|

झापा (दमक) : समुद्रमा चल्ने जहाज कस्तो हुन्छ? झापा दमकस्थित हिमालय माविको कक्षा– ८ मा पढ्ने प्रियंकर भण्डारीले देखेकै छैनन्। तर, कसरी चल्छ भन्ने कुरा उनले पढेका मात्र छैनन्, नमुना प्रयोग गरेर देखाउन पनि सक्ने भएका छन्। सँगै पढ्ने पवन भण्डारी र प्रशान्त तिम्सिनाले बनाएको नमुना पानी जहाज हेरेर धेरैले पानी जहाज हेर्ने रहर पूरा गरे। प्रदर्शनी हेर्न पुगेकी दमक– ४ की हेमकला न्यौपानेले भनिन्, ‘साना विद्यार्थीको आविष्कार हेर्दा अचम्मै लाग्यो, यिनीहरूलाई यही वातावरण दिन सके नेपालमै सयौँ वैज्ञानिक तयार हुने थिए।’

घरका धारामा कैयौँ दिन पानी नआउँदा समस्यामा परेका सोही विद्यालयका कक्षा १० मा अध्ययनरत श्रद्धा उप्रेती र निकिशा थापाले भने शिक्षकले कक्षामा भनेका र पत्रपत्रिकामा पढेका आधारमा वर्षाको पानी प्रशोधन गर्ने उपकरण बनाएका छन्। निकिशाले भनिन्, ‘धेरै खर्च पनि नलाग्ने यो प्रविधिलाई उपयोग गर्न सके शहरी क्षेत्रमा हुने खानेपानीको अभाव टार्न धेरै सहयोग पुग्छ।’ विभिन्न कारणले प्रदूषित बनेको पानी पनि यस विधिबाट प्रशोधन गर्न सकिने भएकाले यो घरायसी प्रयोजन, कृषि तथा अन्य प्रयोजनको लागि उपयोगी हुने श्रद्धाको भनाइ छ। 

हिमालय माविका विद्यार्थी मात्र होइन, झापाका अन्य विद्यालयका विद्यार्थीहरूले पनि यस्ता नमुना आविष्कार गरेका छन्। ती आविष्कार प्रदर्शनको थलो बन्यो, दमक– १ को हिमालय माविमा भएको विज्ञान तथा वातावरण प्रदर्शनी। झापाकै कन्काई नगरपालिका– ३ को कन्काई माविका विद्यार्थीले भने औद्योगिक प्रदूषणलाई न्यूनीकरण गर्ने विधि र उपायको नमुना प्रदर्शन गरेका छन्।

कक्षा १० का आयुब बाँस्तोला, कक्षा ९ का मानव न्यौपाने र कक्षा ७ का अनुराग शिवाकोटी मिलेर यो प्रविधि बनाएका हुन्। आयुवले भने, ‘वायु प्रदूषण, जल प्रदूषण अनि तिनले पारेको असर हामीले अध्ययन गर्‍यौँ अनि त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर यो नमुना बनाएका हौँ।’

विद्यालयको सहयोगमा हिमालय माविको हिमालय ईको फ्रेण्ड्ली बाल क्लबले बुधबारदेखि दमकमा सुरु गरेको दुई दिने प्रदर्शनी धेरै विद्यार्थीहरूको विज्ञानप्रतिको रुचि प्रतिबिम्बित हुने अवसर बन्यो। प्रदर्शनीमा विद्यार्थीहरूले आफैँ विभिन्न खानाका परिकार पनि बनाए अनि प्रदर्शनी र बिक्री पनि भयो। यस्तै धेरैले आआफ्ना रुचिका चित्र पनि बनाए र सबैलाई देखाउने अवसर पाए। 

प्रदर्शनीको औचित्य 

हिमालय माविले यस प्रकारको प्रदर्शनी जिल्लामै पहिलो पटक भएको दाबी गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज बस्नेत भन्छन्, ‘अन्य विभिन्न प्रकारका प्रदर्शनी त जिल्लामा भए, तर विद्यार्थीकै लागि विज्ञान प्रदर्शनी भएको थिएन। यसबाट विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र भन्दा पनि सिर्जनशील बन्न सहयोग पुग्ने हामीले आशा गरेका छौं।’

विज्ञानको सिकाइ विश्वव्यापी हुने र यसको महत्त्व झनझन बढ्दै गएकाले त्यसप्रति विद्यार्थीमा रुचि बढाउन प्रदर्शनी गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झाको भनाइ छ। प्रदर्शनीको औचित्यबारे उनले भने, ‘विद्यार्थीले बोलेर पढाएको भन्दा गरेर पढाएको छिटो र प्रभावकारी रूपमा बुझ्छन्। त्यसैले आफैँले गरेर सिक्ने अवसर दिलाउन पनि प्रदर्शन गरिएको हो।’

झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले विद्यार्थीहरूले आफूले बुझेका र पढेका कुरा अरूलाई देखाउन पाए भने झनै उत्साहित हुने बताए। आफूले जानेको कुरा अरूलाई देखाएपछि प्रोत्साहन मिल्यो भने जोसुकै उत्साही हुन्छ’, उनी भन्छन्, ‘यो कुरा बालबालिकाले चाहन्छन्। त्यसैले उनीहरूका प्रतिभा प्रष्फुटनका लागि यस्ता प्रदर्शनी किताबी सिकाइभन्दा महत्त्वपूर्ण हुन्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.