|

डडेल्धुरा : डडेल्धुरास्थित उप–क्षेत्रीय अस्पतालका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। नर्सिङ संघ केन्द्रीय समिति ११ बुँदे मागसहित शुरु गरेको आन्दोलनलाई समर्थन गर्दै अस्पतालका नर्सहरु आन्दोलित भएका हुन्। 

उप–क्षेत्रीय अस्पताल डडेल्धुराका नर्सिङ स्टाफहरुले बिहीबार हातमा कालोपट्टी बाँधेर काम गरेका थिए भने शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा ड्युटी छोडेर आन्दोलन गरेका थिए।

नेपाल नर्सिङ संघले पुस २६ गते सार्वजनिक गरेको देशव्यापी आन्दोलनअनुसार आफूहरु पनि आन्दोलनमा उत्रिएको उप–क्षेत्रीय अस्पताल डडेल्धुराकी वार्ड इन्चार्ज रीता भट्टले बताइन्।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत स्टाफ नर्स त्रजिना जतिमाथि भएको अन्यायको विरोधमा नेपाल नर्सिङ संघ केन्द्रीय समितिले तय गरेको आन्दोलनको कार्यक्रमअनुसार बिहीबार उप–क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डलाई ज्ञापनपत्र बुझाइएको छ।

नेपालमा कुनै पनि माग राख्न आन्दोन गर्नै पर्ने परीपाटी भएकाले आन्दोलनबाट नै आफ्ना मागहरुको सम्बोधन हुने कुरामा ढुक्क रहेको उप–क्षेत्रीय अस्पतालमा कार्यरत स्टाफ नर्स गंगा देउवाले बताइन्।

‘हामी आफ्नो आन्दोलनलाई सफल बनाउँछौँ’, स्टाफ नर्स रबिना पुनले भनिन्, ‘यदि भर्ना भएका बिरामीलाई केही भयो भने त्यसको जिम्मा सरकारले लिनुपर्छ।’

नर्सिङ संघको केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार पुस २६ र २७ गते कालोपट्टी बाँधेर सेवा दिने र पुस २८, २९ र  ३० गते मुलकभरका अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने रहेको छ। 

उक्त  अवधिमा माग पूरा नभए माघ १, २ र ३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म ड्युटी छाड्ने आन्दोलनको कार्यक्रम रहेको छ। त्यस्तै, माघ ४, ५ र ६ गते मुलुकभरका अस्पताल र शैक्षिक संस्थामा बिहान ८ देखि अपराह्न ४ बजेको सिफ्टको ड्युटीमा नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडी स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कडा कार्यक्रम तय गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.