विचार

दुई हजार खर्च गरेर लडेको त्यो चुनाव
SHARES

पुस २६, २०७४

    निर्वाचनमा उम्मेदवारलाई आफ्नो प्रचार–प्रसार गर्ने संयन्त्र कैयौं मुलुकमा राज्यले नै उपलब्ध गराएको हुन्छ। राज्यको टेलिभिजन, राज्यको रेडियो वा पत्रिकामार्फत आफ्ना एजेण्डा मतदातासमक्ष पुर्‍याउन पाइन्छ। तर हाम्रो देशमा चाहिँ निर्वाचन आयोगले नै उम्मेदवारको खर्चको सीमा तोकिदिन्छ, र त्यो पनि यसरी तोकिदिन्छ, मानौं पैसा नहुनेले चुनावै लड्न पाउँदैन वा चुनाव लड्न कम्तीमा खल्तीमा बीस–पच्चीस लाख रुपैयाँ हुनैपर्छ।

    रुपचन्द्र बिष्ट

    यो गलत हो।

    चुनाव आयोगमा सीमाभित्रकै खर्च विवरण पेश गरे पनि हाम्रा उम्मेदवारहरु त्यति खर्चमा अडिएका छैनन्। अनौपचारिक कुराकानीमा उनीहरु संसदीय चुनावमा जनही दुई–तीन करोड रुपैयाँ खर्च भएको सुनाउँछन्। त्यो पैसा कहाँबाट आउँछ? चुनावका लागि गलत ठाउँबाट पैसा लिएको जनप्रतिनिधि त्यही गलत प्रवृत्तिको स्वार्थपूर्ति गर्न विवश हुन्छ। ऊ कालाबजारिया र तस्करहरुलाई सघाउन विवस हुन्छ। यहाँसम्म कि कुनै अमुक काम गरिदिने शर्तमा ऊ आफ्नै कार्यकर्तासँग पैसा असुल्न विवश हुन्छ। त्यसैले उम्मेदवारले खर्च गर्ने पैसाको मूल्य अंकित रकमजति मात्रै हुँदैन। त्यसको मूल्य लामो समयसम्म सिङ्गो समाजले चुकाइरहनुपर्छ। त्यसको मूल्य बेथितिमा प्रतिबिम्बित हुन्छ।

    म आफैं प्रत्यक्ष चुनावको आकांक्षी भए पनि भाग्यवश टिकट पाइन। पाइहालेको भए, म त्यत्रो खर्च त गर्ने थिइन, तर खर्चचाहिँ गर्नैपर्थ्यो। पैसा हातमा नपरी कार्यकर्ताहरु डेग चल्दैनन्। बियर र पेट्रोल खर्च अनिवार्य जस्तो भइसक्यो। अझ मोटरसाइकल नै खोज्छन्। अनि! निस्वार्थ चन्दा दिनेले आठ–दश हजार देला। आठ–दश लाख दिनेले त नि:स्वार्थ दिँदैन होला नि!

    यो विकृति हो। यसलाई रोक्न वा यो आचरण सुधार्न राज्यले वैज्ञानिक विधि बनाउनुपर्छ। त्यसो गरिएन भने यो बढ्दै जान्छ, घट्दैन।

    जनप्रतिनिधि र मतदाताबिच दुरी हुनुहुँदैन भन्ने उहाँको सिद्धान्त हो। बोली र व्यवहारमा भेद थिएन। जनता उहाँको त्यही कुरा रुचाउँथे।

    मैले पहिलोपटक चुनाव लडेको २०४४ सालको जिल्ला पञ्चायतको चुनाव हो। रुपचन्द्रले मलाई उम्मेदवार बनाउनुभएको थियो, जसमा मेरो दुई हजार रुपैंयाजति खर्च भएको थियो। रुपचन्द्रले पहिलोपटक चुनाव लड्नुभएको २०३८ सालमा हो, त्यतिखेर त झन् दुई हजार पनि खर्च भएन।

    रुपचन्द्र भन्नुहुन्थ्यो, चुनावमा खर्च गर्नु भनेको व्यापार गर्नु हो। सिधा कुरा छ– जसले खर्च गर्छ, त्यसले त असुलउपर गर्छ। कहाँबाट असुलउपर गर्छ? पदको दुरुपयोग गरेर गर्छ। त्यतिमात्रै हैन अझ लगानीको दुई– तीन गुना असुलउपर गर्ला। के यो व्यापार होइन!

