|

पोखरा : नेपाली सेनाका दिनेश श्रेष्ठले झन्डै दुई दशक पुरानो राष्ट्रिय रेकर्ड तोड्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्। श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिपअन्तर्गत २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौल समूहमा स्नाचतर्फको १९ वर्षअघिको कीर्तिमान आफ्नो नाममा बनाएका हुन्।

दिनेश श्रेष्ठले शुक्रबार सम्पन्न प्रतियोगितामा १२१ केजीको नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा बनाए। यसअघि मदन शिवभक्तिको नाममा १२० केजीको कीर्तिमान कायम रहेको थियो। शिवभक्तिले आठौँ  दक्षिण एसियाली गेममा उक्त कीर्तिमान कायम गरेका थिए। स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङले १०० केजीका साथ रजत र बाराका महमद आसिक हुसेनले ८८ केजीका साथ कास्य हात पारे।

दिनेश श्रेष्ठले प्रतियोगिताअन्तर्गत नै क्लिन एण्ड जर्क र कुलमा पनि स्वर्ण जित्न सफल भए। क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गर्दै उनले स्वर्ण जिते। नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आसिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य हात पारे।

च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङले १०५ केजीमाथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे। उनले स्नाचमा सातौँ राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे। पुकारले क्लिनमा १४० केजी र कुलमा २१५ केजी उचालेका थिए।

त्यस्तै, प्रतियोगितामा सेनाका सुरेन्द्र श्रेष्ठले ८५ केजी तौलमा स्वर्ण हात पारे। उनले स्नाचमा १०५, क्लिन एण्ड जर्कमा १२७ केजी गरी कुलमा २३२ केजी भार बहन गरे। नेपाल प्रहरीका गगन चन्दले स्नाचमा ९३, क्लिनमा ११७ केजी गरी कुलमा २१० केजी भार बहन गरे। चन्दले रजत पदक पाए।

पुरुषकै ९४ केजी तौलमा नेपाली सेनाका टहलबहादुर बसेलले क्लिन एण्ड जर्क र कुलमा स्वर्ण पाए। उनले क्लिनमा १२७ र कुलमा २१७ केजी भार बहन गरे।

कमल र तारादेवी 'स्ट्रङ्गेष्ट' खेलाडी

च्याम्पियनसिपमा नेपाली सेनाका कमलबहादुर अधिकारीले पुरुषतर्फको स्ट्रङ्गेष्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधि जित्दा महिलातर्फको स्ट्रङ्गेष्ट खेलाडीमा नेपाल प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टर खेलाडीमा नेपाली सेनाकी सञ्जु चौधरी रहे। विजयी प्रत्येक खेलाडीले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

यसैगरी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरूले पनि नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान कायम भएका छन्। तीन दिने प्रतियोगितामा तीन विभागीय टोली सेना, प्रहरी र एपीएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.