|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका– ६ सेरामा रहेको जगन्नाथ बचत तथा ऋण सहकारी संस्था विगत दुई वर्षदेखि निष्क्रिय रहँदा ३०० बढी मारमा परेका छन्।

उक्त सहकारी संस्था बन्दको अवस्थामा हुँदा स्थानीय शेयर सदस्य तथा बचतकर्ताहरू अन्योलमा परेको बताउँछन्। दुई वर्षअघि संस्थाका संचालक समितिका अध्यक्ष महादेव पन्त र  डेढ वर्षअघि सचिव केशवराम महरको निधन भएपछि उक्त सहकारी बन्द भएको हो। 

संचालक समितिका अन्य सदस्यहरूको बेवास्ताका कारण कारोवार नै बन्द भएपछि शेयर सदस्यहरू समस्यामा परेका हुन्। संस्था बन्द भएपछि संस्थामा आवद्ध बचतकर्ताहरू समस्यामा परेका छन्। दुई वर्षदेखि संचालक समितिका सदस्यहरूले हिसाबकिताब यकिन गर्न सकेका छैनन्।

डिभिजन सहकारी कार्यालयले स्थानीयको गुनासोपछि संस्थाका सञ्चालक सदस्यहरूलाई बैठक बसेर हिसाबकिताब प्रष्ट पार्न आग्रह गरे पनि अटेरी गरेको डिभिजन सहकारीका सूचना अधिकारी शिवलाल साउदले बताए। ‘अहिले सहकारीको अनुगमन र छानविनको अधिकार नगरपालिकालाई दिइएको हुनाले हामीले बुझ्न पाएका छैनौँ’, उनले भने। 

डिभिजन सहकारी कार्यालयले प्रशासनको अनुमतिमा छानविन गर्ने बताएको छ। एक जना बचतकर्ताले पाँच हजारदेखि २० हजारसम्म बचत गरेको संस्थाका कोषाध्यक्ष दानसिंह कार्कीले बताए। ‘तीन सय बचतकर्ता छन्, संस्थाले झण्डै आठ लाख ऋण लगानी गरेको छ’, उनले भने।

संस्थाका अन्य सदस्यहरू सम्पर्कमा नआउने भएकाले बैठक बस्न नसकेको उनको भनाइ छ। ‘संस्थाका उपाध्यक्ष, कोषाध्यक्ष र एक जना महिला सदस्य अहिले सम्पर्क रहेकाले अबको केही दिनमा छलफल गरेर पुरानो कारोवारको अवस्था पत्ता लगाउँछौँ’, उनले भने।

संचालक समितिले संस्थाको रकम हिनामिना गरेको स्थानीयहरूको आरोप छ। संस्थाका संचालक सदस्यहरूलाई पटक पटक हिसाबकिताब खोज्न आग्रह गर्दा पनि अटेर गरेको बचतकर्ता सुनिलसिंह कार्कीले गुनासो गरे। ‘२० हजारभन्दा बढी रकम बचत गरेको थिएँ’, उनले भने, ‘तीन सय बचतकर्ताहरू समस्यमा पर्दा पनि कुनै निकायले चासो दिएन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.