    उहाँ चन्दा लिन पनि मान्नुहुन्नथ्यो। अलिअलि त लिनुपर्‍यो, यसरी त भएन, भनेर हामीले कचकच गरेपछि ४३ सालको निर्वाचनमा उहाँले एउटा पर्चा निकाल्नुभयो, त्यसको आशय म सम्झन्छु–

    जनताका दुरविन वा जनताका आँखाकान भनेका कार्यकर्ता हुन्। ती कार्यकताहरु विकृत वा परजीवी भए भने जनताले सहि सुचना पाउँदैनन्। त्यसकारण तिनलाई परजीवी हुन नदिन, तिनको खर्चवर्च वा उपयुक्त तरिकाले बाँच्नका निम्ति कसैलाई इच्छा छ भने राष्ट्रिय बाणिज्य बैंक फलानो खातामा पैसा जम्मा गर्न सकिनेछ।'

    मलाई सम्झना छ, त्यो खातामा सत्र सय रुपैयाँ जम्मा भएको थियो। त्यो पनि हामी साथीभाइहरुले नै हालेका थियौं। अरु कसले हाल्ने!

    रुपचन्द्रले चुनावी प्रतिस्पर्धा गर्दा खर्च मुख्य कुरा थिएन, सिद्धान्त मुख्य कुरा थियो। उहाँ भन्नुहुन्थ्यो,

    चुनावमा न्याय जनताले गर्ने,

    राजनीतिमा सेवा प्रतिनिधिले गर्ने,

    नगर्ने प्रतिनिधि बदल्ने।

    चुनावमा जनताले न्याय गरेनन् भने प्रतिनिधिले सेवा गर्दैन। यो त अहिले व्यापार भएको छ। चुनावको बेलामा कार्यकर्ताले व्यापार गर्छ, जितेपछि प्रतिनिधिले गर्छ।

    रुपचन्द्र यस्तो प्रवृत्तिको विरोधी हुनुहुन्थ्यो। चुनावमा खर्च गर्ने कुरै छैन, हारिन्छ भने हारिन्छ। उहाँ पदमा हुँदा पनि सुविधा लिनुभएन। जनताको घरमा गएर खाना खानु पर्‍यो भने पनि श्रम गरे मूल्य चुकाउनुहुन्थ्यो। मल बोक्दिने हो कि, दाउरा चिर्दिने हो कि, त्यस्तो उहाँको तरिका थियो।

    चुनावमा पनि उहाँ सिधा–सिधा कुरा गर्ने हो। सरल तरिकाले भन्नुहुन्थ्यो, ‘रक्सी ख्वाएर, नाता गाँसेर, जात गाँसेर जुन भोट पाइन्छ त्यो अराजनैतिक भोट हो। हामीलाई त राजनीतिक भोट चाहिन्छ, जसमा जनताको अधिकार कसरी विकास गर्ने भन्ने चासो जोडिएको होस्।’

    उहाँको नारा थियो– ‘राजनीतिक अधिकार व्यक्तिलाई, आर्थिक विकास समाजलाई।’

    मान्छेहरु उहाँको कुरा ध्यान दिएर सुन्थे। अरु त अरु, विरोधीहरु पनि उहाँको कुरा सुन्दथे।

    ‘भोट भनेको अमृत हो। यही भोटबाट इन्साफ, विकास र प्रगती फल्छ। यसका निम्ति तिमीले न्याय गर्नुपर्छ। तिमी बाँचेको बेलामा, तिम्रो कालमा तिमीले नगरे कसले गर्छ। तिमीले आज रोपेको फल नै तिम्रो सन्ततीले पाउने हो। त्यसैले भोट खसाल्नका लागि कसैले नदेख्ने गोप्य कोठामा जाँदा मुक्तिकामी काम गरेको सम्झनू र जनमूखीलाई भोट दिनू’ यसप्रकारले उहाँ सम्झाउनुहुन्थ्यो।

