|

उदयपुर : वैदेशिक रोगजारीमा गएर दुःख पाएपछि घर फर्केर पौरख गर्नेहरू हिजोआज बाक्लै भेटिन्छन्। त्यही उदाहरणको पात्र बनेका छन्, उदयपुरको त्रियुगा नगरपालिका– ४ बगाहाका शंकर राई। राईले तरकारी खेतीबाट अहिले विदेशकै दाँजोमा नेपालमा पैसा कमाइरहेको बताउँछन्।

मौसमी र बैमौसमी तरकारी खेतीबाट वार्षिक रूपमा पाँच लाख रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछन्। मलेसिया र साउदीमा तीन चार वर्षमा कमाइ हुने पैसा यहीँ कमाएको राईको जिकिर छ। यसैगरी बगाहाकै अर्का अनिता गुरुङ र गुरुङकै श्रीमान होमबहादुर गुरुङ पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।

राईले वगाहास्थित आफ्नै १५ कठ्ठा जग्गा र बाँकी दश कठ्ठा अरूको जग्गा गरेर एक बिगाहा पाँच कठ्ठामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ‘तीन वर्षदेखि वार्षिक पाँच लाख आम्दानी गर्न थालेको छु’, विदेशबाट फर्केका राईले भने, ‘मलेसिया र दुवई जानुभन्दा यहीँ केही गर्नतिर लागे राम्रो हुनेरहेछ।’

जिल्लामा सञ्चालित हिमाली परियोजना (सिप्रेड) उदयपुरले उनीहरूलाई तरकारी खेतीमा साथ दिएको छ। उनीहरू वार्षिक रूपमा मौसमी तथा बेमौसमी तरकारीहरू खुर्सानी, गोलभेँडा, काँक्रा, भण्टा, बोडी, फर्सी, टमाटर, सिमी, काउली, बन्दासहितका तरकारी उत्पादन गर्दछन्। उत्पादन गरेको तरकारी बजार पु¥याउँदै पैसा जम्मा गर्न थालेपछि गाउँ नै चकित बनेको उनीहरू बताउँछन्। 

अहिले वार्षिक रूपमा मौसमी तरकारीबाट करिब दुई लाख पचास हजार र बेमौसमी तरकारीबाट साढे तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यका साथ बजारमा तरकारी बेचिरहेको राईले बताए। साढे ६ लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्दा डेढ लाख रुपैयाँ परिश्रम तथा विभिन्न वस्तुहरूको खर्च कटाएर पाँच लाख रुपैयाँ आम्दानी हुने राईको भनाइ छ। ‘तरकारी खेतीमा जिल्लाकै पहिलो उत्कृष्ट कृषकसमेत बन्न सफल भएँ’, राईले भने, ‘विदेशमा दुःख गरियो, पैसा कमाउन सकिएन, तर अनुभव कमाएपछि स्वदेश फर्केर तरकारी खेती थालेँ, सन्तुष्ट छु।’

यता, तीन वर्षसम्म साउदी अरबमा दुःख गरेर फर्केका होमबहादुर गुरुङ पनि तरकारी खेतीमा लागेपछि आम्दानी बढ्दै गएको बताउँछन्। श्रीमती अनिता गुरुङसँगै तरकारीबारी भेटिएका गुरुङले वार्षिक रूपमा तीन लाख रुपैयाँ आम्दानी गर्न थालेको बताए। ‘श्रीमान विदेश गएपछि काम गर्न नसकेर रोगी तथा बिरामी भई फर्केर आउनुभयो’, अनिताले भनिन्, ‘ज्ञान तथा सीप र अनुभव लिएर आउनुभएका कारण मलाई तरकारी खेतीमा श्रीमानको साथ लिएर लाग्न सजिलो भयो।’

गुरुङ दम्पतीले अहिले १५ कठ्ठा जग्गामा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्र्दै आएका छन्। गुरुङ र राई दम्पतीले उत्पादन गरेको तरकारी स्थानीय तरकारी व्यापारीहरूले घरैमा गएको खरिद गर्ने गरेका छन्। 

