|

काठमाडौं : राइजिङ मलको पाँचौँ तलमा क्युज सिनेमा छ। त्यही हलमा भएको 'मिस्टर झोले'को कभर भिडियो विजेता घोषणापछि यता र उता गर्दै पालैपालो अन्तर्वार्ता दिइरहेका थिए, निर्देशक रामबाबु गुरुङ।

ओखलढुंगाको रुम्जटारमा जन्मिएका रामबाबुले बाल्यकाल त्यहीँ बिताए। स्कुल तहसम्मको पढाइ उतै लिए। एसएलसी परीक्षा दिएपछि काठमाडौं आएर पढ्ने सोचेका थिए। तर रुम्जटारमा एउटा लहर थियो, हरेक परिवारका छोराहरू लाहुर (भर्ती) जान्थे। उनको लक्ष्य परिवर्तन भयो। सम्झिन्छन्, 'मैले ४/५ वर्ष त भर्ती हुने बहानामा नै बिताएँ।' तर उनी भर्ती हुनसकेनन्।

भर्ती हुन नसकेपछि उनी प्लस टु पढ्न काठमाडौं आए। आर्टमा उनको रुचि थियो नै। उनले त्यस विधातिर चासो पनि बढाउँदै गए। त्यतैका साथीहरू पनि धेरै बने। भन्छन्, 'त्यही क्षेत्रका साथीहरू धेरै बने अनि उनीहरूसँग अनुभवका कुराहरू लिँदै गर्दा झन रुचि बढ्दै गयो।' त्यसपश्चात फिल्म मेकिङमा चासो बढ्यो र मेकिङतिर लागे। सर्ट फिल्महरू पनि बनाए उनले।

हिरो बन्ने सोच

फिल्ममा एउटा कलाकारको रूपमा आउने सोच सबैलाई हुन्छ। त्यही सोच रामबाबुमा पनि थियो। कक्षा ८ पढ्दाको कुरा सम्झिन्छन्, 'मलाई कलाकारितामा इच्छा त्यही बेलादेखि नै थियो। त्यसबेला नै मैले साथीहरू जम्मा गरेर नाटक मंचन गरेको थिएँ।' एसएलसी पास गरेर काठमाडौं आएपछि डान्स, संगीततिर चासो बढाउँदै गए। त्यही क्रममा हिरो बन्न संघर्ष गरिरहेका दुई-चार जना साथी भेट भए। तिनै साथीहरू भन्ने गर्थे, 'तेरो ज्यान पनि राम्रो छ, हेन्डसम छस्, डान्स पनि राम्रो गर्छस्, फिल्ममा हिरो बन्न किन ट्राई गर्दैनस्?'

साथीहरूको बारम्बारको यो भनाइले गर्दा पनि रामबाबुमा हिरो बन्ने सपना बढ्दै गएको थियो। 'साँच्चिकै हिरो बन्नुपर्छ कि के हो' भन्ने सोच आयो उनमा। आखिर हिरो बने नै।  साथीहरूले निर्माण गरेको फिल्ममा उनले मुख्य नभए पनि सानो रोलमा अभिनय गर्न पाए। फिल्ममा अभिनय गर्नुपूर्व रामबाबु सोच्ने गर्थे, 'मैले अभिनय गर्न पाए त यस्तो गर्थें, उस्तो गर्थें।' छुट्टै जोस र जाँगर थियो उनमा। सम्झिन्छन्, 'जब क्यामेरा फेस गरेँ, रियालिटीको धरातल त्यो रहेन।' उनले अभिनयमा आफूलाई अब्बल साबित गर्न सकेनन्। अब उनको रुचि फेरियो।

हिरो बन्ने सोचेका रामबाबु बने निर्देशक

कलाकारमा आफूलाई फिट नदेखेपछि उनको रुचि फेरियो। 'फिल्मको कलाकारभन्दा पनि म फिल्म मेकिङमा अगाडि बढ्छु जस्तो लागेर फिल्म मेकिङमा लागेँ', भन्छन्, 'आखिर ठीकै गरेछु क्यारे!'