    विपक्षीलाई सम्झाउने तरिका पनि त्यस्तै हुन्थ्यो। मण्डलेलाई सम्झाउने तरिका पनि त्यस्तै हुन्थ्यो।

    ‘तेरो यत्रो बडेमानको टाउको छ। जुन प्रकृतिले हामीलाई नि:शुल्क दिएको छ। त्यो किन्नु परेको भए कत्रो फसाद् पर्थ्यो? यस्तो टाउकोलाई हामीले कसरी प्रयोग गर्ने? कि यसलाई अरुको फुटबल हुन दिने? तेरो टाउकोलाई अरुले नचाउने हो? त्यस्तो पनि हुन्छ? तँ आफु छुट्टै, बेग्लै, सग्लो, स्वतन्त्र र सार्वभौम मान्छे होइनस्?’ यसरी सम्झाउँदा विरोधीहरु पनि रुपचन्द्रलाई भोट दिने निष्कर्षमा पुग्थे।

    सर्वसाधारणलाई पनि त्यसरी नै घोच्ने गरी भन्नुहुन्थ्यो।

    ‘ए भेडाबाख्रा हो! यसरी नै जीवन बिताउने हो?’

    मान्छेहरु मलाई किन भेडाबाख्रा भनिस् भन्थे।

    ‘भेडाबाख्रा र तिमेरुमा के फरक छ त! भेडाबाख्रा पनि जन्मन्छ, जीविका गर्छ, जन्माउँछ, मर्छ। तिमीहरु पनि त्यही गर्छौ। एक थाल भात र एक अङ्गालो स्वास्नी वा एक थाल भात र एक अङ्गालो लोग्ने भए पुगेको छ। हो कि हैन भन त!’ उहाँ सोध्नुहुन्थ्यो, ‘तिमी बाँचेको बेलामा, तिमी बाँचेको समयमा यो पृथ्वीमा यी अपराधीहरुको राज्य चलेको टुलुटुलु हेरेर बस्ने! त्यसको विरोधमा केही नगर्ने! एक दिनमा चौबिस घण्टा हुन्छ। त्यो चौबिस घण्टामध्ये केही मिनेट त चिन्तन गर्न सकिन्छ नि! के गर्‍यो भने सत्य थाहा हुन्छ? सत्य थाहा पाएपछि त्यसलाई कसरी अगाडि बढाउने! चिन्तन गर्नुपर्दैन? तिम्रो काम जीविका गर्ने र जन्माउने मात्रै हो?’ सर्वसाधारणलाई उहाँ यसप्रकारले सम्झाउनुहुन्थ्यो।

    त्यतिखेर प्रचार–प्रसारमा पनि त्यतिबिघ्न खर्च हुँदैनथ्यो। पर्चा नै आम्दानीको स्रोत थियो। पर्चा मज्जाले बिक्थे। किन्नेले पैसा परेकै कारण पर्चामा उल्लेखित कुराहरु गम्भीरताका साथ पढ्छ भन्ने रुपचन्द्रको ठम्याइ थियो। उहाँ फोटो भएको पोष्टर छाप्न दिनुहुन्थेन। फोटो हेरेर होइन, विचार हेरेर भोट दिने हो भन्नुहुन्थ्यो। विपक्षीहरुले पोष्टर छाप्थे, हामी पर्चा छाप्थ्यौं। अर्को, हातेमाइक लिएर भाषण गर्दै हिँडिन्थ्यो। हाते माइकमा ब्याट्री लाग्थ्यो, खर्च त्यत्ति हुन्थ्यो। तै पनि मज्जाले चुनाव जितिन्थ्यो।

    गाउँमा गाडीघोडा जाँदैनथ्यो, हिँड्ने नै हो। गाउँमा सुइँसुइँ जाने, गाउँको सिरानमा गएर माइकिङ गर्ने–

