|

नेपाल एसोसिएन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को राष्ट्रिय अधिवेशन शुक्रबार (पुस २८ गते) हुँदै छ। उक्त अधिवेशनका लागि नाट्टाका प्रथम उपाध्यक्ष सीएन पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विगत २७ वर्षदेखि पर्यटन व्यवसाय गर्दै आएका पाण्डे लामो समयदेखि नाट्टाको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका हुन्। निर्वाचनमा छुट्टै प्यानल खडा गरेर प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका उम्मेदवार उनै पाण्डेसँग थाहाखबरकी देविका घर्ती मगरले गरेको कुराकानी।

तपाईंको अध्यक्षमा उम्मेदवारी किन?

म लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएको छु। सँगै नाट्टाको संस्थागत विकासमा क्रियाशील रहँदै आएको छु। नाट्टाको पोखरा च्याप्टरको विभिन्न पदमा रहँदै नाट्टा केन्द्रीय समितिमा आठ वर्षदेखि सदस्य, कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष र हाल प्रथम उपाध्यक्षको जिम्मेवारीमा छु।

यसबीचमा मैले नाट्टाको संस्थागत विकासमा योगदान दिएको छु। अब नाट्टामार्फत पर्यटन व्यवसायलाई प्राथमिकताको उद्योगको रूपमा स्थापित गर्न म संयोजक रहेको स्वर्ण महोत्सव उद्घाटन र समापन कार्यक्रमको प्रमुख एजेण्डा हो। यसलाई कार्यान्वयन गराउने मेरो मुख्य योजना छ। यसका लागि सरकारसँग समन्वय गर्न म सक्षम छु।

तपाईं सर्वसम्मत नेतृत्वको रूपमा आउनसक्ने सम्भावना कत्तिको छ?

वर्तमान कार्यसमितिका अग्रजहरू, युवा व्यवसायीहरू सबैको चाहना तथा मैले प्रथम उपाध्यक्षको रूपमा दिएको नेतृत्वका कारण सबै व्यवसायीले सर्वसम्मत हुन आग्रह गर्नुभएको छ। म पनि सबै व्यवसायीलाई समेटेर अघि बढ्न तयार छु। सांगठनिक नेतृत्वका हिसाबले म सक्षम छु भन्ने लाग्छ। डेढ दशकदेखि नाट्टाको विभिन्न जिम्मेवारीमा रहँदै कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको छु। यस कारण म सर्वसम्मत नेतृत्वको आकांक्षी र सर्वसम्मतिको पक्षमा छु।

नेपालका ट्राभल व्यवसायीका समस्या समाधान गर्न तपाईंका योजना के छन्?

नेपालका ट्राभल व्यवसायीका समस्या धेरै छन्। यी विविध समस्या सरकारसँग जोडिएका छन्। कतिपय नीतिगत सम्बोधन गर्नुपर्ने विषय पनि रहेका छन्। तिनको समाधानका लागि सरकारसँग सहज रूपमा समन्वय गरेर सबै विषय टुंग्याउने मेरो चाहना छ। नेपालको पर्यटन व्यवसायको मेरुदण्डको रूपमा रहेको ट्राभल व्यवसायलाई अझै आकर्षक र समस्यारहित बनाउन मेरो भूमिका महत्त्वपूर्ण हुनेछ।

टिकेटिङ र भुक्तानीका समस्या छन्। यसलाई कसरी समाधान गर्नुहुन्छ?

हाम्रो समूहमा टिकेटिङको प्रमुख बिक्रेताहरूको सहभागिता हुन्छ। त्यहाँ भएका समस्याहरूको एकमुष्ठ रूपमा समाधानका निम्ति मैले प्राथमिकताका साथ काम गर्छु।

ट्राभल व्यवसायमा ठूला र साना दुवै खाले लगानी छ। यसको बीचमा केही दूरी पनि देखिन्छ। यसलाई संयोजन गरेर सबै व्यवसायीलाई सन्तुष्ट तुल्याएर कसरी नेतृत्व दिनुहुन्छ?