रामबाबु फिल्म मेकिङका विषयमा अध्यन अनुसन्धान गर्न लागेँ। बिस्तारै पढ्दै जादाँ उनको फिल्म मेकिङमा झन रुचि बढ्दै गयो। भन्छन्, 'मेकिङमा रुचि बढ्दै गएकाले पनि त्यतै अध्ययन गर्न थालियो। अहिले पनि फिल्म लेखन तथा निर्देशनमा नै छु।' अहिले भने उनीमा कलाकार भन्ने कुनै रुचि नभएको बताउँछन्।

पहिलो फिल्म नै सुपरहिट

रामबाबुले आफ्नो पहिलो फिल्मका रूपमा 'कबड्डी' निर्देशन गरे। दयाहाङ राई मुख्य भूमिकामा देखिए। वास्तविकतामा आधारित रहेर निर्माण गरिएको यस फिल्मलाई दर्शकले पनि खुबै रुचाए।

पहिलो फिल्मको यत्तिको सफलताले निकै खुसी थिए रामबाबु। भन्छन्, 'आफ्नो कामबाट प्रशंसा पाइरहँदा को खुसी नहोला र! म पनि खुसी थिए नै।'

उनले कबड्डीको सिक्वेलको रूपमा 'कबड्डी कबड्डी' निर्माण गरे। यस फिल्ममा पनि दयाहाङ राई मुख्य भूमिकामा थिए। फिल्मले पुन: पहिलाको सफलतालाई दोहोर्‍यायो। 'कबड्डी कबड्डी'ले रामबाबुलाई फिल्म निर्देशनमा पनि स्थापित गरायो। रामबाबु भन्छन्, 'रामबाबुले पनि फिल्म निर्देशन गर्न सक्छ है भन्नेचाहिँ फिल्म 'कबड्डी' र 'कबड्डी कबड्डी'ले प्रमाणित गरिदिए।'

तेस्रो फिल्ममा?

रामबाबुको निर्देशनमा बनेको तेस्रो फिल्म थियो, 'पुरानो डुंगा'। व्यापारिक रूपमा यो फिल्म सफल भयो। तर, समीक्षात्मक रूपमा भने यस फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन। पुरानो डुंगामा पनि दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ मुख्य भूमिकामा प्रस्तुत थिए।

'पुरानो डुंगा'मा भएको कमजोरी रामबाबु स्वीकार्छन्। 'मैले पुरानो डुंगा निर्माण गरिरहँदा धेरै कमिकमजोरी भएका होलान्, त्यो म मान्छु तर सबै समीक्षा सही छन् चाहिँ म भन्दिनँ', रामबाबु भन्छन्, 'पुरानो डुंगामा कमजोरीहरू भए पनि त्यसभित्र पनि धेरै राम्रा कुराहरू छन्।'

प्रदर्शनरत 'मिस्टर झोले'

'मिस्टर झोले' रामबाबुको चौथो प्रोजेक्ट हो। यस फिल्ममा पनि दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत छन्। फिल्ममा राजनीति जोडिएको छ, जुन कुरा ट्रेलर हेरेरै सजिलै अनुमान लगाउन सकिन्छ। 'कबड्डी' र 'कबड्डी कबड्डी'मा पनि राजनीति जोडिएको थियो। त्यसैले पनि यस फिल्मलाई लिएर 'कबड्डी- ३' को उपमा दिइएको छ। रामबाबु, दयाहाङ अनि राजनीति, यी तीन कुरा जोडिएकाले पनि यस फिल्मलाई 'कबड्डी- ३' को उपमा दिइएको छ।

'कबड्डी- ३ भनिरहनु स्वभाविक पनि लाग्छ। कलाकार दोहोरिएका छन् अनि म पनि। त्यसैले ३ भन्नु ठीकै लाग्छ', रfमबाबु भन्छन्, 'मैले बनाएको फिल्ममा मैले जति नै फरक गर्छु भने पनि पहिलाको केही छनक त आइहाल्छ नि!' तर फिल्मको कथावस्तु र प्रस्तुति एकदमै भिन्न भएको रामबाबु बताउँछन्। 'मिस्टर झोले'मा वर्तमानको राजनीतिलाई देखाइएको छ।

किन दोहोरिन्छन् दयाहाङ?

दयाहाङ र रामबाबुको १८ वर्षदेखि संगत छ। उनीहरू फिल्म क्षेत्रमा आउन सँगै संघर्ष गरेका थिए। दयाहाङसँग रामबाबुका धेरै कुराहरू पनि मिल्छन्। भन्छन्, 'दया र मेरो सोच्ने शैली र बुझ्ने शैली मिल्छ। त्यसैले पनि दयाहाङ र म सँगै काम गरिरहेका छौँ।' भोलिका दिनमा पनि दयाहाङसँग काम गरिरहने रामबाबु बताउँछन्।

तर, दयाहाङ आफूसँग मिल्ने भएका कारण मात्र फिल्म नखेलाएको रामबाबु बताउँछन्। भन्छन्, 'दयाहाङ दोहोरिनु कथाको माग पनि हो। नियतले गर्दा मात्र मैले दयाहाङलाई फिल्म खेलाएको छैन।' आफूले बनाएको क्यारेक्टरमा दयाहाङ नै फिट हुने देखिएकाले दयाहाङलाई लगातार दोहोर्‍याएको रामबाबुको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.