तरकारी उत्पदान गरेर बेचेकै पैसाले गुरुङ दम्पतीले काठमाडौंमा एक छोरालाई आईएस्सी र एक छोरीलाई एक निजी स्कुलमा पढाइरहेको बताए।

राई र गुरुङको तरकारी खेती बन्दै कृषि पाठशाला

राई र गुरुङले गरेको तरकारी खेती जलवायु परिर्वतनअनुकूल प्रायोगिक कृषि पठाशाला नै बनेको छ। बदलिँदो मौसमअनुसार वातावरणअनुकूल तरकारी खेतीबारे प्राविधिक ज्ञान लिन कृषकहरू समेत आउने गरेका छन्। हिमाली परियोजना (सिप्रेड) उदयपुर संयोजक श्यामकृष्ण घिमिरेले भने, ‘राई र गुरुङ अहिलेसम्म हामीहरूले उत्पादन गरेको तरकारी कृषकमध्येकै उत्कृष्ट हुन्’, उनले भने, ‘उहाँहरू आफू पनि तरकारी खेतीलाई जीविकोपार्जनको मुख्य पेसा बनाउनुभएको छ, अरूलाई पनि आप्mना अनुभवहरू बाँडफाँड गर्नुहुन्छ।’

सिप्रेडका प्राविधिकहरूको सहयोगमा विभिन्न नयाँ प्रविधिबाट तरकारी खेती गर्दै आएका राईका पाँच जनाको घरपरिवार नै व्यावसायिक तरकारी खेतीमा आबद्ध छन्। जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले राई र गुरुङ तरकारी खेतीमा जिल्लामै नमुना बनेको बताए।

पाठशालाबाट तरकारी उत्पादक कृषकहरूले नयाँ प्रविधिहरू मल्चिङ टोक्नोलोजी, छाप्रो, सिँचाइ, थोपा सिँचाइ, ल्पाष्टिक घर, सिँचाई गर्ने विधि, तरकारी बिउबीजनसम्बन्धी सुझाव लिँदै आएका छन्। 

यस्तो छ उदयपुरको तरकारी बजार

उदयपुरमा ४० प्रतिशत तरकारी उत्पादन हुन्छ भने बाँकी सबै जिल्लाबाहिरबाट आउने गरेको छ। राई र गुरुङ जस्तै पाँच हजार तरकारी उत्पादक कृषक भएर उदयपुर तरकारीमा आत्मनिर्भर हुने कृषि विकास कार्यालय उदयपुरले जनाएको छ। 

कृषि विकास कार्यालय उदयपुरले दिएको आर्थिक वर्ष २०७२/०७३ को तथ्यांकअनुसार कृषि कार्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लगानीमा १७२ हेक्टर जग्गामा दुई हजार ५६ मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ। 

धेरै कृषकहरूले परम्परागत शैलीमा तरकारी उत्पादन गर्नाले तथ्यांकमा धेरै देखिए पनि बजारमा कम देखिएको कार्यालयका प्रमुख अधिकारीले बताए। ‘कति तरकारीहरू उदयपुरका मुख्य बजारमा नआईकन जिल्लाबाहिर जाने गर्दछन्’, प्रमुख अधिकारीले भने, ‘पछिल्ला वर्षहरूमा तरकारी उत्पादनमा आत्मनिर्भर बन्ने बटोमा उलयपुर लम्किरहेको छ।’ 

जिल्लामा राई र गुरुङ जस्तै व्यावसायीक रूपमा तरकारी खेती गर्ने पाँच हजार कृषक भए तरकारीमा आत्मनिर्भर हुने अनुमान गरिएको छ। राई र गुरुङको तरकारी गाईघाट बजारमै खपत हुने गरेको छ। ‘हामीले उत्पादन गरेको तरकारी बिक्रीका लागि जिल्लाबाहिरको बजार पर्खनुपर्दैन’, तरकारी उत्पादक राईले भने, ‘अहिलेसम्म गाईघाट बजारकै माग पुर्‍याउन सकेका छैनौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.