ब्लग

डेनमार्क डायरीः खुसीको देशमा नेपालीको दुःख
SHARES

भदौ १९, २०७३

    डेनमार्क युरोपियन युनियनको महत्वपूर्ण सदस्य देश हो। आर्थिक समृद्धियुक्त यो देशको जनसंख्या झण्डै ५६ लाख छ। युरोपको उत्तरी क्षेत्रमा पर्ने डेनमार्कमा झण्डै चार सय हाराहारीमा टापुहरु छन्। त्यस मध्य ७५ वटा टापुमा मानव बसोबास छ।

    डेनमार्क एकात्मक संसदीय संवैधानिक राजतन्त्रात्मक मुलुक हो। यहाँको भाषा डेनिस हो। यसको मुद्रा डेनिस क्रोनर हो। यसको धेरै सीमा क्षेत्र जर्मनीसँग जोडिएको छ। यो स्वीडेनको दक्षिण पश्चिम र नर्वेको दक्षिणमा अवस्थित छ। संसारका धेरै पर्यटक जाने देशको सूचीमा डेनमार्क पर्छ। विश्वको शान्ति सूचकांक अनुसार यो विश्वकै दोस्रो शान्तिपूर्ण देश हो।

    नेपाल र डेनमार्क

    खुसीको देशको सूचीमा डेनमार्क पहिलो नम्बरमा छ। राजधानी कोपनहेगन बसोबासका लागि संसारको सबैभन्दा राम्रो स्थान हो। संसारका सबैभन्दा कम भ्रष्ट मुलकको अग्रस्थानमा पनि डेनमार्क पर्छ। नेपाल भने अतिभ्रष्ट देशहरुमा पर्छ।

    संसारमै सबैभन्दा धेरै कर लिने देशमा पनि डेनमार्क अग्रस्थानमा आउँछ। यहाँका नागरिकको प्रतिव्यक्ति आय झण्डै ३७ हजार ५ सय ८५ अमेरिकी डलर रहेको छ। नेपालको भने जम्मा १ हजार दुई सयको हाराहारीमा रहेको छ।

    डेनमार्कको सबैभन्दा उचाइ भएको ठाउँ जम्मा १ सय ७० मिटर रहेको छ। नेपालमा भने संसारकै अग्लो हिमाल सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको छ। त्यसैले पनि डेनमार्क समथर भूभागमा छ। नेपालको भौगोलिक अवस्था भने हिमाल, पहाड र तराईमा विभाजन छ। पहिलो विश्व युद्धका बेला डेनमार्क तटस्थ देश हो। नेपाल भने सधैं शान्तिको पक्षमा रहँदै आएको छ।

    डेनमार्कले सन् १९४५ मा संयुक्त राष्ट्रसंघ र १९४९ मा नेटोको सदस्यता लिएको थियो। डेनमार्कले सन् १९५३ मा संविधान संशोधन गरेर महिलाहरुलाई संसदमा स्थान दिने अधिकारको प्रत्याभूति गरेको थियो। नेपाल पनि महिला सहभागिता र समावेशितामा अग्रणी छ। माओवादीले थालेको सशस्त्र विद्रोहको शान्तपूर्ण अवतरणपछि यस क्षेत्रमा धेरै प्रगति भएका छन्। राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश पदमा महिला नै आसिन छन्।

    कृषिको दृष्टिले हेर्दा डेनमार्क भूसंरचनाले नै उपयुक्त मानिन्छ। त्यसमाथि उन्नत प्रविधि र आधुनिकिकरणले खेतिपाती र पशुपालन निक्कै फस्टाएको छ। खेतीका हिसाबले हेर्दा जौ, गहुँ लगायतका अन्न उब्जनी धेरै हुन्छ। जौ धेरै हुने भएकाले यहाँको बियरले प्रसिद्धी पाएको छ। भेडाबाख्रा र घोडा पालन पनि यहाँ फस्टाएको छ। माछा पालनले पनि अर्थव्यवस्थामा महत्वपूर्ण योगदान दिएको छ। नेपाल भने कृषि प्रधान देश भएपनि सबैजसो कृषि उब्जनी आयात गर्नुपर्ने बाध्यता छ।

