|

रुकुम : रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा ८ महिनादेखि नेपाल वायुसेवा निगमको हवाई सेवा बन्द भएको छ। गएको जेठ दोस्रो सातादेखि हवाई यातायात सेवा बन्द भएको थियो। देशको १० नयाँ सहरको सूचीमा परेको चौरजहारी विमानस्थलमा नियमित उडान सेवा वन्द भएसंँगै बिरामीहरु त्यसको प्रत्यक्ष मारमा परेका छन्। 

चौरजहारी अस्पतालबाट नेपालगञ्ज र काठमाडौंका लागि रिफर गरिएका बिरामीहरुलाई हवाई यातायात सेवा नहुँदा गाडी प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। हवाई सेवा बन्द भएकै कारणले गर्दा गम्भीर प्रकृतिका बिरामीहरुको स्वास्थ्य अवस्था जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय नारायणप्रसाद आचार्यले जानकारी दिए। प्राविधिक कारण भन्दै हवाई यातायात सेवा बन्द भएको नागरिक उड्यन प्राधिकरणलाई उदृत गर्दै चौरजहारी स्टेसनका निमित्त प्रमुख सुरेन्द्र नेपालीले जानकारी दिए। 

उनका अनुसार यसबारे केन्द्रमा बुझ्दा अहिले यात्रुको संख्या नभएकोले उडान कटौती गरेर सदरमुकाम खलंगा सल्ले विमानस्थलमा उडान थप गरिएको हो। चौरजहारी स्टेसनलाई नबुझेर उडान सेवा कटौती गर्नुले जाजरकोट, सल्यान र चौरजहारीवासीलाई मर्का परेको उनको भनाइ छ।

यसअघि, सातामा २ दिन चौरजहारी विमानस्थलमा हवाई सेवा सञ्‍चालनमा थियो। सल्यान र जाजरकोट जिल्लाका यात्रुका लागि भरपर्दाे सेवाको रूपमा रहेको चौरजहारी स्टेसनमा हवाई सेवा बन्द गरेर यात्रुहरूलाई हवाई सेवाबाट वञ्चित गरिएको नगरप्रमुख विशाल शर्माले बताए। 

देशको नमुना सहरको रूपमा स्थापित चौरजहारीमा हवाई यातायात सेवा नियमित हुनुपर्ने प्रमख शर्माले जोड दिए। सातामा २ वट फ्लाइट भर्ने मुसिकोट सल्ले विमानस्थलमा हाल  चौरजहारी स्टेसनको सेड्युल कटौती गरेर हप्तामा ४ वटा फ्लाइट कायम गरिएको छ।

रुकुम मुसिकोटमा हप्तामा २ पटक काठमाडौंबाट र २ पटक नेपालगञ्जबाट गरी ४ पटक उडान भइरहेका छन्। रुकुमका दुवै विमानस्थलमा नेपाल वायुसेवाबाहेक अन्य निजी विमान कम्पनीको नियमित सेवा छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.