समाज

पर्यटकका लागि पटिहानीमा जिप सफारी थालियो
SHARES

पुस २९, २०७४

    चितवन : पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु भएको छ। पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी सुरु भएको हो।

    चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप, जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी सुरु भएको हो।

    नेपाल सरकारको पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य पूरा गर्नका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत दोस्रो सफारीको रुपमा पटिहानीमा जिप सफारी सुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। कँडेलले नै शुक्रबार जिप सफारीको उद्घाटन गरेका थिए।

    उनले अब सौराहासँग पनि पश्चिम चितवन जोडिएको बताए। पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ। त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल वाक गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्र पु¥याइने गरी सफारी थालिएको हो।

    जिप सफारी सुरु भए पनि स्थानीयहरु खुसी भएको पटिहानीका स्थानीय संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए। सानो जिपको  ७०० र ठूलोको ८०० रुपैयाँ प्रवेश तोकिएको छ। राप्ती नदीको किनार क्षेत्र हुँदै जाने भएपछि पर्यटकले यो क्षेत्रमा गैँडा, बाघ, भालु, हात्ती, चित्तल, विभिन्न प्रजातिका चरा तथा वन्यजन्तुहरुको सहज अवलोकन गर्न सक्ने भएका छन्।

    यसअघि, चितवनको कुमरोजमा गएको वर्षबाट जिप सफारी थालिएको थियो। चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार निकट भविष्यमै पूर्वी चितवनको खगेन्द्रमल्ली वन क्षेत्रमा पनि पर्यटकका लागि जिप सफारी सुरु गर्ने तयारी गरिएको छ।

    निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपरासीको अमल्टारीमा समेत जिप सफारी हुँदै आएको छ। चितवन निकुञ्जमा भने सौराहादेखि निकुञ्जभित्र जंगलमा दशकौंदेखि जिप सफारी हुने गरेको भए पनि पछिल्ला समयमा मध्यवर्ती क्षेत्रमा समेत जिप सफारी हुने क्रम बढिरहेको छ।

    चितवन आउने पर्यटकहरुको रोजाइ जंगली जनावरहरु हेर्ने भएकाले यहाँको जिप सफारीले पश्चिम चितवनमा समेत पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। पर्यटन र संरक्षणलाई सँगसँगै लैजाने लक्ष्यसहित यहाँ जिप सफारी थालिएको हो। 

नारायण ढुंगाना

पत्रकार ढुंगाना थाहाखबरका चितवन संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]