|

काठमाडौं : माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले शुक्रबार राजीनामा दिने भएका छन्।

बिहीबार साँझ राजीनामा दिने तयारीमा रहेका माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले सार्वजनिक विदाका कारण शुक्रबार मात्रै राजीनामा दिने भएका हुन्।

राजीनामाबारे विनाविभागीय मन्त्री आशा कोइरालाले भनिन्, ‘आज राजिनामा दिने निर्णय भएको हो। तर सार्वजनिक विदा परेकोले गर्दा आज राजीनामा दिन पाइएन। भोली कार्यालय समयमा प्रधानमन्त्रीलाई भेटेर राजिनामा दिन्छौं।’

सरकारमा पार्टीको नेतृत्व गरिरहेका उपप्रधान एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महरा गृहजिल्लामा रहेको बेला नेता गिरीराजमणी पोखरेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी गरेका थिए।

माओवादी केन्द्रले बिहीबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो। उक्त निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिइएको थियो।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न र प्रदेश सरकार गठनमा लाग्न मन्त्रीहरुले राजीनामा दिन लागेको विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले बताए। उनले भने, 'हामीमध्ये केही प्रदेशसभामा जितेका छौँ, अब प्रदेश सरकार बनाउनुपर्ने र मुख्यमन्त्रीसमेत बन्नुपर्ने भएकाले राजीनामा दिन लागेका हौँ।' 

उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका १७ जना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका थिए। तीमध्ये मन्त्री शम्भुलाल श्रेष्ठ निर्वाचनपूर्व नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्।

हाल माओवादी केन्द्रबाट ८ मन्त्री र ८ राज्यमन्त्री गरी १६ जना विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी छन्।

माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पहिले नेकपा एमालेसँग असोज १७ गते वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूलाई विना विभागीय बनाएका थिए।

पढ्नुहोस् : माओवादी सरकारबाट बाहिरिँदै, मन्त्रीहरूले आजै राजीनामा दिने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.