|

काठमाडौं : डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन्। उनले प्रधानन्यायाधीश पराजुली सर्वोच्च अदालतको नेतृत्व गर्न योग्य नरहेको भन्दै राजीनामा मागेका हुन्।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीको योग्यताबारेको मुद्दा सर्वोच्च अदालतमा छानविन भइरहेकाले उनलाई तत्काल राजीनामा दिन माग गरेका छन्।

प्रधानन्यायाधीशको योग्यता र उनीसहितको इजलासले गरेका फैसलालाई लिएर अनसन सुरु गरेका डा. केसीलाई गत सोमबार अदालतको अवहेलना मुद्दामा पक्राउ गरी मंगलबार सर्वोच्च अदालतमा बयान लिइएको थियो।

बुधबार सामान्य तारेखमा छुटेका डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गरेका हुन्। उनले अनसन सुरु गर्ने क्रममा आफूले राखेका माग पूरा नभएकाले अनसन जारी रहने जानकारी गराएका छन्।

डा. केसीको यो १४औँ अनसन हो। उनको अनसनको आज चौथो दिन हो।

पढ्नुहोस् डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको प्रेस विज्ञप्ति :

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरू
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानअन्तर्गत म सत्याग्रहमा रहेको कुरा विदितै छ। ममाथि सत्याग्रहको क्रममा अदालतको अवहेलनासम्बन्धी मुद्दा लगाई मलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराई बयान गराइएको र मुद्दाको कारवाही सुरु गरिएको पनि विदितै छ। अदालतमा बयान गर्ने क्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्रहरू छानविन गरिनुपर्दछ र छानविन गरियोस् भनी मैले गरेको निवेदनलाई सम्मानित इजलासले सकारात्मक रूपमा लिई मिति २०७४ पुस २६ गते आदेश हुँदा निम्नबमोजिम आदेश भएको छ।
१. सम्माननीय प्रधानन्यायधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू समेत झिकाउनू।
२. निवेदक प्रा. डा. शशि शर्मा विपक्षी त्रिवि कुलपति तथा सम्माननीय प्रधानमन्त्रीसमेत भएको ०७०–WO–०५७१ को मुद्दामा मिति २०७४।९।२३ को फैसलासहितको मिसिल झिकाई साथै राख्नू।
मेरो अदालतप्रतिको सम्मान र निष्ठा सधैँ उच्चो छ र पौष २६ मा भएको उक्त आदेशले मैले प्रधानन्यायधीश गोपाल पराजुलीको सम्बन्धमा उठाएका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिएर अदालतले निज प्रधानन्यायधीशलाई न्यायिक छानविनको दायरामा राखेको न्यायिक आदेशको म प्रशंसा गर्दछु। र, न्यायिक छानविनपश्चात सत्य र तथ्यगत रूपमा निर्णय हुने कुरामा म विश्वस्त छु।
निज पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानविन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ। निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रूपमा अगाडि नबढ्ने र न्यायसम्पादन प्रभावित हुने देखिन्छ। त्यसैले हामीले पौष २४ गतेको प्रेस विज्ञप्तिमार्फत् गोपाल पराजुलीको राजीनामा माग गरेकोमा अब न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको छ।
त्यसबाहेक हामीले यस सत्याग्रहका क्रममा राखेका मागहरूमध्ये बाँकी बुँदाहरू अहिलेसम्म सम्बोधन भएका छैनन्। त्यसैले उक्त मागहरू पूरा नहोउन्जेल हाम्रो सत्याग्रह जारी रहने कुरा जानकारी गराउन चाहन्छौं।  
डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७४।९।२७

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.