पर्यावरणीय अध्ययनविना सडक र भवन निर्माण हुँदै

|

बैतडी : बैतडीको सिगास गाउँपालिकाले नै संरक्षित वन क्षेत्र मास्न लागेको स्थानीयहरूले अरोप लगाएका छन्। संरक्षित क्षेत्र मासिने गरी गाउँपालिकाले गर्जे भन्ने स्थानमा केन्द्र राखेर संरचना बनाउने तयारी गरेको प्रति स्थानीयले असन्तुष्टि जनाएका हुन्।

सिगास गाउँपालिकामा पर्ने देशकै महत्त्वपूर्ण संरक्षित क्षेत्र सिगासधुरा मासिने गरी पर्यावरणीय अध्ययनविना सिगास गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट ठेक्कामार्फत सुरु गरेको सडक काट्ने तथा भवन बनाउने काम तत्काल रोक्न स्थानीयले माग गरेका छन्। 

गाउँपालिकाले गर्जेमा केन्द्र बनाउनका लागि जमिन खरिद गरेको अध्यक्ष हरिसिंह धामीले बताए। तर गर्जे संरक्षित क्षेत्रको बीचमा पर्छ। गर्जेसम्म पुग्नका लागि वन क्षेत्र हुँदै सडक पनि बनाउने तयारी गाउँपालिकाले गरेको छ। 

गाउँपालिकाले पर्यावरणीय अध्ययन नगरी संरचना बनाउनका लागि रूख काट्ने काम सुरु गरेको छ। गाउँपालिका अध्यक्ष धामीले भने सिगास संरक्षित क्षेत्र मासिने गरी कुनै पनि निर्माणको काम नभएको बताए। ‘हामीले वन मास्नका लागि होइन, गाउँपालिकाको केन्द्र बनाउन गर्जेमा काम थाल्दै छौँ’, उनले भने।

सिगास गाउँपालिकाको केन्द्र वस्ती बढी भएको र सबैलाई पायक पर्ने स्थान गाजरीमा राख्नुपर्ने स्थानीयको माग छ। गाजरीमा आधा दर्जन सरकारी कार्यालयसमेत छन्। तर  गाउँपालिकाले भने वस्ती नभएको गर्जे क्षेत्रमा केन्द्र तोकेर नयाँ संरचना बनाउन थालेको छ। नयाँ संरचना बनाएर जनप्रतिनिधिले कमिसन खान खोजेको स्थानीय हरिश धामीको गुनासो छ। गर्जे क्षेत्र लेकमा पर्छ भने अधिकांश घना वस्ती सिगास धामको वेँसीमा पर्छ। 

सिगास संरक्षित क्षेत्रमा पाइने जरायो, घोरललगायत वन्यजन्तुको वासस्थानमा समेत दीर्घकालीन खतरा पैदा हुने गरी सिगास गाउँपालिकाले  स्थानीयवासीको विरोधका बाबजुद पनि सिगासधुराको बीच जंगलमा गाउँपालिका केन्द्र बनाउने भन्दै  सडक खन्ने र भवन निर्माण गर्न ठेक्का आह्वान गरेको छ। 

गाउँपालिकाको केन्द्र तोकिएको गर्जे र त्यहाँ पुग्ने सडक खन्नका लागि रूख काट्ने काम स्थानीयको विरोधका बाबजुद पनि गाउँपालिकाले सुरु गरेको स्थानीय देवसिंह धामीले बताए। गाजरी क्षेत्रमा सामुदायिक वन कब्जा गरेर घर टहरा बनाई मदिरा बिक्री भइरहे पनि गाउँपालिकाले ध्यान नदिएको सिगास सामुदायिक वनका अध्यक्ष देवसिंह धामीले गुनासो गरे। ‘गाउँपालिकाले वनको संरक्षण गर्नुको सट्टा आफैँ मास्न लाग्यो’, उनले भने। 

यता, जिल्ला वन कार्यालयले पनि यस विषयमा गाउँपालिकाले कुनै जानकारी नगराएको र पर्यावरणीय अध्ययनको विवरण पनि वन कार्यालयमा नआएको जनाएको छ। प्रक्रियामा आएर काम गर्न आफूहरूले सबैमा आग्रह गरे पनि पर्यावरणीय अध्ययन नगरीकनै वन मासेर विकास निर्माण हुने गरेको साहायक वन अधिकृत रामप्रसाद चौधरीले बताए। ‘विशेषज्ञ टोलीद्वारा कम्तीमा पनि एक लाख रुपैयाँभन्दा बढी खर्च गरेर पर्यावरणीय अध्ययन गर्नुपर्ने भएकाले अहिले जिल्लामा पर्यावरणीय अध्ययन नगरी सडक खन्ने र भवन बनाउने काम भइरहेको छ’, उनले भने, ‘सिगास गाउँपालिकाले पनि पर्यावरणीय अवस्था अध्ययन गर्न झनझन नै मानेको छ।’ 

नेपाल सरकारले सिगास संरक्षित क्षेत्र बनाउने गरी जिल्ला वन कार्यालयबाट कार्यक्रमसमेत सुरु गरिसकेको र स्थानीयले सिगास धामलाई धार्मिक दृष्टिबाट समेत पवित्र भूमिको रूपमा पुज्ने भएकाले गर्जेमा केन्द्र राख्दा पछि वस्ती त्यतातिर बस्ने र ढल निकासी पनि सिगासधामतिरै जाने भएकाले आफूहरूले विरोध गरेको स्थानीय गोकर्ण दयालले बताए। ‘गाउँपालिकाको यो कदमले सिगास संरक्षित वन क्षेत्रमा दीर्घकालीन असर पर्ने देखियो’, उनले भने। 

अख्तियारमा पनि उजुरी 
संरक्षित वन क्षेत्रमा गाउँपालिकाले सडक निर्माण गर्न डोजर लगाएर जथाभावी रूख काट्दा उक्त क्षेत्रमा पाइने सेतो चन्दन, पाँचऔँले, सुगन्धवाल, लोठ सल्ला, नेपाली कागज बन्ने लोक्ताका बिरुवालगायत ४० भन्दा बढी बहुमूल्य जडिबुटी नाश हुने खतरा रहेको भन्दै स्थानीयले उक्त ठेक्का रद्द गरी निर्माणका काम रोकिदिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा निवेदनसमेत पठाइएको छ। 

समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेकोे पवित्र धार्मिक तथा संरक्षित क्षेत्र सिगासधुरामा सडक खन्न, भौतिक संरचना निर्माण गर्नेजस्तो गम्भीर कुरा गर्नुपूर्व गाउँपालिकाले सरकारको स्वीकृति लिएको छैन। 

कुनै विस्तृत पर्यावरणीय अध्ययन नगरी जैविक विविधता नाश हुने गरी भइरहेको गलत कार्य तत्काल रोकेर आवश्यक छानबिन गर्न स्थानीयले माग गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.