'

त्यस्तै चिन्तामा छन् तुलसीपुरको वीपी चोकमा विगत २५/२६ वर्षदेखि जुत्ता सिलाउने पेसा गर्दै आएका लोकबहादुर नेपाली पनि। पछिल्लो समय बजारमा रेडिमेड जुत्ताको बढ्दो आकर्षणले आफूले उत्पादन गरेका स्थानीय जुत्ताहरूमा असर गरेको नेपाली बताउँछन। आफ्ना बाबु बाजेदेखि आफूले यो सीप सिकेर पेसा गरेको उनले बताए। तर आफूले उत्पादन गरेको जुत्ताको बजार व्यवस्थापन नहुँदा र रेडिमेड जुत्ताले गर्दा आफ्नो परंपरागत पेसा

संकटमा पर्ने उनलाई चिन्ता छ। सरकारले आफूहरूलाई जुत्ता उद्योग सञ्चालन गर्न सहयोग गरे आफूभन्दा पछिल्लो पुस्तालाई यो सीप सिकाउने र विभिन्न डिजाइनका आकर्षक जुत्ता उत्पादन गर्नसके यो पेसा दिगो हुने र आफूले उत्पादन गर्ने जुत्ता बजारमा बिक्ने नेपालीले बताए।

त्यस्तै विभिन्न शुभकार्यमा विगत पाँच वर्षदेखि आफ्नो पुर्ख्यौली पेसा पञ्चे बाजा बजाउँदै आएका तुलसीपुरका चोपेन्द्र परियारको पनि उस्तै दुखेसो छ। अहिले बजारमा भित्रिएको ब्याण्ड बाजाका कारण आफ्नो पेसामा असर पुगेको परियार बताउँछन्। बाजु बाजेको पुर्ख्यौली पेसालाई बचाउन निरन्तरता दिन आफू केही वर्षदेखि लागेको लागेको भए तापनि ब्याण्ड बाजा नौमती पञ्चे बाजाभन्दा सस्तोमा बजाइदिँदा आफूहरूलाई असर भएको उनले बताए।

पछिल्लो समय युवा पुस्ताले आफ्ना पुर्ख्यौली पेसालाई अँगाल्न छाडेकाले आफूहरूले पुराना बाजाहरूलाई मर्मत गरी पेसालाई निरन्तरता दिँदै आएको परियारले बताए। यस्ता बाजाको संरक्षणका लागि र युवा पुस्तालाई आकर्षण गराउन राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.