|
फाइल फोटो

काठमाडौं, : मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ। 

विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो। मौसमी प्रणालीको आधुनिकीकरणका लागि तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु गरेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिए। 

सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ। हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडार जडानपछि वास्तविक सूचना पाउन सकिनेछ। 

'सुर्खेतमा मौसमी राडारको काम अघि बढिसकेको छ। सम्झौता भइसकेकाले अब करिब पाँच महिनाभित्र राडार पनि आइपुग्छ। बाँकी दुई ठाउँ पाल्पा र उदयपुरमा राडार राख्नका लागि जग्गा प्राप्ति भई टेण्डर प्रक्रिया अघि बढेको र केही हप्तापछि सबै प्रक्रिया टुंगिन्छ', शर्माले भने। राडारका लागि एसियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माणअन्तर्गत आर्थिक सहयोग रहेको छ भने बाँकी नेपाल सरकारले बेहोर्नेछ। 

मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनेछ, यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप– बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ। राडारले नेपालभरिको मौसमी सूचना स्वचालित (अटोमेटिक) रूपमा संकलन गरी वास्तविक समयसहित जानकारी दिन्छ। एक राडारको पूर्वाधारसहित करिब २४ करोड रुपैयाँ पर्छ। 

के गर्छ मौसमी राडरले ?

महानिर्देशक शर्माका अनुसार राडारले नेपालको आकासमा वायुमण्डल वरिपरि घुमेर तस्विर खिच्छ। पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा वास्तविक समयमा तस्विर खिचेर पठाउँछ। त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ। पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ। यस्ता सूचनाका आधारमा तत्कालको मौसमी पूर्वानुमान गर्न यो प्रणालीले सहज हुन्छ। 

राडारले वास्तविक अनुमान गर्छ। यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ। कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन्,असिना पर्ने बादल हो कि हाेइन इत्यादि सूचना दिन्छ। त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ। 

अठासी वटा मौसम मापन केन्द्र जडान हुँदै 

मौसम पूर्वानुमान गर्नका लागि चालु आवको असार मसान्तसम्म ८८ वटा स्वचालित मौसम मापन केन्द्र जडान गरिसक्ने विभागले जनाएको छ। अहिले ३० वटा स्वचालित यन्त्र जडान भएका छन् जसको विवरणमा मौसमसम्बन्धी जानकारी दिइन्छ। मौसम विभागमा अहिले  २२ जना मौसमविद् छन्। देशभर तापक्रम नाप्ने यन्त्र १५०, वर्षा नाप्ने ५०० र स्वचालित मौसम मापन प्रणाली ३० स्थानमा छन्। 

फागुनमा पहिलो मौसमी बेलुन उड्ने 

मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभाग लागिपरेको छ। अहिले विश्वको विवरण (डाटा) प्रयोग भइरहेको मौसम पूर्वानुमानलाई अब भने नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ। अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र पुग्दैन। 'अहिलेसम्म माथिल्लो वायुमण्डलको कस्तो मौसमी गतिविधि छन् भनेर तथ्या‌ंक लिन सकेका छैनौं। आगामी फागुन महिनाभित्र कीर्तिपुरको डाँडाबाट पहिलोपटक मौसम मापन गर्ने ‘मौसमी बेलुन’ उडाउने तयारी गरिएको छ,” महानिर्देशक शर्माले भने। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.