|

काठमाडौं : खेलकुद पत्रकार मञ्च झापाले माघ ७ गते झापा स्पोर्ट्स अवार्ड वितरण गर्ने भएको छ। मेफसलका खेलाडीको प्रोत्साहनका लागि मञ्चले अवार्ड वितरण गर्न लागेको हो।

झापाली खेलाडीको वर्षभरिको खेल प्रस्तुतिको आधारमा पिपुल्स च्वाइस अवार्डसहित विभिन्न चार विधामा अवार्ड वितरण गर्न लागेको हो। नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डका लागि छनोट समितिसमेत गठन गरेको छ। मञ्चले वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट खेलाडी युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा अवार्ड वितरण गर्न लागेको हो।

प्रत्येक विधामा मनोनयनमा परेका तीन जनाबाट उत्कृष्ट एकलाई कार्यक्रममा अवार्ड प्रदान गरिने छनोट समितिका संयोजक पर्वत पोर्तेलले जानकारी दिए। त्यस्तै, पिपुल्स च्वाइस अवार्ड भने झापा जिल्लाभित्रका विभिन्न खेलमा सक्रिय टिममध्ये दर्शकको भोटिङको आधारमा उत्कृष्ट छनोट गरिने बताइएको छ। उत्कृष्टलाई नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मोफसलका खेलाडीलाई व्यावसायिक रूप दिन अवार्ड वितरण सुरु गर्न लागिएको मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राईले बताए। उनले आगामी दिनमा टाइटल स्पोन्सरसमेत खोजी गरी अवार्ड वितरणलाई निरन्तरता दिने बताए। अवार्डका लागि अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङले भाइ आशिषको स्मृतिमा पुरस्कार राशिका लागि नगद ६० हजार रुपैयाँ सहयोग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.