​पार्टी एकताले मूर्त रुप लिन समय लाग्छ

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले भविष्यमा पार्टी एकता गर्ने निर्णयसहित चुनावी तालमेल गरेर चुनावमा प्रतिस्पर्धा गरे। निर्वाचनमा प्रदेश नम्बर– २ मा सोचेजस्तै परिणाम पनि प्राप्त गरे। प्रतिनिधिसभातर्फ ३२ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर २ मा राजपा पहिलो र संघीय समाजवादी फोरम दोस्रो बने।

एमाले र माओवादी केन्द्र मिलेर वामपन्थी शक्ति निर्माण गर्दै गर्दा मधेसकेन्द्रित राजपा र फोरमले चुनावमा तालमेल तथा दीर्घकालीन एकताका लागि पहल गर्ने निर्णयसहित अघि बढे। निर्वाचन सकिएपछि पनि काठमाडौंमा भएको एक पत्रकार सम्मेलनमा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरमसँगको एकता आजको आवश्यकता रहेको बताएका थिए। उनले चुनावलगत्तै पार्टी एकताका लागि पहल सुरु गरिने पनि बताएका थिए।

निर्वाचनअघि दीर्घकालीन रूपमा पार्टी एकताबारे छलफल चलिरहेको बताइए पनि पछिल्लो समय एकताको विषय हराउँदै गएको छ। मधेसका मुद्दामा लडिरहेका दलहरू मिल्नुको विकल्प नरहेको बताउने दलका नेताहरूले अहिले एकताका विषयमा किन बोल्न छाडे? अाम चासोको विषय बनेको छ अहिले।

निर्वाचनअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावलगत्तै पार्टी एकता हुने बताएका थिए। संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि पनि मधेसकेन्द्रित दलहरू एक हुनुपर्ने उनले बताएका थिए।

तर, राजपा र फोरमभित्र पार्टी एकताबारे अहिलेसम्म छलफल नभएकाले तत्काल एकता हुने संभावना देखिँदैन। पार्टी एकताले मूर्त रूप लिन समय लाग्ने राजपा महामन्त्री मनीषकुमार सुमन बताउँछन्। ‘अहिले त हामी चुनावमा नै व्यस्त छौँ। भर्खर प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकियो', उनले भने, 'अब राष्ट्रियसभा गठन पनि आउनै छ। पार्टी एकताले मूर्त रूप लिन समयचाहिँ लाग्छ।’

मुद्दा मिल्ने दलहरू मिलेर जानुको विकल्प नभएको उनको भनाइ छ। ‘चुनावअघि हामीले एकता गर्ने सहमतिको निर्णय गरेर तालमेल गरेका हौँ, हाम्रा मुद्दा पनि मिल्छन्', भन्छन्, 'हामीले संघीय समाजवादी फोरमसँग एकता गर्नुबाहेकको विकल्प पनि छैन।’ निर्वाचअघिसम्म राजपा र संघीय समाजवादी फोरमबीच तत्काल पार्टी एकता हुने दुवै दलका नेताहरूले बताउँदै आएका थिए। तर, निर्वाचन सकिएको एक महिनासम्म यी दुवै दलका नेताहरूले आफ्नो पार्टीमा छलफलसमेत गरेका छैनन्।

संघीय समाजवादी फोरमले निर्वाचनअघि विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता र नीति मिल्नेसँग गठबन्धन गरेर अघि बढ्ने नीति ल्याएको थियो। त्यहीअनुसार राजपासँग पनि चुनावी तालमेल गर्‍यो।

चुनावपछि पार्टीको आन्तरिक बैठकमा समय खर्चनुपरेकाले अहिलेसम्म एकताका बारेमा छलफल हुन नपाएको संघीय समाजवादी फोरमका प्रचार विभाग प्रमुख अजम्बर राई काङमाङ बताउँछन्। ‘पार्टी एकताको विषयचाहिँ आएको हो तर यसबारे औपचारिक छलफल भएको छैन', उनी भन्छन्, 'हामी अहिलेसम्म चुनावका कामै व्यस्त रह्यौँ तर अब हुने केन्द्रीय समितिको बैठकमा यो विषयले स्थान पाउँछ।’

मधेसको मुद्दा बोकेका यी दुई पार्टीको एकताका लागि कार्यकर्ताले पनि पटक पटक दबाब दिँदै आएका छन्। मधेसी जनताको आवाज पनि पार्टी एकताकै रहँदै आएको छ तर विविध कारणले अहिलेसम्म औपचारिक छलफल हुन नसकेको राजपा महासचिव सुमन बताउँछन्। ‘समाजवादी फोरमसँग पार्टी एकता गर्नुपर्छ भनेर पार्टीभित्र पनि व्यापक दबाब छ। मधेसी जनताले पनि हाम्रो एकता चाहेका छन्, नेतृत्वको पनि मुड छ’, सुमन भन्छन्, ‘तर हामीले औपचारिक छलफल गर्न सकेका छैनौँ। अहिलेसम्म अनौपचारिक रूपमा नै छ यो विषय।’

मधेसी जनताको अधिकार प्राप्तिका लागि एकता गर्नै पर्ने उनी बताउँछन्। भन्छन्, ‘चुनावपछि राजपाको केन्द्रीय समिति बैठक बसेको छैन तर अब हामी चाँडै बैठक बस्छौँ र यो विषयलाई औपचारिक रूपमा छलफलमा ल्याउँछौँ।’ तत्काल पार्टी एकता नभए पनि राजपा र फोरम राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा एक भएर जाने मनस्थितिमा छन्।

प्रदेश नम्बर- २ मा राजपा र फोरम मिल्दा प्रदेश सरकार बन्ने निश्चित छ। त्यसैले तत्काल एकता नभए पनि सहकार्य गरेर अघि बढ्ने राजपा महासचिव सुमन बताउँछन्। ‘तत्काल पार्टी एकता नभए पनि हामी अबको परिस्थितिलाई सहकार्य गरेर सामना गर्ने छौँ’, उनले भने, ‘राष्ट्रियसभा गठन, २ नम्बर प्रदेशमा सरकार गठनलगायत मुद्दामा हामी एक हुन्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.