|

काठमाडौं : नेपाल आयल निगमले गत वर्षदेखि चार वटा कामलाई विशेष प्राथमिकतामा राखेको छ। ती काम हुन् आयल निगमको भण्डारण क्षमता वृद्धि, पेट्रोलियम पाइपलाई विस्तार, ट्याङकरमा लकिङ प्रणाली राख्ने र आयल निगमको चुक्ता पुँजी वृद्धि गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेको छ।

नेपाल आयल निगमको ४८औँ वार्षिकोत्सवमा निगमका निमित्त कार्यकारी निर्देशकलगायत सरोकारवाला निकायले मुख्यतया यी चार विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए। साथै, आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले स्वचालित मूल्य प्रणालीलाई बचाइराख्नुपर्ने बताए।

भण्डारण क्षमता अभिवृद्धि

'मुलुकलाई परी आउने समस्या समाधान गर्न र पेट्रोलियम पदार्थको बढ्दो मागलाई व्यवस्थापन गर्न भण्डारण क्षमता वृद्धि अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ' नेपाल आयल निगमको ४८औँ वार्षिकोत्सवमा आपूर्तिमन्त्री जयन्त चन्दले भने। चन्द मात्रै होइन आयल निगममा कार्यरत कर्मचारी तथा आयल निगमसँग जोडिएका उद्योगी व्यवसायीहरूले पनि पेट्रोलियम भण्डारण क्षमता वृद्धि गर्नुपर्ने आवश्‍यकता रहेको बताए।

अहिले नेपाल आयल निगमको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भण्डारण क्षमता १० क्षेत्रमा गरी ७१ हजार ६ सय २२ किलो लिटर रहेको छ। 'पछिल्लो ५ वर्षदेखि पेट्रोलियम पदार्थको माग १५ प्रतिशतले वृद्धि हुँदै गएको छ, यो हिसाबले आगामी ५ वर्षमा हाम्रो भण्डारण क्षमता पेट्रोल २ दिन र डिजेलको चार दिनको लागि मात्रै रहनेछ' निगमका निर्देशक वीरेन्द्र गोइतले भने।

भण्डारण क्षमता वृद्धिका लागि नेपाल आयल निगमले गत आर्थिक वर्षदेखि माग मूल्यांकन गरी ७ वटै प्रदेशमा ९० दिनको भण्डारणका लागि पूर्वाधार विकासको काम सुरु गरेको छ। तर, भण्डारण पूर्वाधार विकासका लागि किनिएको जग्गामा अनियमितता भएको पाइएपछि यो कामले गति लिन सकेको छैन।

पाँच वर्षे रणनीति यो काम समयमै पूरा गर्नुपर्ने आयल निगमका अधिकारीहरूको भनाइ छ। समयमै पूरा गर्न नसक्दा भण्डारण क्षमता नहुने र १/२ दिन मात्रै आयतमा समस्या हुँदा अभाव सिर्जना हुने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन्। भण्डारणका लागि अहिले विज्ञहरुसँग परामर्श गर्ने काम भइरहेको कायमुकायम महाप्रबन्धक भट्टराईले जानकारी दिए।

पाइपलाइन विस्तार

निगमले मुख्य प्राथमिकतामा राखेको छ। गौरवको आयोजनाभित्र रहेको पाइपलाइन विस्तारको काम तीव्र गतिमा भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

भट्टराईका अनुसार पाइपलाइन विस्ताको काम दुवै देशबाट एकसाथ भइरहेको छ। सुरुमा रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तारको कुरा भएता पनि भारततर्फ त्यो ३५ किलोमिटर पर मोतिहारीबाट पाइपलाइन विस्तार सुरु गरिएको छ। त्यस्तै,नेपालमा पनि चितवनसम्म सोही पाइपलाइन विस्तार गर्न अध्ययन भएको छ। अहिले भारतले पाइपलाइन विस्तारको लागि मोतहारीमा पाइप पुर्‍याइसकेको भट्टराईले बताए।

त्यस्तै, नेपालतर्फ बीचमा टिपी प्वाइन्टहरू जडान भइरहेका छन्। रुट निश्चित गरिएको छ भने ईआई (वातावरणीय प्रभाव मूल्यांकन)को रिपोर्ट तय गरेको छ। यो आयोजना हुँदा ढुवानीमा लाग्ने मूल्य र समय बचत हुने आयल निगमका अधिकारीको भनाइ छ।

लकिङ प्रणाली

नेपाल आयल निगमले इन्धन ढुवानीका क्रममा हुने चोरी नियन्त्रण गर्नका लागि लकिङ प्रणाली लागू गर्ने काम सुरु गरेको छ। पेट्रोलियम व्यवसायीले सिंकेज लस, वर्किङ लस र चुहावटका कारण आफूहरूले घाटा व्यहोर्नुपरेको गुनासो गरेपछि आयल निगमले इन्धन ढुवानीका ट्यांकरमा लकिङ प्रणाली लागू गर्ने सुरु गरेको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए।

निगमका निर्देशक गोइतको आगामी माघ महिनाबाट झापाको  चारआलीबाट ढुवानीका ट्यांकरमा लकिङ प्रणाली सुरु गरिनेछ। हाल ल्याइएका वा नयाँ चार सय  ट्यांकरमा लकिङ प्रणाली जडान भएर आएको चाबी लगाउन बाँकी रहेको छ। त्यस्तै, अन्य पुराना ८ सय ट्यांकरमा पनि लकिङ प्रणाली लागू गरिने बताए।

चुक्ता पुँजी बढाउने सोचमा आयल निगम

चुक्ता पुँजी वृद्धिलाई पनि आयल निगमले विशेष प्राथमिकतामा राखेको छ। 'निगमको वार्षिक कारोबार २ खर्ब हाराहारी पुगिसकेको छ। तर, निगमको चुक्ता पुँजी भने २९ करोड मात्रै छ, त्यसैले चुक्ता पुँजी वृद्धि हाम्रो प्राथमिकताको विषय हो' निमित्त कार्यकारी निर्देशक भट्टराईले भने।

नेपाल आयल निगम विगतमा अधिकतम ३७ अर्ब रुपैयाँसम्म घाटामा पुगेको थियो। २०७१ असोजबाट पेट्रोल डिजेल र मट्टीतेलमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि ऋण चुक्ता गरी नाफामा समेत पुगेको थियो। अहिले आयल निगमको घाटा २६ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो महिनादेखि ग्यासमा पनि स्वचालित मूल्य प्रणाली लागू गरेको र पछिल्लो महिनादेखि हवाई इन्धनमा पनि लागू गर्दा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालको बजार रहने आयल निगमका अधिकारीहरूले बताएका छन्।   

निगम अधिकारीका अनुसार निगमले चुक्ता पुँजी २० अर्ब पुर्‍याउने तयारी गरेको छ। चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्यअनुरूप निगमले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको छ।

सरकारी, रणनीति साझेदार र सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी वृद्धि गर्न लागेको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए। साथै निगमले  हवाई इन्धनमा आगामी महिनादेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.