|

काठमाडौं : नेपाल विद्यार्थी संघले धुलाम्मे काठमाडौं महानगरलाई हराभरा र स्वच्छ बनाउन माग गर्दै उपमेयरलाई धुलोको उपहार दिएको छ।

नेविसंघ केन्द्रीय कार्यसमितिको आह्‍वान र जिल्ला समितिको संयोजनमा विद्यार्थीले शुक्रबार काठमाडौंका विभिन्न चार स्थानबाट संकलित धुलोको पोको उपमेयर हरिप्रभा खड्गीलाई बुझाएका हुन्।

प्रदुषण मुक्त राख्ने भन्दै केही समय सडक पखाल्ने काम पनि सुरु गरेको महानगरले पछिल्लो समय बढ्दो प्रदुषण र धुँवाधुलो प्रति वेवास्ता गरेको भन्दै विद्यार्थीले ध्यानाकर्षा गराए। उनीहरुले महानगर फोहोरको डल्लो बनेको भन्दै प्रतिकात्मक रुपमा उपमेयरलाई धुलो उपहार दिएको नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज बैद्यले जानकारी दिए।

महानगरको सरसफाई, महानगरबासीको स्वास्थ्य लगायतमा महानगरपालिकाका पदाधिकारीले वेपरवाह गरेको भन्दै आक्रोशित विद्यार्थीले माग सम्बोधन नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

त्यसक्रममा नगरवासीलाई दोहोरो कर लगाएर विभिन्न सेवा सुविधा लिएका पदाधिकारीले तीनै नगरवासीलाई सामान्य सेवा पनि प्रदान नगरेको भन्दै विद्यार्थीले आक्रोश पोखेका थिए।

उपमेयर खड्गीले नगर सफा राख्ने दायित्व महानगरको मात्रै नभएको भन्दै सडक विभागले पनि त्यसको जिम्मा लिनुपर्ने प्रतिक्रिया दिइन्।

नेविसंघले यसअघि महानगरले दोहोरो कर लगाएको भन्दै विरोध गर्दै आएको थियो।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.