    ‘फलानो दिनमा, फलानो ठाँउमा, जनमूखी छलफल हुँदैछ। जनमुखी राजनीति र थाहा दर्शनका बारेमा छलफल हुनेछ। प्रमुख बक्ता फलानो हुनुहुन्छ।’

    बस् , भन्ने त्यत्ति हो। अहिलेको जस्तो ‘भव्य सभा हुँदैछ’ भन्न पाइँदैनथ्यो। अरु त अरु ‘आउनोस्’ भन्न पनि दिनुहुन्थेन। जानकारी दिने हो, आउन मन लागे वा भ्याए आउँछन्, नभ्याए आउँदैनन् भन्नुहुन्थ्यो। आउनोस्, शोभा बढाइदिनोस् भन्ने त प्रश्नै छैन।

    कोही कोही मान्छेहरु ‘मलाई भाते भन्ने, कुकुर भन्ने! मसँग स्वास्नी–छोराछोरीको समेत गरी यति भोट छ, तँलाई दिन्न’ भन्थे। त्यस्तालाई रुपचन्द्र च्याप्प समातेर भन्नुहुन्थ्यो, ‘भोट भनेको के!’

    त्यसरी माइकिङ गरेपछि गाउँभरीका मान्छे भेला हुन्थे।

    अहिले आउँछन्?

    उल्टो, कति पैसा दिन्छन् , खाजा छ कि छैन भनेर सोध्छन्।

    रुपचन्द्रले चुनाव लड्दा त्यस्तो थिएन। जनमुखी सभामा मान्छेहरु हुरुरुरु आउँथे। छलफल हुन्थ्यो। कुराकानी हुन्थ्यो। भनाभन हुन्थ्यो। मण्डले पनि आउँथे, निहुँ खोज्थे। पुलिस पनि आउँथ्यो, छेक्न खोज्थ्यो। विपक्षीहरु मतदातालाई जाँड ख्वाउँथे। त्यसरी मातेका मान्छेहरु हामीसँग पाखुरा सुर्किन आउँथे। डर पनि लाग्थ्यो।

    म मकवानपुरको कुरा गर्दैछु।

    रक्सी खाएर मातेर आएको मान्छेलाई पनि रुपचन्द्रले सम्झाउने नै हो। कुट्न भनेर आएको मान्छेलाई पनि शान्त बनाइदिनुहुन्थ्यो। उहाँ सोध्नुहुन्थ्यो,

    ‘तेरी श्रीमतीले खान नपाएको कारण के?’

    ‘तेरा छोरोले पढ्न नपाएको कारण के?’

    ‘तेरी छोरीलाई पढाउन नपाइएको कारण के?’

    ‘फलाना शोषकको छोरो पढेको कारण के?’

    ‘फलाना शोषककी स्वास्नी राम्री भएर हिँडेको कारण के?’

    ‘के हो कारण? देउताको खेल हो? पूर्वजन्मको कमाइ हो? के हो यो?’

    रुपचन्द्रलाई सुनेपछि त्यो टिल्ल भएर कुट्छु भन्दै आएको मान्छे पनि सिताङ्ग हुन्थ्यो र भोट हाल्न तयार हुन्थ्यो।

    कोही कोही मान्छेहरु ‘मलाई भाते भन्ने, कुकुर भन्ने! मसँग स्वास्नी–छोराछोरीको समेत गरी यति भोट छ, तँलाई दिन्न’ भन्थे। त्यस्तालाई रुपचन्द्र च्याप्प समातेर भन्नुहुन्थ्यो, ‘भोट भनेको के!’

    ‘भोट भनेको अंग्रेजी शब्द हो, नेपालीमा जसको अर्थ मत हुन्छ। मतको पर्यायवाची हो– विचार। ‘के गर्‍यो भने देशको विकास हुन्छ, जनताको विकास हुन्छ’ भन्ने विचार तँसँग छैन। त्यसैले तँसँग भोट छैन। तेरो स्वास्नी छोराछोरीको त छोड्दे, तँसँग तेरै भोट पनि छैन। थोत्रो टिनको बाकसमा एउटा कागजको चिर्कटो घुसारेर भोट हुन्छ त्यो! त्यो भोट है । त्यो त बोक्रा भएको तर दाना नभएको केराउको कोसोजस्तो हो। त्यस्तो भोट कुकुरको पुच्छरमा झुन्ड्याईदिए हुन्छ।’ रुपचन्द्र यसरी पनि सम्झाउनुहुन्थ्यो। मान्छेको मुटुभित्र कुरा छिरोस् र कहिल्यै नबिर्सने गरी छिरोस् भन्ने उहाँको कोशिस हुन्थ्यो।