    उन्नत कृषिका लागि डेनमार्क निरन्तर शीर्ष देशहरुमा पर्छ। लोककल्याणकारी राज्य भएकाले यहाँ पूँजीवाद मुक्त बजार छ। त्यतिमात्र होइन डेनमार्कमा आधुनिक विकसित उद्योगधन्दा पनि उत्तिकै छन्। रसायन उद्योग, कपडा उद्योग, जहाज निर्माण, इन्जिनियरिङ उद्योग पनि यहाँ प्रशस्त छन। उत्पादनका हिसाबले डेनमार्क बियर, कागज र काठमा संसारमै चर्चित छ। यसको आर्थिक कारोबार स्विडेन, जर्मनी र बेलायतसँग हुने गरेको छ। यहाँको बेरोजगारीदर मात्र ४ प्रतिशतको हाराहारीमा छ। पर्यटक आगमनका हिसाबले डेनमार्क संसारकै अग्रस्थानमा पर्छ। प्रतिव्यक्ति आयु झण्डै ८० वर्ष रहेको डेनमार्कमा जन्मदर निक्कै कम छ।

    प्रशासनीय दृष्टिले हेर्दा डेनमार्क पाँच भागमा विभाजन गरिएको छ। नेपाललाई पहिले पाँच विकास क्षेत्रमा विभाजन गरिएको थियो। नेपालमा जस्तै डेनमार्कमा १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने व्यवस्था छ। यहाँ हावाबाट बिजुली निकालिएको छ। तर हावाबाट निकालिएको बिजुलीले अपुग हुने हुँदा आणविक उर्जाले यहाँको बिजुलीको आवश्यकतालाई पूर्ति गरेको छ। 

    डेनमार्कमा घट्दै नेपाली

    डेनमार्कमा अहिले २ हजार नेपाली रहेको अनुमान छ। पछिल्लो समय विदेशीका लागि कलेजहरुले लिने महंगो शुल्क, काम गर्न नपाउने, भाषाको समस्या लगायतका कारणले गर्दा डेनमार्कमा नेपालीको संख्या घटेको छ। त्यतिमात्र होइन यहाँको स्थायी आवासपत्र (पिआर) लिने प्रकृया पनि निकै नै झण्झटिलो भएका कारण पनि नेपाली नागरिकले अरु देश रोज्न थालेका छन्। यहाँ नेपाली नागरिक विद्यार्थी भिसामा जाने गरेका छन्। पहिले पहिले पिआरको व्यवस्था भएपनि अहिले भने त्यो व्यवस्था सरकारले हटाएको छ।

    नेपाली विद्यार्थीले मासिक एक लाख रुपैयाँसम्म कलेजलाई बुझाउनु पर्छ। त्यसैले यहाँबाट अरु देश खासगरी पोर्चुगल पुगेर कार्ड बनाउने तर्फ नेपालीले ध्यान दिन थालेका छन्। डेनमार्कले अरु देशका नागरिकका लागि करको दरमा केही छुट गरेपनि नेपाली विद्यार्थीको तलब र आम्दानीमा छुट दिएको छैन। त्यसैले नेपाली नागरिकको संख्या डेनमार्कमा घट्दै गएको हो। डेनमार्कका कलेजहरुले पनि नेपाली विद्यार्थी लिन आनकानी गर्ने गरेका छन्।

