|

तनहुँ : मोटरेबल पुल निर्माणले तनहुँको दक्षिण भेगको विकास हुने भएको छ। सदरमुकामनजिकै रहेको ऋषिङ गाउँपालिकाकै ग्रामीण भेगका वासिन्दाहरु सवारीसाधन सहज रुपमा नपुग्दा बिरामी बोकेर ल्याउनुपर्ने र खाद्यान्नलगायत आवतजावतमा समेत कठिनाइ भोग्न बाध्य भएका छन्।

मोटरेबल पुल नहुँदा झोलंगे पुलबाट खाद्यान्न लगायतका सामग्रीहरु बोकेर लैजानुपर्ने बाध्यताले समय धेरै लाग्ने गरेको छ।

अब यस्ता समस्या भने मादीसेती नदीमाथि व्यास १४ र ऋषिङ ३ जोड्ने मोटरेबल पुलको निर्माणले उनीहरुको समस्याको समाधान हुने भएको छ। मादी नदी माथिको व्यास नगरपालिका १४ र ऋषिङ गाउँपालिका ३ जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

मोटरेबल पुल नहुँदा पैदल यात्रा गरेर हिँड्न बाध्य  ग्रामीण भेगका स्थानीयलाई उक्त ठाउँमा बन्ने मोटरेबल पुलले यातायात आवागमनमा सहज हुनुका साथै त्यहाँ उत्पादित वस्तुहरुले बजार पाउने भएको छ।

मोटरेबल पुलको अभावले पिछाडिएको तनहुँको दक्षिणी भेगमा पुल निर्माणसँगै विकासले गति लिने स्थानीयवासीको विश्वास छ। मादीसेती नदीमा मोटलरेवल पुल नबन्दा तनहुँको दक्षिणी भेगका स्थानीयलाई सडक सञ्जालबाट गाउँमा पुग्न असुविधा भएको छ।

उक्त क्षेत्रमा पुल निर्माण भएपछि रिसिङ, दुबुङ, गोमानताल, गुम्लेक र ग्वास्लुङको तल्लो भागका वासिन्दा लाभान्वित हुने रिसिङ गाउँपालिकाका स्थानीय समाजसेवी नन्दु थापाले बताए। ‘उक्त पुल निर्माणपश्चात विशेष गरी रिसिङ, देवघाटको वैदी, नरम लगायतका भेगका स्थानीयले पुलबाट लाभ लिनेछन्,’ उनले भने।

ऋषिङ गाउँपालिका जान सेती नदीमा झोलुङे पुल प्रशस्तै भए पनि मोटरेबल पुलको अभावमा गाउँपालिकाको विभिन्न वडामा यातायात सहज रुपमा पुगेको छैन। मोटरेबल पुल नबन्दा यो क्षेत्र विकासमा पछाडि परेको निष्कर्ष जिल्लावासीको छ। यस क्षेत्रको विकास र सहजताको लागि आरसिसी तीन स्पान डिजाइनको पुल निर्माण गर्न लागिएको हो।

हालसम्म मादीसेती नदीमा पुल नबन्दा रिसिङ गाउँपालिकाका स्थानीय हिँडेर सदरमुकाम दमौली आवातजावात गर्न बाध्य भएका छन्। पुल निर्माणले ग्रामीण भेगका स्थानीय प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। देवघाटको कोटा, वैदीलगायत नवलपरासीको उत्तरी क्षेत्रका बासिन्दासमेत पुलको निर्माणपछि लाभान्वित हुनेछन् ।

व्यास नगरपालिका र ऋसिङ गाउँपालिका जोड्ने उक्त मादीसेती नदीमाथि बन्ने पुल ९ करोड ५१ लाखको कुल लागतमा निर्माण हुन लागेको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ।

पुल निर्माणअन्तर्गत पुलको फाउन्डेसन अर्थात् जगको काम सम्पन्न भएको छ भने बीचमा गाडी गुड्ने स्थानको काम सकिएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी कर्णसिंह खत्रीले जानकारी दिए। ‘पुलको निर्माणको कार्य धमाधम भएको छ, आउँदो असारमा काम सकिन्छ,’ उनले भने, ‘पुल निर्माणपश्चात तनहुँको दक्षिणी क्षेत्रमा विकासको पूर्वाधार लम्कन सहज हुन्छ।’

उक्त मोटरेबल पुल ०७१ मा सुरु भएर ०७५ साल असार मसान्त सम्ममा निर्माण सम्पन्न हुने पश्चिमाञ्चल सडक डिभिजन कार्यालयले जनाएको छ। मोटरेबल पुल निर्माणको ठेक्का चितवनको एडभेञ्चर कन्ट्रक्सनले लिएको छ। निर्माणाधीन पुलको ६० प्रतिशत काम पूरा भएको निर्माण ठेकेदार कम्पनीले जनाएको छ।

स्थानीय रुपमा उत्पादित वस्तुहरुको निर्यातमा यातयात अभावले वस्तु उपभोक्तासम्म पुग्न सकेको छैन। लामो वाटो हुँदै वस्तु निर्यात गर्नुपर्ने हुँदा पुल निर्माणपछि यसको सहज पहुँच हुनेमा स्थानीयहरु आशावादी छन्। पुल निर्माणले तनहुँको दक्षिणी भेगका स्थानीयलाई विकासको साथै यातायात सुविधाको पहुँचमा पुग्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.