|

लहान । सिरहाका दक्षिणी क्षेत्रमा रहेको सखुवा नन्कारकट्टी गाउँपालिका–४ सिम्राहाका आगलागी पीडित ३२ दलित घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ। लहानस्थित दलित संरक्षण अभियान मञ्चले जेनेभा ग्लोवलको आर्थिक सहयोगमा दलित बस्तीका ३२ घर परिवारलाई दुई÷दुई थान ब्ल्याङ्केट, स्वेटर र टोपी वितरण गरेको हो। कार्यक्रम संयोजक सूर्यनारायण रामका अनुसार बस्तीमा बुधबार अपरान्ह गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो।

करिव आठ महिनाअघि भएको भिषण आगलागीमा सिङ्गो बस्ती नै जलेर खरानी भएको थियो। त्रिपाल र अस्थायी रुपमा बनाइएको टिनको छाप्रोमुनि गुरा चलाइरहेका दलित परिवार न्यानो कपडा पाएपछि दंग छन्।

बस्तीका ३२ घरधुरीका एक सय १६ जनाको ओत लाग्ने झुपडीसमेत आगलागीमा जलेपछि दैनिकी कष्टकर बनेको छ। आगलागीमा ओत लाग्ने घर, अन्नपात, लत्ताकपडा सबै जलेपछि बिचल्लीमा परेकी गीतादेवी मण्डलले भनिन्–‘यो चिसोमा त्रिपालमुनि छोराछोरीसहित रात काट्नु पर्दा साहै्र कष्ट भएको छ ।’

अझै बनेन जनता आवासको घर 

अग्नि पीडितहरुका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति सिरहाको पहलमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सप्तरीद्वारा सिम्राहामा ‘जनता आवास’ कार्यक्रम अन्तर्गत अग्नि पीडित लागि बनाउन सुरु भएको २९ वटा घर डेढ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन। डिभिजन कार्यालयले भने बर्षात, बाढी, चाडपर्व, चनावलगायतका कारण निर्माणमा ढिलाई भएको जनाएको छ। बस्तीका २९ घर परिवारका लागि शौचालयसहित दुई लाख १५ हजार दुई सय ३७ रुपैयाँ लागतमा घर निर्माण हुँदैछ। 

चैत २८ गते साँझ खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर आगालागी हुँदा बस्ती नै जलेर सखाप भएको थियो । इलाका प्रहरी कार्यालय महेशबारीका अनुसार आगलागीमा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागीमा तीन वटा गाई, पाँच वटा खसीबाख्रा र एउटा बाच्छा जलेर मरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.