म आफैँले सानो लगानीबाट सुरु गरेर आज व्यवसायको विस्तारको चरणमा अघि बढिरहेको छु र म दुवै खाले व्यवसायीसँग निकट रहेर काम गरिरहेको छु। म नेतृत्वमा आएपछि साना लगानीका व्यवसायीलाई पनि थप लगानी गरी व्यवसाय वृद्धिका लागि सोहीअनुसारको वातावरण सिर्जना गरी प्रेरित गर्छु। ठूला व्यवसायीको लगानीको संरक्षण गर्दै व्यावसायिक वातावरणलाई अझ मजबुद बनाउन भूमिका खेल्छु।

ट्राभल व्यवसायमा केही विकृतिहरू पनि छन्। त्यसको न्यूनीकरणका लागि के योजना छ?

यो व्यवसायमा भएका विकृतिहरूको न्यूनीकरणका लागि हामीसँग ठोस योजनाहरू छन्। हामी रेटमा बेञ्चमार्क कायम गर्छौं। अनधिकृत रूपमा सञ्चालित टिकेटिङ, टुरका लागि सरकारसँग समन्वय गरी नियन्त्रणको प्रयास गर्छौं। अन्तर्राष्ट्रिय बजारीकरण गर्न हाम्रा सदस्यहरूलाई सहुलियतका प्याकेजहरू निर्माण गरी पर्यटन बोर्डमार्फत समन्वय गरी अघि बढाउँछौँ।

पछिल्लो पटक नेपालीहरूको घुम्ने बानीको विकास भएको छ। त्यसका लागि आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने कुनै योजना छन्?

हामी नेपाल सरकार, निजी क्षेत्रको समन्वयमा ‘पे अन लिभ’को अवधारणामा कम्तिमा १५ दिन देशभित्रै घुम्नेगरी आधिकारिक ट्राभल एजेन्सीमार्फत घुम्ने व्यवस्था मिलाउँछौँ। यसले व्यवसायीलाई समेत एक तह माथि पुग्न टेवा पुग्छ।

भएका पर्यटकीय गन्तव्यको संरक्षण र नयाँको खोजी र बजारीकरणका लागि केही योजना छन् कि?

स्वर्ण महोत्सव समापन समारोहमा केही मुख्य पर्यटकीय गन्तव्यहरूका निर्वाचित प्रमुखहरूसँग व्यवसायीमाझ प्रतिबद्धता जनाउन कार्यक्रम सञ्चालन गर्यौं। र, थप गन्तव्यको पहिचान गरी पर्यटक विस्तार गर्न बसाइ लम्ब्याउन रणनीतिक योजना कार्यान्वयन गर्न पहल गर्छौं।

पर्यटक आगमन वृद्धिको योजना के छ?

हामी नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी अन्तर्राष्ट्रिय बजारमा नेपालका पर्यटन व्यवसायीको व्यापक रूपमा सहुलियत मेला व्यवसायको आयोजना गर्छौं। पर्यटक गन्तव्यबाट नेपालमा थप पर्यटक भित्र्याउन वायु सेवा कम्पनीलाई नेपालमा सिधा सम्पर्क गर्ने व्यवस्था मिलाउन पहल गर्छौं। संसारमा जुन देशको वायु सेवा प्रभावकारी हुन्छ, त्यही देशमा पर्यटकको संख्या अत्यधिक वृद्धि हुन्छ। त्यसका लागि सरकारलाई नेपाल एयरलाइन्सको सेवा विस्तार गर्न कम्तिमा थप १० थान जाहाज खरिद गराउन पहल गर्छौं।

त्रिभुवन विमानस्थलको क्षमता वृद्धि गरी २४सै घण्टा सञ्चालन गर्ने, बन्दै गरेका अन्तर्राष्टिय विमानस्थल यथासक्य निर्माण गरी सञ्चालन गराउन पहल गर्ने र पूर्वाधारमा सडक, द्रूतमार्गको विकास, पार्कहरूको निर्माण सञ्चालनलगायतका गर्न विशेष पहल गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.