|

बैतडी : नेपाल नर्सिङ संघको आह्वानमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बैतडीका नर्सहरु पनि आन्दोलित भएका छन्। नेपाल नर्सिङ संघको आह्वनपछि उनीहरुले बुधबार र बिहीबार हातमा कालो पट्टी बाँधेर बिरामीलाई सेवा दिएका छन् भने शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा सेवा सेवा बन्द गरेका छन्। 

पूर्वघोषित आन्दोलन तालिकाअनुसार २ दिन हातमा कालोपट्टी बाँधेर सेवा दिएको र शुक्रबारदेखि ३ दिनसम्म दिनमा एक सेवा बन्द गर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत नर्स नेपाल नर्सिङ संघकी आजीवन सदस्य जमुना विश्वकर्माले जानकारी दिइन्। ‘आज बिहान १० बजेदेखि ११ बजेसम्म ड्युटी छाड्यौँ, भोलि र पर्सि पनि १ घण्टा ड्युटी छोड्छौँ,’ उनले भनिन्।

यस्तै, ११ बुँदे मागअघि सार्दै नर्सहरु आन्दोलनमा छन्। आफूहरुका माग पूरा नभए सबै स्वास्थ्य संस्था र शैक्षिक संस्थामा आन्दोलन थप कडा बन्दै जाने विश्वकर्माको भनाइ छ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई विनासर्त अविलम्ब पुनर्बहाली गर्नुपर्ने, अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना गर्नुपर्ने, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ लागू हुनुपर्ने उनीहरुका माग छन्।

यस्तै, नर्सहरुको स्वास्थ्य संस्थाभित्र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, दुर्गम क्षेत्रमा सेवासुविधा बढाउनुपर्ने मागसहित नर्सहरु आन्दोलनमा छन्।

प्रभावित हुँदै स्वास्थ्यसेवा

नर्सहरुको कडा आन्दोलनले जिल्ला अस्पताल बैतडीको सेवा प्रभावित बन्न थालेको छ। जिल्ला अस्पतालमा चिसो मौसममा बिरामीहरुको भिड लागेको छ। तर, नर्सहरुको आन्दोलन दिनानुदिन चर्किंदै जाँदा सेवा थप प्रभावित हुने देखिएको छ।

जिल्ला अस्पतालमा कार्यरत १३ जना नर्सहरुले अहिले आन्दोलनको सुरुआत गरेको र आफ्ना मागहरु सम्बोधन नभए जिल्लाभरीमा कार्यरत दुई सय नर्सहरु आन्दोलनमा उत्रने उनले बताइन्। ‘अहिले जिल्ला अस्पतालमा आन्दोलनको सुरुआत गरेका छाँै,’ उनले भनिन्, ‘जिल्लाभरीका स्वास्थ्य संस्थामा पनि आन्दोलनको तयारी हुँदै छ।’

सबै अस्पतालमा यथाशीघ्र ११ वटा माग लागू नभए नर्सहरुले माघ १, २ र ३ गते बिहान १० देखि दिउँसो १  बजेसम्म दिनमा ३ घण्टा ड्युटी छाड्ने घोषणासमेत गरेका छन्। त्यसैगरी, ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घण्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कार्यक्रम छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.