|

उदयपुर : परापूर्व कालदेखि लाग्दै आएको उदयपुरको त्रिवेणी मेला  यसपटक दुई जिल्लामा तयारी गरिएको छ। सिन्धुली र उदयपुरको सीमा क्षेत्रमा पर्ने तावा, कमला र ककरु खोलाको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मेला दुवैतिर तयारी गरिएको हो।

१ माघदेखि १५ गतेसम्म लाग्ने त्रिवेणी मेलाको रूपमा पूर्वी नेपालमै परिचित छ। उदयपुरको कटारी र सिन्धुलीको दुधौली नगरपालिकाले आम्दानीको स्रोत बनाउनको लागि दुवैतिर तयारी गरेको स्थानीयको आरोप छ। ‘उदयपुरको खोक्सा नदीको बगरमा पर्ने त्रिवेणीधाममा मेला लगाउनुपर्ने हो।’ कटारी २ का नरबहादुर तामाङले भने, ‘दुवै खोला वारि र पारि आयोजना गरेर मेलाको महत्व नै घट्यो।’

वर्षौंदेखि कटारी नपा २ कै खोक्सा बगरमा लाग्दै आएको त्रिवेणी मेला सिन्धुलीको दुधौली घोडा गाछीमा पनि आयोजना गरिने भएपछि दुवैतिरका स्थानीय असन्तुष्ट बनेका छन्। ‘दुधौली नगरपालिकाले नगरको आन्तरिक तथा बाहृय पर्यटकको आगमन बढाउने  उद्देश्य राखेको बताएको छ,’ दुधौली नगरपालिका २ का रामनारायण चौधरीले भने, ‘नगरको आम्दानी बढाउनका लागि दुधौली नपाले धार्मिक महत्वमाथि हस्तक्षेप गर्‍यो।’

दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले २० वर्ष अगाडि दुवैतिर मेला लाग्दै आएकाले यस वर्ष पनि मेला लगाउन लागिएको बताए। ‘आम्दानीको लागि पनि होइन,’ उनले भने, ‘आफ्नो  क्षेत्राधिकारभित्र परेकाले घोडा बजार त्रिवेणी मेला समिति गठन गरी आयोजना गरेका छौँ।’

यसैगरी, कटारी नगरपालिका प्रमुख ज्ञानेद्र श्रेष्ठले वर्षौंदेखि कटारी नगरपालिकाले आयोजना गर्दै आएको मेला यस वर्ष ५ लाखमा ठेक्का लगाएको बताए। ‘एेतिहासिक कालखण्डदेखि कटारीकै क्षेत्रमा आयोजना हुँदै आएको छ,’ उनले भने, ‘दुधौली नगरपालिकाले पनि आफ्नो  क्षेत्रमा आयोजना गर्नु कुनै नौलो कुरा भएन तर त्रिवेणी धामको महत्व बुझिएन।’

त्रिवेणीघाटमा १ माघमा मकर नुहाउनेको भीड लाग्दै आएको छ। तावा , ककरु र कमला नदीको संगमस्थल त्रिवेणीघाट आई पूजा आराधना तथा मकर नुहाउनाले चिताएको पुग्ने जनविश्वास छ। यस मेलामा प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ का अलावा भारतबाट समेत तीर्थालुहरू आउने प्रचलन छ। 

देशमा भएको सशस्त्र द्वन्दभन्दा पहिलादेखि नै यस ठाउँमा मेला लाग्दै आएको हो। सडकसञ्जाल जोडिनुपूर्व पहाडी जिल्ला ओखलढुंगा, खोटाङ, सोलुखुम्बुका स्थानीयहरूले यो मेलाबाट आवश्यक लत्ता कपडा, नुन, मरमसला खरिद गर्ने गरेको तथा पहाडका भोटे कुकुर, अन्य उत्पादनको विनिमयको रूपमा मेला चर्चित हुने गरेको बुढापाकाको अनुभव छ।

खोलावारि कटारीतर्फ  मात्रै लाग्दै आएको मेला यस वर्षदेखि दुधौली नगरपालिकाले  पनि  लगाउने भएपछि विवाद भएको हो। मेलामा मकर स्‍नान गरी भाकल गरे अनुसारको पशुपक्षी बलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने आमजनविश्वास छ।

मेलाको आकर्षणको रूपमा पहिले सोलखुम्बुको भोटे घोडाको दौड प्रतियोगिता, खोटाङे  भोटे कुकुर, ओखलढुंगाको राडीपाखी, सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेचलाई लिने गरिएको भए पनि पुराना आकर्षणहरु लोप भइसकेको सर्वसाधारण बताउँछन्।

पूर्वाञ्चलकै पुरानो र लामो समय लाग्ने मेलाको यो वर्षको आकर्षण भने स्थानीय उत्पादन, रोटेपिङ, मौतका कुवा, बुगीबुगी डान्स लगायतका मनोरञ्जनात्मक खेलहरू रहेको मेला आयोजक समितिले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.