|

वीरगञ्‍ज : नारायणी उपक्षेत्रीय अस्पताल परिसरभित्र अवैध रुपले सञ्‍चालनमा रहेका १६ वटा पसलमा शुक्रबार सिलबन्दी गरिएको छ।

३ वर्षदेखि अटेर गरेर सञ्‍चालनमा रहेका १४ वटा  औषधि पसल, एउटा किराना पसल र एउटा होटलको सटरसहित १६ वटा पसलमाहरुमा सिलबन्दी गरिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए।

अस्पताल मातहत रहेका नारायणी फार्मेसी, सुरभी मेडिकल हल, अर्याल मेडिकल, हाम्रो मेडिकल, श्रेष्ठ मेडिकल, रोशन फार्मेसी, शुभम मेडिकल, प्रभात मेडिकल, आफताब मेडिकल सँगै कृष्ण कोल्ड स्टोर, गुप्ता होटल लगायत १६ वटा पसलमा सिलबन्दी गरिएको प्रहरी उपरीक्षक डा.रेग्मीले बताए।

स्थानीय प्रशासन र अस्पताल व्यवस्थापन समितिले पटक-पटक खाली गर्न पत्राचार गरे पनि अटेर गरी पसलेहरुले सटर खाली नगरेपछि प्रशासनले शुक्रबार कडा सुरक्षा व्यवस्थाबीच सटरहरुमा सिलबन्दी गरेको हो।

अस्पताल विकास समितिले १९ पुसमा पसल खाली गर्न एक साताको अल्टिमेटम दिएको समय बिहीबार सकिए पनि शुक्रबार प्रहरी–प्रशासनमार्फत शिलबन्दी गरिएको विकास समितिका अध्यक्ष विनोद गुप्ताले बताए।

पसल सञ्चालनको सम्झौता समाप्त भएको ३ वर्ष बित्दा पनि नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा दर्जनभन्दा बढी औषधि पसल अवैध रूपले सञ्चालनमा रहेका थिए।

सर्वोच्च अदालतले ०७२ असार १३ गते सरकारी अस्पतालभित्र कुनै पनि निजी फार्मेसी राख्न नदिने फैसला गरे पनि करिब दुई वर्षपछि मात्र नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेका निजी औषधि तथा नास्ता पसलहरु हटाउन सिलबन्दी गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. एमामुल हकले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.