    पहिले नेपालीको संख्या अझ घटेर १५ सय हाराहारी पुगेको थियो। पछिल्लो समय पोर्चुगलबाट कार्ड बनाएर आउनेहरुका कारण संख्या बढेको हो। डेनमार्कमा नेपालीहरु ४२ वर्ष अगाडिदेखि बसेको देखिएको छ। त्यसपछि सन् २००४ देखि त्यहाँ नेपाली विद्यार्थी जान थालेका थिए। अहिले ४० जनाजति पिएचडी गर्ने नेपाली विद्यार्थी डेनमार्कमा छन्। सबै विद्यार्थी स्नातक र स्नातकोत्तर पढाइका लागि डेनमार्क पुगेका छन्। नेपाली नागरिक सबैभन्दा धेरै पढाइका लागि नै पुगेका छन्। त्यसपछि भने पोर्चुगलबाट पासपोर्ट बनाउने र डेनमार्कमा बस्नेहरु छन्। यो संख्या दुई सयको हाराहारीमा रहेको छ। कुल नेपालीको २५ प्रतिशतसँग मात्र अहिलेसम्म डेनमार्कको पिआर रहेको गैरआवासीय नेपाली संघ एनआरएनएका नेता सोम सापकोटाले बताए। उनका अनुसार डेनमार्कले नियममा कडाइ गर्दै गएकाले विद्यार्थीहरु समेत फर्किन थालेका छन्।

    डेनिसहरुले नेपाली नागरिकलाई इमान्दार ठान्छन् र माया पनि उत्तिकै गर्छन्। डेनमार्कमा अरु देशका नागरिकले भन्दा नेपाली नागरिकले काम पाउन सजिलो हुन्छ। नेपाली नागरिक मध्य धेरैले काम गर्ने हस्पिटालिटी अर्थात होटल रेस्टुराँ क्षेत्रमा हो। केही नेपालीले यही क्षेत्रमा समेत लगानी गरेका छन्। त्यसो त वर्षमा सात आठ हजार डेनिस नागरिक नेपाल घुम्न समेत आउने गरेका छन्। २२ वटा डेनिस संघ संस्थाले कानुनी रुपमा नेपालमा काम गरिरहेका छन्। त्यति मात्र होइन १५ जना डेनिस नागरिकले नेपालका हिमालको आरोहण गरेका छन्। नेपालमा असुविधा र असुरक्षा छ भन्ने खालको बुझाइ धेरै डेनिसमा छ। नियम संगत काम गरेर नेपाली नागरिकले महिनामा करिब एकलाख रुपैयाँ बचत गर्छन्। गैरकानुनी हिसाबले काम गर्नेले भने चार पाँच लाखसम्म कमाउने गरेका छन्। 

    आउँदो वर्ष अर्थात सन् २०१७ नेपाल र डेनमार्कबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा हुँदैछ। यस अवसरमा नेपाली समुदाय, नेपाली राजदूतावास र डेनिस सरकारको पहलमा डेनमार्कमा विभिन्न कार्यक्रम समेत हुँदैछन्। तर दौत्य सम्बन्ध ५० वर्ष पुगेकै अवसरमा नेपालबाट डेनमार्कले आफ्नो राजदूतावास हटाउँदै छ। नेपाललाई अझै प्राथमिकतामा राख्नुपर्नेमा डेनमार्कले दूतावास हटाउन लागेको छ।

    नेपालमा लामो समयदेखिको शान्ति प्रकृया अन्तिम चरणमा पुगेको, भूकम्पपछिको अवस्थामा पनि सुधार आएको लगायतका कारण देखाएर नेपालमा रहेको डेनमार्कको राजदूतावास फिर्ता गरिन लागेको छ। नेपालमा अहिले पनि डेनमार्कको सहयोग आवश्यक छ। शान्ति प्रकृया पुरा हुन बाँकी छ, भूकम्पपछिको पुनर्निमार्ण हुन सकेको छैन। त्यसैले पनि नेपालमा दूतावास राख्न नेपाल सरकारले पहल गर्नु आवश्यक छ। यस विषयमा नेपाली संघसंस्था र आफूले समेत डेनिस सरकारसँग पहल गरिरहेका छन्।

    डेनमार्क कसरी 'खुसीको देश'?

