|

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ। स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसिरहेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच चार घण्टा लामो छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन्। राति ११ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार केसीले शनिबार अनशन तोड्नेछन्।

केसी चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा डा. जगदीशप्रसाद अग्रवालको पुनर्वहाली र सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालगायतका माग राखी विगत पाँच दिनदेखि अनशनमा थिए। सहमतिसँगै केसीले शनिबार १० बजे अनशन तोड्ने स्वास्थ्यमन्त्री बोहराले बताए।

सहमतिअनुसार चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सरकारले सात दिनभित्र सिफारिस समिति गठन गर्नेछ। त्यस्तै, त्रिवि शिक्षण अस्पतालको डिनमा प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिइनेछ। त्यसका लागि त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिइने सहमतिपत्रमा उल्लेख छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अघि सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीध्र कदम चाल्ने र आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल सिनेटको बैठक बोलाउने सहमति दुई पक्षबीच भएको छ।

शिक्षण अस्पतालको भौतिक पूवार्धार सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिईने सेवा र सुविधामा विस्तारका लागी आईओएम डिन कार्यालयले राख्ने विस्तारित प्रस्तावमा स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने सहमति पत्रमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.