    उहाँको प्रष्ट कुरा थियो, ‘तिमीहरुको भोटले यो व्यवस्था फेरिनेवाला छैन। फेर्नुपर्ने त राज्यव्यवस्था हो, तर भोटबाट फेरिँदैन। अहिल्यै फेरिँदैन। यो भोट मलाई दिए पनि मेरो विरोधीलाई दिए पनि, तिमीहरुले अहिले इन्साफ– विकास पाउँदैनौ। मलाई जिताएको खण्डमा मबाट तिमीहरुले खाली के पाउँछौ भने यो शोषकहरुको व्यवस्था कसरी चलिरहेको छ भन्ने जानकारी पाउँछौ। मैले त बाँझो खन्न मात्र खोजेको हो। खेतीपाती गर्ने दिन आएपछि राम्रो खेती गरौंला। अहिले बाँझो खन्न, जङ्गल फाँड्न त मद्दत गर।’

    जनप्रतिनिधिको हिसाबले मुल्यांकन गर्नुपर्दा, रुपचन्द्र पद र पैसामा नविक्ने जनप्रतिनिधि हुनुहुन्थ्यो। राष्ट्रिय पञ्चायतको अधिवेशनमा भाग लिनुभन्दा पहिले जनतामा जानुहुन्थ्यो। टोलटोलमा, छाप्राछाप्रामा गएर भन्नुहुन्थ्यो, ‘म राष्ट्रियसभाको अधिवेसनमा भाग लिन जाँदैछु, तिम्रो कुरा के छ भन।’ यसरी पहिले जनताको कुरा सुन्नुहुन्थ्यो, त्यसपछि बैठकमा जानुहुन्थ्यो। जिल्लाभरीका जनमूखी सभाले पारित गरेका एजेण्डा बैठकमा प्रस्तुत गर्नुहुन्थ्यो। अधिवेसन सकिएपछि फेरी गाउँमा जानुहुन्थ्यो। त्यहाँ गएर भन्नुहुन्थ्यो, ‘मैले तिमीहरुले भनेका कुरा बैठकमा राखेँ। विरोधीले यसो–यसो भने र, यस्तो निर्णय गरे।’ यसरी मतदातासमक्ष अधिवेशनका फेहरिस्त प्रस्तुत गर्नुहुन्थ्यो। एक गाउँ होइन, दुई गाउँ होइन, साराका सारा गाउँमा पुग्नुहुन्थ्यो।

    जनप्रतिनिधि र मतदाताबिच दुरी हुनुहुँदैन भन्ने उहाँको सिद्धान्त हो। बोली र व्यवहारमा भेद थिएन। जनता उहाँको त्यही कुरा रुचाउँथे।

    त्यो कुरा बिस्तारै बिस्तारै बदलिँदै गएको छ। राजनीति सेवा नभई व्यापार बन्दै गएको छ। संसार नै पैसामुखी, पदमुखी, स्वार्थमुखी हुँदै गएको छ। अहिले विकृती राजनीतिक दलमा छ, दलको नेतामा छ। नेताहरु नसुध्रिएसम्म, तिनीहरुको आचार–व्यवहारमा साँस्कृतिक क्रान्ति नभएसम्म सुधार सम्भव छैन।

    (दार्शनिक रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्तीका अवसरमा थाहा सञ्चार नेटवर्कको कार्यक्रम द न्युज प्लसका लागि पवनराज पौडेल ले बिडारीसँग गरेको कुराकानीमा आधारित।)

रामनारायण विडारी

वरिष्ठ अधिवक्ता बिडारी हाल राष्ट्रियसभा सदस्य छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]