    तपाईँ कति खुसी हुनुहुन्छ र किन? हाम्रो जस्तो विकासउन्मुख देशमा खुसी हुनका लागि धेरै कुराहरु मिल्नु पर्छ। तर डेनमार्क यस वर्ष नै वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा सबैभन्दा अग्रस्थानमा छ। स्विट्जरल्यान्डलाई पछाडि पार्दै डेनमार्क संसारको खुसीको देश बनेको हो। प्रतिवेदन अनुसार नेपाल एक सय सातौं स्थानमा छ। नेपालको छिमकी भारत १ सय १८ औं र चीन ८३ औं स्थानमा छन्। नागरिकको जीवनस्तर, आर्थिक अवस्था, घरेलु उत्पादन, जीवनको सम्भावना, स्वतन्त्रता लगायतका विषयलाई आधार बनाएर संयुक्त राष्ट्रसंघको पहलमा भएको अध्ययन अनुसार एक नम्बरमा पर्नु पक्कै पनि समृद्धिको उत्कृष्ट नमूना हो।

    बच्चा जन्माउन विज्ञापन

    डेनमार्कमा जन्मदर निकै कम छ। बुढाहरुको संख्या बढ्नु र बच्चाहरु कम हुँदै गएपछि यहाँको सरकारले नै नागरिकलाई बच्चा जन्माइदिनका लागि अपिल गरिरहेको छ। विभिन्न संचार माध्यम मार्फत बच्चा जन्माउन प्रोत्साहन गर्ने खालका विज्ञापन प्रशारण भैरहेका छन्। गास, बास र कपास तथा शिक्षा, स्वास्थ्य रोजगारको प्रत्याभूति गर्दा पनि त्यहाँका नागरिकले बच्चा पाउन चाँहदैनन्। बच्चा पाउन प्रोत्साहन गर्नेगरी त्यहाँको सरकारले जोडीलाई एक दिन विशेष विदाको व्यवस्था समेत गरेको छ। नागरिकलाई छोरा बुहारी, छोरी ज्वाईँलाई छुट्टी मनाउन पठाउन अपील पनि सरकारले गर्ने गरेको छ। बालबालिका कम र बुढाबुढी बढी हुन थालेपछि सरकारले यस्तो अभियान थालेको हो।

    त्यसो त युरोपका धेरै देशको समस्या हो यो। श्रीमान श्रीमति घुम्न जाने अवस्थामा बालबच्चा जन्मिउन् भनेर सरकारले उनीहरुलाई सहयोग समेत गर्ने गरेको छ। तर पनि त्यहाँका युवा युवतीमा बालबच्चा पाउने चाहना कम हुने गरेको छ। यसको मुख्य कारण युवा युवती स्वतन्त्र छन। उनीहरुलाई कुनैपनि प्रकारको अभाव छैन। विवाह बन्धनमा बाँधिएपनि यहाँका नागरिकले बालबच्चा पाउनुलाई एक प्रकारको नियन्त्रण जस्तै मान्ने गर्छन्। त्यसैले त्यस्तो बन्धनमा उनीहरु सकभर पर्न चाहँदैनन्। युवायुवतीले आफ्नो जोडी फेर्नुलाई यहाँ नेपालमा जस्तो अस्वभाविक मानिँदैन। तर बच्चा जन्माउन उनीहरुलाई बन्धनमा फस्नुजस्तै लाग्छ।

    चोक चोकमा यातायात  

    डेनमार्क सरकारले आफ्ना नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिदिएको छ। रोजगारी नभएपनि उसलाई बाच्न चाहिने सबै व्यवस्था सरकारले प्रत्याभूति गरेको छ। सबै प्रकारका कामको समान खालको पारिश्रमिक यो देशको सबैभन्दा राम्रो पक्ष हो। भाँडा माझ्ने र लेखाशाखामा काम गर्नेको लगभग समान खालको पारिश्रमिक हुने गरेको छ। राज्यले विकास निर्माणका गर्नुपर्ने पक्ष अत्यन्तै कम भएकाले नागरिकको सेवालाई मुख्य बनाएको छ। यहाँ साइकललाई सबैभन्दा राम्रो यातायातको साधनका रुपमा लिने गरिएको छ। सडकको दायाँ बायाँ साइकलका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ। त्यो लेनमा अरुले अवरोध गर्दैनन्।

