|

काठमाडौं : नेपाली सेनामा कार्यरत दार्चुलाका सविन धामी (नाम परिवर्तन) पत्नीसँग डल्लुमा डेरा गरी बस्थे। जीविका सुखद् नै चलिरहेको थियो। सन् २००६ मा धेरै पैसा आर्जन हुने आसमा नेपाली सेनाको जागिर छाडेर धामी वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगे।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा ज्यानको बाजी लगाएर काम गर्नुपर्थ्यो। यद्यपि, आम्दानी राम्रै थियो। धामीले दु:ख गरेर कमाएको पैसा पत्नीलाई पठाउन थाले। २ वर्षपछि उनले थाहा पाए, आफूले पठाएको पैसा पत्नीले परपुरुषसँग लागेर सिध्याइसकेकी रहिछन्। 'नेपाल फर्किदा मसँग पैसा थिएन,' दु:खी हुँदै धामीले भने, 'भएको पैसा जति सबै पठाइसकेको थिएँ।' 

नेपाल फर्किएर उनले सबै कुरा बुझे। तै पनि जे भयो, भयो अब म पनि नेपालमै केही गर्छु, मिलेरै बसौं भनेर पत्नीसँग सहमति गरे। केही महिना उनीहरु सँगै पनि बसे। पत्नीको बानी सुध्रिएन। अहिले उनीहरु अलग-अलग बस्दै आएका छन्। 'हामी छुट्टै बस्छौं छोरा उसैसँग बस्छ, छोराका लागि खर्च दिने गरेको छु। सम्बन्धविच्छेद गरौं भन्दा अदालत जान मान्दिन, सम्बन्धविच्छेद गर्न उसले निवेदन दिनुपर्ने रहेछ। अर्को बिहे गर्छु भन्दा उल्टै बहुविवाहको मुद्दा हाल्छु भनेर धम्की दिन्छे,' उनले गुनासो गरे।

सिन्धुपाल्चोकका कुमार लामा (नाम परिवर्तन) को ललितपुर नयाँ बस्तीमा खाजा पसल छ। उनले एउटा निजी कार्यालयमा काम गर्ने केटीसँग विवाह गरे। व्यवसाय सन्तोषजनक भएन। उनको भन्दा पत्नीको कमाइ बढी थियो। 'सुरुमा जीवन राम्रै चलेको थियो। कहिलेकाही उसको मुखबाट रक्सीको गन्ध आए पनि सामान्य रुपमा लिएँ। तर, पछि झन् बढ्दै गयो, यही विषयमा घरमा सधैंजसो झगडा हुन थाल्यो। दिनदिनै यस्तो अवस्था ठीक नहुने भनेर हामी सहमतिमै अलग बस्न थाल्यौं,' उनले थाहाखबरसँग भने। 

सुन्दर सपना देखेर विवाह गरेका लामा पत्नी रक्सीको कुलतमा फसेपछि आफू बर्बाद भएको गुनासो गर्छन्। सोही पीडा भुल्न उनी पनि रक्सीकै सहारामा पुगेका छन्। 'कोहीले तिम्रो श्रीमती विदेश गयो भन्छन्, मलाई थाहा हुँदैन, म त घरको न घाटको भएको छु,' उनले भने, 'केटा मान्छेले सम्बन्धविच्छेद गर्ने कुरा साह्रै लामो प्रक्रिया रहेछ। अब जे होला होला, बिहे गर्ने मनस्थितिमा छु,' उनले सुनाए।   

यी त प्रतिनिधि घटनामात्र हुन्। पछिल्लो समय महिलाबाट हुने घरेलुहिंसा बढ्दै गरेको नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखाअन्तर्गत महिला सेल कालिमाटीकी प्रहरी सहायक निरीक्षक निर्मला ओझा बताउँछिन्। 'आजभोलि वैदेशिक रोजगारीबाट फर्किँदा श्रीमती अर्कैसंग लागेर पैसा सिध्याएका वा श्रीमतीले अर्कै केटासंग भागेर विवाह गरेका मात्र होइन, विभिन्न कारण सधैँ झगडा भइरहने र त्यसको निदान खोज्दै पुरुषहरु निवेदन दिन चौकीसम्म आउने क्रम बढेको छ,' उनले भनिन्।

यस्तै कतिपय भने श्रीमती कुलतमा फसेकाले सम्झाइदिन आग्रह गर्दै चौकीसम्म आउने गरेका छन्। उमेर नपुग्दै गरिने विवाह र परिवारको मात्र चाहनाले हुने विवाह यसको कारक तत्व रहेको प्र.स.नि. ओझाको बुझाइ छ।

आर्थिक वर्ष २०७३/७४ मा महिला सेलमा परेको उजुरीको तथाङ्कअनुसार महिलापीडित पुरुषको संख्या ५० थियो। चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामै यो संख्या ८१ पुगिसकेको छ। यसमा पनि धेरै उजुरी वैदेशिक रोजगारीमा गएका पुरुषहरुले दिएका छन्। 'यसरी उजुरी दिनेमध्ये कतिपयको हामीले नै मिलाएर पठाउँछौँ, जटिल अवस्थामा रहेकालाई अदालत जान सुझाउँछौं,' उनले भनिन्।

के कस्ता घटनामा लिन्छ प्रहरीले उजुरी?

यस्ता-यस्ता घटनामा उजुरी लिने, यस्तोमा नलिने भन्ने स्पष्ट कार्यविधि छैन। यद्यपि पीडित भनेर आउनेहरुको उजुरी लिने गरेको प्र.स.नी ओझाले बताइन्। 'कोही श्रीमतीले पिटिन् भनेर आउँछन्, कोही श्रीमतीले लुकिछिपी अर्कैसँग सम्बन्ध राख्ने गरेको भनेर आउँछन्,' प्र.स.नि. ओझाले भनिन्, 'पीडित भनेर आउनेहरुको उजुरी लिने गरेका छौं।'

कानुन पुरुष हिंसाका विषयमा स्पष्ट छैन। 'कस्तो खाले हिंसालाई पुरुष हिंसा मान्ने त्यो कानुनमा उल्लेख छैन, यसले समाजमा ठूलो जटिलता निम्त्याएको छ,' अधिवक्ता प्रेमसिंह धामीले भने, 'महिलाले जे गर्दा पनि हुनेजस्तो कानुन छ। पुरुष हिंसाबारे जबसम्म स्पष्ट कानुन बन्दैन तबसम्म यसबारे बोल्ने स्पष्ट आधार रहँदैन।'

किन बाहिर आउँदैनन् प्राय घटना?

कानुनको जटिलता : नेपालमा महिलाको निम्ति सम्बन्धविच्छेदको प्रक्रिया जति सहज छ, पुरुषका निम्ति त्यति छैन। महिलालाई सहयोग गर्ने संघ-सस्था धेरै छन्, पुरुषको हकमा त्यो छैन।

समाजिक उत्तरदायित्व : नेपाल पुरुष प्रधान मुलुक हो। महिलाहरु पुरुषको नियन्त्रणमा छन् भन्ने आम बुझाई पाइन्छ। सोही कारण पनि 'म पत्नीपीडित' भन्न अधिकांश पुरुष तयार हुँदैनन्। उनीहरुको पुरुषत्वले यस्ता हिंसा बाहिर ल्याउन रोकिरहेको प्रहरीको बुझाइ छ।

पुरुष हिंसाबारे जानकारीको अभाव : कस्तो प्रकारको व्यवहारलाई पुरुष हिंसा मान्ने? यसबारे पनि धेरैजना प्रष्ट छैनन्। कानुन पनि यसबारे मौन नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.