|

विक्रम संवत २०७४ पुस ७ गते शुक्रबार राती १०/११ बजेको थियो होला। काठमाडौंबाट जगदीश घिमिरे स्मृति फाउन्डेसनले मन्थली, रामेछापमा संचालन गरेको जगदीश घिमिरे चौथो वार्षिक साहित्यिक सभामा काठमाडौंबाट गएका र स्थानीय व्यक्तिहरू अनौपचारिक कार्यक्रममा रमाउँदै थिए। कोही कविता वाचनमा मग्न थिए, कसैको सुमधुर स्वरमा शब्दहरू रमाइरहेका थिए। त्यहाँ मुक्तकको रस र हास्यव्यंग्यको संगम भइरहेको थियो।

अचानक सबैलाई खल्बल्याउँदै हुइयाँऽऽऽयाँ सुनियो। लाग्यो, कतै बच्चै रिइरहेजस्तो या रक्सीको नशाले उन्मत्त भएकाको हातबाट चुटाइ खाँदा निस्किएको चित्कार जस्तो।

कसैलाई सोध्ने आँट भएन। सबै आआफ्नै तालमा रमाइरहेका थिए।

मध्यरातमा कोठामा पुग्दा कोही सुत्न सकेन। थाहा भयो त्यो त स्यालले आफ्नो आधिपत्य जमाउँदै हुइयाँ फैलाएको आवाज पो रहेछ।

काठमाडौंबाट कार्यक्रममा जाने क्रममा, बाटोमा तामाकोसी सहकारी अस्पताल कसरी स्थापना भयो भन्नेबारे जगदीश घिमिरे स्मृति फाउन्डेसनकी संस्थापक अध्यक्ष दुर्गा घिमिरेसँग प्रश्न राख्दै जिज्ञासा मेटाउँदै थियौँ।

त्यसै क्रममा उहाँले भन्नुभएको थियो, '२०३८/०३९ सालतिर हामी हाम्रा सासाना छोरा र छोरी लिएर गाउँ आउँदा गाउँको स्थिति पीडादायी थियो। राती स्याल कराएर सुत्न सकिन्नथ्यो।'

उहाँले आजभन्दा ३४/३५ वर्ष अगाडिको सम्झना गर्दै हुनुहुन्थ्यो, हामी आजको दिनमा समेत स्यालको हुइयाँ सुन्दै थियौँ।

दुर्गा घिमिरेले कुराकानीको क्रममा भन्नुभयो, 'हामी, साथमा आफ्ना छोराछोरीलाई बिरामी भए भने चाहिने सामान्य औषधिहरू लिएर आउँथ्यौँ र फर्किने बेलामा ती औषधिहरू स्थानीय व्यक्तिहरूलाई बाँडेर फर्कन्थ्यौँ।'

उहाँ भन्दै हुनुहुन्थ्यो, 'गाउँको अवस्था दयनीय थियो। काठमाडौंबाट जान आउन गाह्रो, बाटो थिएन। प्लेनमा ओहोरदोहोर गर्नुपपर्थ्यो। महिलाहरू एक गाग्री पानीको लागि घन्टौँ हिँडेर पानी बोकेर ल्याउँथे। यो सबै देखेर र महसुस गरेर हामी श्रीमान-श्रीमती मिलेर गाउँमा, गाउँलेकै लागि केही गर्ने निर्णय गर्‍यौँ। यसैको फलस्वरूप, तामाकोसी सेवा समिति दर्ता भयो। त्यसमा स्व. जगदीश घिमिरे संस्थापक र म सहसंस्थापक भएर संस्था दर्ता गर्‍यौं सँस्था दर्ता गर्न मैले आफ्नै पैसाबाट दुई हजार रुपैयाँ झिकेर दिएकी थिएँ।'

यसरी अशक्तलाई सशक्त बन्न टेवा दिने मिसन लिएर तामाकोसी सेवा समिति दर्ता भएछ। यो संस्था जिल्ला केन्द्रित संस्था हो।

त्यसरी साथमा बोकेर आएको औषधि र एक दम्पतीको सकारात्मक सोचले हालको तामाकोसी सहकारी अस्पतालको जग खनिएछ र २०४३ तिर तामाकोसी सेवा समितिको सानो स्वास्थ्य केन्द्रका रूपमा संचालित हुनथालेछ। पछि विक्रम संवत् २०६४ मा आएर उक्त अस्पतालले १५ बेडको तामाकोसी सहकारी अस्पतालको रूपमा सेवा प्रदान गर्न थालेको रहेछ।