    सरकारले नै ठाउँ ठाउँमा नागरिकका लागि निःशुल्क साइकलको व्यवस्था गरेको छ। सरकारले नागरिकका लागि हरेक चोकचोकमा साइकल राखिदिने र नागरिकले त्यसलाई आफू अनुकुल प्रयोग गर्ने गरेका छन्। कुनै एक चोकबाट लिएको साइकल आफू यात्रा सकिने चोकमा लगेर सरकारले नै बनाएको साइकल स्ट्यान्डमा राखिदिए पुग्छ। त्यसरी लगेको साइकल फेरि फर्काएर पुरानै ठाउँमा ल्याउनु पनि पर्दैन। यातायातको कुरा गर्दा बससेवा, मेट्रो, साइकल, रेल सेवा हरेक कुनाकुनासम्म पुगेको छ। स्थानीय बासिन्दाले निकै नै सस्तोमा यातायात सेवा पाइरहेका छन्। बस, मेट्रो र रेलमा एउटै कार्डले काम गर्छ। त्यसो त हरेक नागरिकको आय व्यय लगायत सबै आम्दानीको विवरण सरकारले राखेको हुन्छ। मेट्रो र रेल सेवा मानव बिना सञ्चालन हुने गरेका छन्। मेट्रो र रेलमा टिकट नलिइकन यात्रा गरेमा यहाँ उसको कार्ड मागेर आफै सजाय तिराउने गरिन्छ। विदेशी नागरिक रहेमा युरोप छाड्ने बेलामा विमानस्थलमै सजाय तिर्नुपर्ने हुन्छ। निजी गाडीले ट्राफिक नियम पालना नगरेमा गाडी घरमा पुग्ने बेलामा सजाय तिनुपर्ने रसिद घरमा नै पुग्ने अनुभवीहरुले बताएका छन्। सजाय नतिरेको अवस्थामा भने सामग्री जफत गर्नेसम्मको कारबाही हुने गरेको छ। त्यती हुँदा पनि सरकारले उसका लागि खानाबस्ने सुविधालाई कटौती गर्दैन।

    राज्यले सबै नागरिकलाई गर्ने समान व्यवहारले गर्दा नेपालमा जस्तो धेरै धनी र धेरै गरिब यहाँ छैनन्। समानताको हिसाबले हेर्दा उदाहरणीय मुलुकमा डेनमार्क पर्छ। घरको अवस्था उस्तै उस्तै, आयस्रोत पनि उस्तै उस्तै राज्यले प्रदान गर्ने सबै सेवा पनि उस्तै खालका, त्यसैले वास्तविक समाजवादको प्रयोग यहाँ भएको अनुभूति हुन्छ।

    डेनमार्कमा एउटै भवनमा हजारौं परिवार बस्नेखालको व्यवस्था मिलाइएको छ। त्यो पनि १९ औं शताव्दीदेखि नै बसोबासको व्यवस्थापन गरिएको देखिन्छ। खानपानको हिसाबले हेर्दा यहाँ बियर नपिउने प्राय हुँदैनन् भन्दा पनि हुन्छ। चुरोटका अम्मलीहरु पनि यहाँ धेरे छन्। जहाँ त्यही चुरोट खानेहरु देखिन्छन्। यहाँका केटाहरुले भन्दा केटीहरुले धेरै बियर, वाइन र चुरोट पिउँछन। इनर्जी ड्रिङ्क्सको प्रयोग पनि उत्तिकै छ।

    खानेकुराका लागि भने डेनमार्कको राजधानी कोपनहेगन सहर निक्कै महँगो रहेछ। यो संसारकै महँगा सहर मध्ये कोपनहेगन पनि एक हो। रातको साढे १० बजेसम्म घाम लाग्ने र बिहान साढे ३ बजे फेरि घाम उदाउने भएकाले हामीलाई डेनमार्कमा फरक खालको अनुभव समेत भयो।

    यो अनुभव संगाल्नका लागि गैरआवासीय नेपाली संघ एनआरएनएले अवसर जुटाइदिएको थियो। मसंगै नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम, पत्रकारहरु सरोज काफ्ले, सरोज दाहाल, दीपेन्द्र वान्तवा र लोकबहादुर चापागाई डेनमार्क पुगेका थियौँ।

रोसन पुरी

लेखक रेडियो थाहा सञ्चार नेटवर्कका सम्पादक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]