|

दीपेन्द्रकुमार घिमिरे पर्यटन व्यवसायी हुन्। लामो समयदेखि यस क्षेत्रमा क्रियाशील घिमिरेले शुक्रबार (पुस २८) हुन गइरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। वर्तमान द्वितीय उपाध्यक्ष रहेका घिमिरे डिके ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन्। शुक्रबार हुने निर्वाचन र उनको उम्मेदवारी अनि यस क्षेत्रका समस्या र आवश्यकताबारे घिमिरेसँग थाहाखबरकर्मी देविका घर्ती मगरले गरेको कुराकानी।

नाट्टामा नेतृत्व चयनका लागि निर्वाचन हुने अवस्था कसरी आयो?

नाट्टाको नयाँ नेतृत्वका लागि सहमतिको पहल भएको हो तर अन्तिममा निर्वाचन हुने अवस्था आयो। सहमतिको नाममा राजनीतिक भागबण्डाको आधारमा नाट्टाको नयाँ कार्यसमिति ल्याउन खोजेको देखियो। त्यसपछि नाट्टालाई राजनीतिक भागबण्डाभन्दा बाहिर राख्‍ने उद्देश्यका साथ व्यवसायीहरूको चाहनामा हाम्रो समूह खडा भएको हो। नाट्टालाई विधानसम्मत गैरराजनीतिक तथा विशुद्ध व्यावसायिक संस्थाका रूपमा अघि बढाउने उद्देश्यले हामी चुनावमा होमिएका हौँ।

प्यानलसहित चुनावमा होमिनुभएको छ। तपाईंको समूहका चुनावी एजेण्डाहरू के छन्?

सीमित स्रोत साधनले गर्न सकिने ऐजेण्डाहरू हामीले तय गरेका छौँ। नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउने र संस्थालाई विधानसम्मत रूपमा अराजनीतिक संस्थाकै रूपमा अगाडि बढाउने हाम्रो प्रमुख एजेण्डा हो। त्यसबाहेक पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजतपत्रहरूलाई हामीले यथाशीघ्र नवीकरणको अवसर सिर्जना गर्ने, पर्यटन व्यवसायीले आन्तरिक र बाह्य पर्यटन प्याकेजमा लाग्ने करहरूको सहुलियततर्फ सम्बन्धित सरकारी निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने, पर्यटन उद्योगलाई राज्यको प्राथमिक उद्योगमा परिणत गर्न अर्थपूर्ण लविङ गर्ने तथा व्यवसायीका अन्य समस्याहरू सम्बोधन गर्ने नै हाम्रा मुख्य एजेण्डाहरू हुन्।

तपाईंको विजयको आधार के हो?

हाम्रो समूह विशुद्ध व्यावसायिक, गैरराजनीतिक र समावेशी छ। हाम्रो समूहमा टिकेटिङ, टुर, ट्राभल सबै क्षेत्रका व्यवसायीहरू समावेस हुनुहुन्छ। नाट्टाका आम सदस्यहरूले नाट्टालाई विशुद्ध गैरराजनीतिक रूपमा अगाडि बढाउन चाहने हाम्रो समूहलाई मत दिनुहुनेछ। यो नै हाम्रो विजयको मुख्य आधार हो।

यस्ता छन् प्रतिवद्धताहरू :

घिमिरे नेतृत्वको प्यानलले नाट्टालाई राजनीतिक संक्रमणबाट जोगाउँदै संस्थालाई विधानसम्मत अघि बढाउने कुरालाई मुख्य रूपमा जोड दिएको छ। मध्यपूर्वबाट हुने एडीएम डिपोर्टीका लागि टिकेटिङ एजेन्टहरूमाथि परिरहेको आर्थिक भारलाई ध्यानमा राखेर एयरलाइन्सलाई नै व्यहोर्न लगाउने, पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजतपत्रहरूलाई यथाशीघ्र नवीकरण गराउन पहल गर्ने उक्त समूहको प्रतिवद्धता छ।

त्यस्तै, पर्यटक यातायात व्यवसायीहरूसँगको समन्वयमा यस क्षेत्रको समस्या समाधान गर्ने, ट्राभल, टुर तथा भ्याट, करसम्बन्धी समस्याहरूको समाधानका लागि सम्बन्धित संघसंस्थासँग संयुक्त कार्यदल बनाएर संघर्ष गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्याकेजहरूमा लाग्ने करको सहुलियतका लागि पहल गर्ने प्रतिवद्धता जनाइएको छ।

नाट्टाको आधुनिक भवन तथा आर्थिक दायित्व सुनिश्चितताका लागि कार्यक्रम तर्जुमा गर्ने योजना आफ्नो रहेको अध्यक्षका उम्मेदवार घिमिरे बताउँछन्। 'व्यवसायीहरूलाई आइपर्ने हरेक समस्या समाधानका लागि दीर्घकालीन योजना तर्जुमा गर्ने, आइएटा र युएफटा एउटै सिक्काका दुई पाटा हुन् भन्ने अधिकतम मुलुकहरूले आत्मसात गरिसकेको अवस्थामा यसबारे पुनरावलोकन गरी युएफटामा रहिरहने अथवा युएनडब्लुटीओसँग कूटनीतिक सन्निकटता वृद्धि गराउने हाम्रो योजना छ', उनले भने।

नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड र पर्यटन विभागसँगको सहकार्यमा पर्यटन उद्योगलाई राज्यको प्राथमिकता दिलाउन पहल गर्ने उनले बताए। सँगै नाट्टा सचिवालयलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने उनको योजना छ। आर्थिक विषयमा मीतव्ययिता अपनाउँदै संघको कोषलाई सुदृढ पार्न आर्थिक नियमावली जारी गर्ने तथा पर्यटनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको सामीप्यलाई बढाउँदै प्रति वर्ष कम्तिमा चारवटा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको घिमिरे बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.