|

  • सन्तोष अधिकारी

गोरखा: पालुङटार नगरपालिकामा भूमिहीन, सुकुमवासी र विपन्न वर्गका घरपरिवारलाई बासको व्यवस्था गर्न सुविधासम्पन्न भवन निर्माण प्रक्रिया सुरु भएको छ। गरिब, भूमिहीन तथा विपन्न वर्गमा पर्ने एक सय ३० घरपरिवार बस्न मिल्ने गरी सुविधासम्पन्न भवन बन्न लागको हो।

‘नगरको वडा नं. ७ को ठाँटीपोखरीमा भवन निर्माणका लागि प्रक्रिया अघि बढेको हो’, पालुङटार नगरपालिकाका प्रमुख इन्जिनियर दिपक बाबु कँडेलले भने, ‘भवन बनाउन सहरी विकास मन्त्रालयबाट १५ करोड ५० लाख ९८ हजार दुई सय ३७ रुपैयाँ विनियोजन भएको छ।’ भवन बनाउन ठेक्का सम्झौतासमेत भइसकेको नगर प्रमुख कँडेलले जानकारी दिए।

सहरी विकास तथा भवन डिभिजन कार्यालय मार्फत टेण्डर भएर निर्माणको काम अघि बढेको भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रोशन श्रेष्ठले जानकारी दिए। ‘भवन बनाउन प्रक्रिया अघि बढिसक्यो’ श्रेष्ठले भने ‘ एक सय ३० परिवार बस्न मिल्न गरी १२ रोपनी क्षेत्रफलमा भवन बन्न लागेको हो। तीन वटा ब्लकमा भवन निर्माण हुनेछ।’

करिब १६ करोड रुपैँया लाग्ने अनुमान गरिएका भवन निर्माण भइसकेपछि प्रतिपरिवार एक 'फ्ल्याट'को दरले बस्ने व्यवस्था मिलाउने पालुङटार नगरपालिकाले जनाएको छ। 

‘हाम्रो एउटा उद्देश्य नगरभित्रका सार्वजनिक जग्गाको संरक्षण र उपयोगिता बढाउनु हो’ इञ्जिनियरसमेत रहेका पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कँडेलले भने ‘अर्काेचाहिँ नगरभित्र ठूला भवनहरु बनाउन प्रोत्साहन गर्नु पनि हो। अब हामीले पाँचतले भवन बनाएर यहाँ अपार्टमेन्ट बनाउने 'प्राइभेट सेक्टर'लाई प्रोत्साहन गर्न लागेका हौं।’

भवन निर्माणको जिम्मा श्यामसुन्दर निर्माण सेवाले पाएको छ। ‘भवन निर्माण गर्ने ठाउँको माटो परीक्षणसमेत सकिसकेको छ’ भवन डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले भने ‘भवनको काम तीव्र गतिमा हुन्छ। निर्माण कम्पनी फिल्डमा खटिसकेको छ।’

नगरप्रमुख कँडेलका अनुसार २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गरी बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.