सरकार नपुगेपछि सहयोगी हातहरु पुगे सन्थाल बस्तीमा

|

दमक(झापा) : शीतलहरले जनजीवन कष्टकर बनिरहेका वेला सरकारी सहयोग नपुगेपछि झापाको दक्षिण सीमावर्ती विपन्न बस्तीमा विभिन्न सहयोगी हातहरु पुगेर न्यानो कपडा तथा सहायता सामग्री वितरण गरेका छन्।

भारतसँग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउँपालिका-१ माहाभारास्थित ढेवु बस्तीका विपन्न २० सन्थाल परिवारका २५ जना बालबालिकासहित ५० जनालाई मंगलबार न्यानो कपडा वितरण गरिएको हो।

सरकारको मात्र भर पर्दा विपन्न समुदायका व्यक्तिहरुको अवस्था झन् झन् कमजोर बनेकाले सहयोग सामग्री प्रदान गरिएको सहयोगी मध्येका दमकका डेबिट शाही ठकुरीले बताए। दमकका उद्योगी, व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको पहलमा ती सामग्री प्रदान गरिएको हो।

सरकारले कहिल्यै देखेन’

यो बस्ती गत साउन अन्तिम साता आएको बाढीबाट विस्थापित भएकाहरुको बस्ती हो। तर, अन्य क्षेत्रका बाढीपीडितहरुलाई सरकारीस्तरबाट राहत प्रदान गरे पनि यो बस्तीका पीडित भने नपाएको स्थानीय वृद्ध ढेवु मुर्मुले बताए। यस बस्तीमा रहेका बालबालिका र वृद्धवृद्धाहरुको जीवन झनै कष्टकर बनेको भन्दै उनले भने, ‘जवानहरु त जसोतसो बाँच्लान् तर हामी बूढाबूढी र केटाकेटी बच्न गाह्रो भयो।’

गएको साउन–भदौमा आएको बाढीका कारण विस्थापित बन्दासमेत आफूहरुलाई सरकारले नहेरेको अर्का विस्थापित मत्तेबुल हस्दाले गुनासो गरे। ‘हामी त यो देशकै होइनौँ भन्ने जस्तो ठान्छन्’ उनले भने, ‘नत्र किन हामीलाई चाहिँ सरकारले कहिल्यै देख्दैन?’

बस्तीका सबै घर शौचालयविहीन

यस बस्तीमा रहेका २० घरमध्ये कुनैमा पनि शौचालय छैन। सरकारले खुला दिशामुक्तको अभियान चलाए पनि अभियानका बस्तीमा पुगे पनि सहयोग भने प्रवेश भएको छैन।

सोही बस्तीका लुखिराम मुर्मूले प्रश्न गरे, ‘सबैले चर्पी बना बना मात्र भन्छ, घरमा खाने चामल छैन, केले बनाउनु चर्पी?’ नजिकैका विद्यालयहरुले शौचालय नबनाउने घरमा नानीहरुलाई विद्यालयमा भर्नासमेत नलिने भनेको प्रति उनको दुःखेसो छ, ‘हामी गरिबलाई चर्पी बनाउने पैसा छैन, कसैले सहयोग गर्दैन। अब त हामीले छोराछोरी पनि पढाउन नपाइने रे।’

अवस्था यो ढेबु बस्तीको मात्र होइन। गौरीगञ्ज गाउँपालिका-१ को बनियानी खोला किनारका २५ परिवार, साविक कोरोबारी हालको वडा नं. २ को दाशचौरी र साविक कोरोबारी ९ को पारिगाउँका २० परिवार पनि सहायताको पर्खाइमा छन्।

स्थानीय पूर्व–शिक्षक नारायण कार्कीले भने, ‘ढेबु बस्तीजस्तै यी बस्तीमा पनि शौचालय अझै निर्माण हुन सकेका छैनन्, यो जाडोको वेला पनि सरकारले समस्या बुझ्न सकेको छैन।’

शिक्षाको बाधक बन्यो गरिबी

साविकको महाभारा तथा कोरोबारी गाविसमा रहेका सन्थाल बस्तीका अधिकांश विद्यार्थीले विद्यालय तह पनि पूरा नभई पढाइ छाड्ने गरेका छन्। विपन्नताका कारण किशोरावस्थादेखि नै मजदुरीमा जाने गरेकाले ५/६ कक्षा पढेपछि विद्यालय आउन छोड्ने गरेको गौरीगञ्ज १ को बालकल्याण माविकी शिक्षक सुशीला पौडेलले बताइन्। उनले भनिन्, ‘दुई÷चार दिन घर नआएपछि हामी घर घरमै पुग्छौँ तर अब नपढाउने भन्छन् अभिभावक, विद्यार्थीहरु पनि विद्यालय आउनै मान्दैनन्।’

सोही विद्यालयमा कक्षा ४ को पढाइ छोडेर गौरीगञ्ज १ की सुमित्रा मुर्मू अचेल मजदुरीमा जान थालेकी छन्। उनकी दिदीले भने कक्षा ५ पढेपछि विवाह नै गरिन्। ‘घरमा काम गर्ने मान्छे हुँदैन कसरी पठाउनु स्कुल’ स्थानीय किस्टु हस्ताले भने, ‘जन (मजदुरी) गयो भने ३ सय पाउँछ, स्कुल गयो भने के पाउँछ?’

सन्थाल बस्तीका विद्यार्थीहरुमा ‘ड्रप आउट’ को समस्या चुनौतीको विषय बनेको बालकल्याण माविमा प्रधानाध्यापक भोलाप्रसाद खतिवडाले बताए। यो समस्याको अन्त्यका लागि विद्यालयको मात्र प्रयास पर्याप्त नभएको उनको भनाइ छ। उनले भने, ‘अब गाउँपालिकासँग पनि सहकार्य गरी बीचैमा पढाइ छोड्ने समस्या समाधानका लागि हामी पनि लागिपर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.