प्रतिमा बनाएर संरक्षणमा जुटे युवा

|

चितवन : घुँगी थारू समुदायको मौलिक खाना हो। घोल, दबदबे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरूको विशेष खाना हो। अझ चाडबाडका बेलामा त घुँगीको विशेष महत्व रहन्छ। पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू मात्र छैनन्। अन्य समुदयकाले पनि मीठो मानेर घुँगी खान थालेका छन्।

थारू समुदायको नयाँ वर्ष अर्थात् माघी सुरु भएसँगै घुँगीको माग पनि बढेको छ। माघीमा चिचरसँग घुँगी खाने चलन छ। घुँगीको रससँग चिचर निकै स्वादिष्ट हुन्छ। खोल (खबटा) भित्र हुने घुँगीलाई मुखबाट श्‍वासले तानेपछि मात्रै आउँछ। कतिपयले घुँगी खानै जान्दैनन्।‍ थारू होमस्टेहरूमा पनि घुँगी अनिवार्य राखिएको हुन्छ। घुँगी खानकै लागि पर्यटकहरू थारु होमस्टेमा पुग्न थालेका छन्। तर, पछिल्लो समय घुँगी भेटिन छाडेको छ। चितवन रत्ननगरका थारू अगुवा बासुदेव चौधरी भन्छन् ‘अहिले त घुँगी पाउनै मुस्किल छ।’

चितवनको सौराहामा प्रसस्तै घुँगी पाइन्थे। अहिले बस्ती बढ्दै गयो, घरहरू बन्न थाले त्यसपछि विस्तारै घुँगी लोप हुँदै गए। त्यतिबेला थारूहरूलाई घुँगी खोज्न टाढा जनुपर्दैनथ्यो, घर नजिकैको घोलमा प्रसस्तै भेटिन्थ्यो। अहिले यहाँका घोल पुरेर होटल बनाइएका छन्।

पछिल्लो समय घुँगी खोज्न निकै दुःख गर्नुपर्छ। निकुञ्ज छेउछाउको घोल र बस्तीभन्दा टाढाको घोलमा मात्र घुँगी भेटिन्छ। पहिले धानखतेमा प्रसस्तै पाइने घुँगी अर्ग्यानिक हुन्थ्यो। तर, खेतीबालीमा विषादीको प्रयोग गर्नथालेसँगै धानखेतमा घुँगी पाइन छोडेको छ, पाइए पनि राम्रो मानिँदैन। घुँगी लोप हुँदै गएपछि एक/दुई किलो घुँगी जम्मा गर्न ठूलै संघर्ष गर्नुपर्ने थारू पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोको भनाइ छ।

चितनमा घुँगी हराउँदै गएपछि अहिले पूर्वी नेपालको बारा लगायतका जिल्लाबाट आयात गर्न थालिएको छ। तर, बाहिरी जिल्लाबाट ल्याइएको घुँगीको आकार र स्वाद चितवनमा पाइने घुँगीको जस्तो नुहने थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ का अध्यक्ष नारायण महतो बताउँछन्।

घुँगी कस्तो हुन्छ र कसरी खाने?

घुँगी खानाले हड्डीको समस्या निको हुने विश्‍वास गरिन्छ। थारू समुदायमा कसैलाई हड्डीसम्बन्धी समस्या देखिएमा घुँगी खान सुझाव दिइन्छ। घुँगी खाएपछि ज्यान दुखेको, ढाड दुखेको ठिक हुने कारी महतो बताउँछन्। घुँगी प्राकृतिक रूपमै पाइने जीव हो। घुँगीको बारेमा खासै अनुसन्धान पनि भएको छैन र घुँगी पालन गर्ने चलन पनि छैन। घुँगी घोल, दबदबे हिलो तथा पोखरी पाइन्छ। यसले हिलो माटो तथा लेउ खान्छ।

यसलाई निकालेर सफा पानीमा १५ देखि २४ घण्टा राख्नुपर्छ। त्यसपछि पीठो खुवाउनुपर्छ।  पानीमा राखेर पीठो हालिदिएपछि यसले खान्छ। पीठो खाँदा पहिले खाएको लेदो (जुन माटो मिसिएको हुन्छ) ओकल्छ। अनि चुच्चोपटिबाट फुटाइन्छ। त्यसपछि सफा गरेर पकाउनुपर्छ। अनि मात्रै खान योग्य हुन्छ। पोखरीबाट ल्याउनेबित्तिकै पकाउँदा हिलो गन्हाउँछ।

घुँगी जोगाउन प्रतिमा निर्माण गरेर प्रदर्शनी

 चितवनको खैरहनीमा सुरु भएको खिचरा महोत्सवमा घुँगी जोगाउने प्रयासस्वरुप ५ फिट अग्लो मूर्ति (प्रतिमा) निर्माण गरेर प्रदर्शन गरिएको छ। घुँगीसँगै खाने मौलिक खाना चिचरको ‘पोका’समेत प्रदर्शनीमा राखिएको छ। यसले मौलिक खानाको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ का अध्यक्ष तथा महोत्सव संयोजक नारायण महतो बताउँछन्।

लोप हुँदै गएको घुँगीलाई बचाउन पनि पहिलो प्रयासस्वरुप प्रतिमा बनाइएको महतोको भनाइ छ। आयोजकले अतिथिहरूलाई मायाको चिनोसमेत घुँगीकै प्रतिमा दिएर नौलो प्रयास थालेका छन्।

 महोत्सवको मुख्य आकर्षण नै घुँगीको प्रतिमा बनेको छ। महोत्सव हेर्न आउनेहरू पनि घुँगीको प्रतिमालाई पृष्ठभूमिमा राखेर फोटो खिच्न व्यस्त छन्। ललितकला क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेका माडीका दिनेश्वर महतोले फाइबरबाट घुँगी र चिचरको पोकाको प्रतिमा बनाएका हुन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.