अस्पतालले आफ्नो सेवा भवनमा कुरेर बस्दा आइपुग्ने बिरामीहरूलाई मात्र दिएन, अस्पतालका संस्थापक र सहकर्मीहरूको सोच, सेवाप्रदायक भावना र केही गरेरै छाड्ने अठोटअनुसार अस्पतालका व्यक्तिहरू गाउँगाउँ पैदल पुगेर स्वास्थ्य शिविर चलाए। त्यहाँ सबैभन्दा बढी के कस्ता रोगीहरू रहेछन् भनेर एक खालको सर्वेक्षण नै गरे। उनीहरूले त्यहाँ आङ खस्ने रोगबाट थुप्रै महिलाहरू पीडित भएको पाए। पछि उनीहरूलाई सम्झाईबुझाई मन्थली ल्याएर उपचार गरे। अस्पताल स्रोतका अनुसार हालसम्म त्यसरी उपचार गरिएका महिलाहरूको संख्या ४९४ पुगेको छ, जसको नि:शुल्क अपरेसन गरिसकिएको छ।

यसबारे अस्पतालका संयोजक, डा. सुमन कर्माचार्य भन्नुहुन्छ, '२०५४ सालतिर वर्ल्ड नेवर्स अमेरिकाले महिलाहरूको प्रजनन् स्वास्थ्यसम्बन्धी सर्वेक्षण गर्दा रामेछाप जिल्लाका महिलाहरूमा विभिन्न १६ प्रजनन् स्वास्थ्यको समस्या रहेको पत्ता लागेको मध्ये आङ खस्ने रोग पनि परेको थियो। त्यसैले विगत २० वर्षदेखि गाउँगाउँमा यो रोग भएका महिलाहरू पत्ता लगाउन २/३ दिन पैदलसम्म हिँडेर स्त्री रोग शिविरहरू गरियो। तिनमा झण्डै ३५ प्रतिशतको हाराहारीमा यो रोग भएका महिलाहरू भेटिए। ती महिलाहरूले ग्रामीण भेगमा नारकीय जीवन बाँचिरहेका थिए। त्यसैले ती महिलाहरूको जीवनयापनलाई सहज बनाउन यो रोगको उपचार व्यवस्था गर्न आवश्यक ठानियो। पहिले त रिङ प्रेसरी राखेर केही रोकथाम गर्न कोसिस गरियो तर महिलाहरूको समस्या घटेन।

त्यसैले २०६० सालदेखि हरेक वर्ष आरएचडीपी नामक स्विस संस्था र जिल्ला विकास समितिको करिव ७० प्रतिशत आर्थिक सहयोगमा २०६९ सालसम्म नारी निकुञ्ज, अष्ट्रेलियाबाट  दुर्गा घिमिरेको संयोजनमा दुई पटक र यी सबै शिविरमा तामाकोसी सेवा समिति, मन्थली बचत तथा ऋण सहकारी संस्थाको समेत सहयोगबाट ती महिलाहरूको उपचार तामाकोसी सहकारी अस्पतालमा सम्भव भएका थिए। उक्त कार्यमा डा. गणेश दंगाल, डा. धनबहादुर रानामगर, डा. मोहन रेग्मी, डा. पीआर पन्त, डा. सुनिल पोखरेललगायतका स्त्रीरोग विशेषज्ञहरूको सहयोग प्राप्त थियो।

अस्पतालमा सबै सेवाहरूको सामान्य सेवा शुल्क बिरामीहरूले तिर्नुपर्दछ। औषधिहरू बजार मोलअनुसार बुझाउनुपर्छ। ती सबै रकमबाट अहिले अस्पताल आफ्नै खर्चमा धानिएका छन्।

डा. सुमनका अनुसार उक्त रोगको कारण, रोग भएका महिलाहरूको श्रीमान र परिवारसँग सुखद सम्बन्ध नभएको, कति श्रीमानहरूले यसै रोगका कारण घरेलु हिंसाहरू गर्ने गरेको, अर्की श्रीमती विवाह गरेको, घरबाट निकालिदिएको, केही महिलाहरूले आत्महत्याको प्रयास गरेको, मानसिक रूपमा विक्षिप्तसमेत पाइएको थियो। त्यस्तै, शारीरिक रूपमा हिँड्न गाह्रो हुने, टुक्रुक्क बसेर काम गर्न नसक्ने, गन्हाउने पानी बग्ने, खेतबारीमा काम गर्दा विभिन्न वस्तुहरूले घाउ पारेर रगत बगिरहने, पिप बनेका घाउहरू हुने र धेरै समयपछि क्यान्सरमा परिणत हुने सम्भावना पनि थियो।

