|

  • दीपक शर्मा-

सल्यान : सल्यानका गर्भवती तथा सुत्केरी महिलाहरू आइरन चक्की खानबाट बञ्चित भएका छन्। जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूमा आइरन चक्कीको अभाव भएपछि गर्भवती र सुत्केरी महिलाहरू आइरन चक्की खानबाट बञ्चित भएका हुन्।

विगत दुई महिनादेखि गर्भवती र सुत्केरी महिलाले आइरन चक्की खान नपाएको बागचौर नगरपालिका– ४ की महिला स्वास्थ्य स्वयंसेविका रमादेवी वलीले बताइन्। उनले भनिन्, ‘आइरन चक्की नभएको डेढ महिना भयो। गर्भवती र सुत्केरी महिलाहरू आइरन चक्की माग्न आउनुहुन्छ तर उहाँहरूलाई खाली हात फर्काउँदै आइरहेकी छु।’

हरेक गर्भवती र सुत्केरी महिलालाई आइरनको कमी नहोस् भनेर सरकारले निःशुल्क दिँदै आइरहेको औषधि पनि सेवाग्राहीहरूले सुलभ ढंगले पाउन नसकिरहेको उनले बताइन्। 

वागचौर नगरपालिका– ४ मा रहेको स्वास्थ्य चौकीका निमित्त इन्चार्ज मिश्रा पुनले स्वास्थ्य चौकीमा औषधिको अभाव भएको स्वीकार गरिन्। उनले भनिन्, ‘यहाँ औषधि नभएको लामो समय भयो। गर्भवती र सुत्केरीका साथै अन्य बिरामीहरूलाई औषधि छैन भनेर पठाउँछु।’ स्वास्थ्य चौकीमा आइरन चक्की, पिल्सलगायतका औषधिको अभाव भएको उनले जानकारी दिइन्। औषधी मागका लागि नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयमा माग फारम भरेर पठाए पनि औषधि नआएको उनको भनाइ छ। 

तर वागचौर नगरपालिकाका स्वास्थ्य सहसंयोजक एकराज केसीले भने नगरपालिकाभित्रका कुनै पनि स्वास्थ्य चौकीमा औषधिको अभाव नभएको जिकिर गरे। ‘जिल्ला स्वास्थ्य कार्यालयले पठाएको सम्पूर्ण औषधि माग भएको ठाउँमा पठाएको हो। औषधिको अभाव नहुनुपर्ने हो’, केसीले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.