|

काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तथा सिफारिसको विधि बनाएको छ। एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको ४९औँ बैठकले विभिन्न मापदण्ड तय गरेको हो। पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षता तथा कार्यबाहक अध्यक्ष कमरेड वामदेव गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले उक्त मापदण्ड तय गरेको हो।

यसअनुसार संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाहरू उम्मेदवार बन्न पाउनेछन्।

त्यस्तै, भौगोलिक तथा सामाजिक सन्तुलन कायम गरी स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकाहरू, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरू, राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बन्न पाउने बैठकले निर्णय गरेको छ।

प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्डअनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नसमेत बैठकले सर्कुलर गरेको छ।

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने निर्वाचनमण्डलका सदस्यहरूलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीले गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

यस्तै, केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा धेरै व्यक्तिको ज्यान गएको र कतिपय गम्भीर बिरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली पठाउन तथा पर्याप्त औषधिको व्यवस्था गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीहरूलाई तत्काल परिचालित हुनसमेत बैठकले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.