|

विराटनगर : दश वर्षसम्म चलेको सशस्त्र युद्ध अन्तिम निष्कर्षमा पुग्नै लागेको बेला नेपाली सेनाले पूर्व जनमुक्ति सेनाका एक जवानलाई पक्राउ गरी कारवाही गरेको छ। सशस्त्र युद्धको बेला नेपाली सेनाबाट विद्रोह गरेर हतियारसहित जनमुक्ति सेनामा प्रवेश गरेका मोरङ ग्रामथान गाउँपालिकाका सुनिलकुमार भगतलाई नेपाली सेनाले सैनिक ऐनअन्तर्गत पक्राउ गरी केही दिनअघि कारागार चलान गरेको हो। 

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा मोरङ प्रहरीले घरबाटै गिरफ्तार गरेर सार्वजनिक अपराधको मुद्दामा कारवाही गरिसकेपछि भगतलाई नेपाली सेनाको जिम्मा लगाएको थियो। मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले विप्लव समर्थित कार्यकर्ताहरूबाट चुनाव बिथोल्ने कार्य भइरहेको बेला पक्राउ गरेको र पछि नेपाली सेनाले थाहा पाएर पत्र पठाएपछि आफूले बुझाएको बताए। उनले भने, ‘प्रहरीले पक्राउ गरेर सेनालाई जिम्मा लगाएको भन्ने कुरा सत्य होइन, नेपाली सेनाले आफ्नो भगौडा पक्राउ परेको जानकारीमा आएकाले कारवाहीका लागि बुझाउन भनेपछि सार्वजनिक अपराधमा कारवाही टुंगिएपछि सेनालाई बुझाएका हौँ, द्वन्द्वकालीन मुद्दामा कारवाही गर्न भनेर पठाएको होइन।’

भोजपुरको विष्णु दल गणमा सैनिक जवान पदमा कार्यरत रहेको बेला दुई थान राइफल, त्यसमा लाग्ने पाँच थान म्यागजिन र ९०० थान गोलीसहित २०६२ साउन ८ गते तात्कालीन जनमुक्ति सेनामा प्रवेश गरेको घटनालाई लिएर नेपाली सेनाले कारवाही गरेको हो। 

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाको भगौडा सिपाहीको रूपमा भगतलाई कारवाही गरेको प्रतिक्रिया दिए। ‘भगत हाम्रो सदस्य हो अर्थात् नेपाली सेनाको सदस्य भएकाले र हतियारसहित भागेकाले कोर्ट मार्शल गरेर कारवाही गरेका हौँ’, उनले भने, ‘त्यसलाई शान्ति सम्झौतासँग जोड्नुहुँदैन।’ सेनाबाट हतियार लिएर भागेको जो कोहीलाई पनि सैनिक ऐनअनुसार कारवाही हुने र त्यस्ता अरू कोही भए पनि ऐनअनुसार कारवाही अघि बढ्ने उनले बताए।

भगत पक्राउको विषयमा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भने शान्ति सम्झौताविपरीतको कार्य भएको प्रक्रिया दिइन्। ‘द्वन्द्वकालीन हरेक प्रकारका मुद्दा हेर्ने निकाय भनेको सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत हो, अहिले शान्ति प्रक्रियालाई प्रभावित गर्ने गरी कसैले पनि गतिविधि गर्नु उचित हुँदैन’, उनले भनिन्। भगतमाथि भएको कारवाहीको विषयमा पार्टीमा छलफल गरी धारणा सार्वजनिक गर्ने उनले बताइन्। 

पक्राउपछि भगतलाई कोर्ट अफ इन्क्वाइरी गरी कारागार व्यवस्थापन विभाग जगन्नाथ देवलमा राखिएको छ। दुई साना छोराछोरीसहित घरमै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि दुई बालबालिकाको बिचल्ली भएको छ। उनकी श्रीमती वैदेशिक रोजगारीमा रहेकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.