राजनीति

सीमा बाँध भत्काउनेदेखि थ्रेस होल्डविरुद्ध मुद्दा हाल्नेसम्मका निर्णय गर्‍यो नेमकिपाले
SHARES

उत्तर कोरिया, क्यूबा र अमेरिकाबारे यस्ता छन् धारणा

पुस २८, २०७४

    भक्तपुर : नेपाल मजदुर किसान पार्टीको २८ औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

    पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको पार्टीले शुक्रबार जानकारी दिएको छ।

    परिषद्ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, वर्षेनी आउने शीतलहरको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको नेमकिपाले जानकारी दिएको छ। त्यस्तै नेपालको सिमानामा भारतीयले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्नेमा राष्ट्रिय प्रस्ताव पारित गरेको छ।

    त्यस्तै अन्तर्राष्ट्रिय प्रस्तावतर्फ इरानको आन्तरिक मामिलामा अमेरिकाको हस्तक्षेप, क्युवा र उत्तर कोरियाविरूद्ध अमेरिकाले लगाउँदै आएको नाकाबन्दी, संयुक्त राष्ट्रसंघको निर्णय विपरीत अमेरिकाले इजरायलको राजधानी जेरूसेलम घोषणा गरेकामा विरोध गरिएको छ। 

    परिषद्ले पार्टीको ४४औँ स्थापना दिवस (माघ १० गते)लाई पार्टीको इतिहास, गतिविधि, प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय गरेको छ। त्यस्तै कार्ल माक्र्सको द्विशतवार्षिकी सन् २०१८ मई ५ को अवसरमा वर्षभरि नै युरोपको इतिहास र भूगोल, माक्र्स र एंगेल्सको जीवनी, कम्युनिष्ट घोषणापत्र, पूँजीलगायत अन्य माक्र्सवादी साहित्य अध्ययन तथा प्रकाशन गरी छलफल गोष्ठीसहित मनाउने निर्णय गरेको छ।

    परिषद्ले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको, छ भने सुरेन्द्रराज गोसाईं, सिर्जना सायजू र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। परिषद्ले पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गरेको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गरेको नेमकिपाले जानकारी दिएको छ।

    केन्द्रीय समितिको प्रतिवेदनमा पार्टी गतिविधि, संसद्मा नेमकिपाको संघर्ष, तीन प्रतिशतको मतसीमाविरूद्ध सर्वोच्चमा रिट, सभामुखको निरङ्कुशताविरूद्ध संसद्मा नारा, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावको क्रान्तिकारी उपयोग, पूँजीवादी पार्टीबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, राष्ट्रियसभाको निर्वाचन लगायतबारेमा उल्लेख गर्दै चर्चा गरिएको थियो।

    परिषद्मा पार्टी केन्द्रीय सदस्यहरू, पार्टी जिल्ला समिति, जनवर्गीय संगठन र पेशागत संगठनको केन्द्रीय प्रतिवेदन पेश गरिएको थियो। परिषद्मा अध्यक्ष बिजुक्छेले पूँजीवादी व्यवस्थामा देश र जनता हित नहुने भएकाले माक्र्सवाद–लेनिनवादको उदय भएको दाबी गर्दै गर्दै नयाँ पुस्तालाई माक्र्सवाद–लेनिनवादबाट शिक्षित बनाउनुपर्ने बताए।

    उनले पटकपटक सरकारको नेतृत्व गरेका तर देश र जनताको लागि केही नगर्ने पार्टीहरूले नै चुनावमा आचारसंहिता उल्लङ्घन गरेको टिप्पणी गर्दै जनताले दिएको मत खेर गएको जिकिर गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]