तर पनि सुरुका दिनमा ती रोग लागेका महिलाहरूलाई अप्रेसनको लागि तयार बनाउन साह्रै गाह्रो भयो। उहाँ पहिलो अप्रेसनबारे आफ्नो स्मरण सुनाउँदै भन्नुहुन्छ, 'हामीले गाउँगाउँ पुगेर बिरामी महिलाहरू खोजेर त ल्यायौँ तर अप्रेसन गर्न कोही तयार भएन। हामीलाई यहीँ काम गर्ने एक स्वास्थ सहायककी आमा पनि यसबाट पीडित भएको थाहा थियो, त्यसैले हामीले उहाँलाई कन्भिन्स गर्‍यौँ र उहाँको अप्रेसन गर्‍यौँ। त्यसपछि उहाँलाई देखेर अरू महिलाहरू पनि उक्त रोगको उपचार गर्न तयार भए।'

डा. सुमनको अनुभवमा त्यसपछिका दिनहरूमा समुदायका महिलाहरूको जीवनमा गुणात्मक सुधार भएको छ। उनीहरूको मनमा भइरहने हीन भावना हराएको छ। श्रीमानहरूबाट पनि उचित माया प्राप्त हुन थालेको छ। यसले परिवारको सम्बन्धमा सुधार आएको छ। महिलाहरूले आफ्ना कामहरू गर्न सक्ने, जिम्मेवारी निभाउन सक्ने भएका छन्। पहिले रगत बगिरहने, गन्हाउने पिप बग्ने महिलाहरू त समाजमा निस्कन पनि गाह्रो थियो। उनीहरूको अप्रेसनपछि सम्मानित जीवन बाँच्न सफल भएका छन्। महिलाहरूले मानसिक तनावबाट मुक्ति पाएका छन्। यसका साथै यो रोगका बारेमा जानकारी पनि साथसाथै गरिएको हुनाले अहिलेका महिलाहरूमा यसबारे धेरै सचेतना बढेको छ र हाल यो रोग दुईदेखि पाँच प्रतिशत मात्र भेटिन्छ।

उक्त अस्पतालबाट गरिएको आङ खस्ने रोगको उपचारमा पटक पटक सहभागिता जनाउनुभएका डा. गणेश दंगालका अनुसार उहाँहरूको टिमले सन् २००४ मा अमेरिकाको वर्ल्ड नेवरु तथा तामाकोसी सेवा समितिको सहयोगमा आङ खस्ने रोगबाट पीडित २० जना बिरामीको अप्रेसन गर्नुका साथै महिलाहरूका प्रजनन् स्वास्थ्यको बारेमा पनि सेवा दिइएको थियो। त्यसैगरी डा. गणेशलगगायत अरू डाक्टरसमेत संलग्न भएको टिमले सन् २००५ मा ४७ जना बिरामीको अप्रेसन गरेको तथा सन् २००६ र २००७ मा क्रमश: ५० र ४० जना आङ खस्ने रोगका बिरामीको अप्रेसन गरेको रहेछ।

उक्त अस्पतालमा हालका दिनमा दैनिक करिव १०० जना बिरामीहरूको दाँत आँखालगायत सम्पूर्ण रोगहरूको स्वास्थ्य परीक्षण तथा उपचार हुन्छ। महिला स्वास्थ्यमा विशेष ध्यान दिएर १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनका साधनहरूको वितरण, यौन तथा प्रजनन् रोगहरूको उपचार गरिन्छ। भिडियो एक्सरे, डिजिटल एक्सरे, इसीजी, आधुनिक मेडिकल ल्याबोरेटरीका सहायताबाट रोगहरूको निदान गरिन्छ। अस्पतालमा २४सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। आकस्मिक बिरामीहरूका लागि एम्बुलेन्सको पनि व्यवस्था छ।

तामाकोसी सेवा समितिको कामको बारेमा काठमाडौं बसेर सुन्दा बढाईचढाई सुनाइएको कथा जस्तो मात्र लाग्न सक्छ, किनकि हजोआज च्याउझैँ उम्रिएका विकासे संस्थाले ईच्छा र अनिच्छाले दाताको सोचअनुसार चल्नुपर्ने बाध्यता बनाइएको छ। तर उक्त समितिले मन्थलीमा दिगो विकासको जरो गाडेको तथ्य त्यहाँ पुग्ने जो कोहीले महसुस गर्न सक्छन्। आफूले धर्मपत्नी दुर्गाको साथमा सुरु गरेको कामबारे स्व. जगदीश घिमिरेले आफ्नो पुस्तक 'अन्तर्मनको यात्रा'मा लेख्नुभएको छ :

'मसँग थोरै पैसा थियो र धेरै आँट। सबैभन्दा ठूलो कुरा आफ्नो जन्मभूमिका लागि केही गर्नुपर्छ भन्ने आत्माको आवाज थियो। यही कारण गैरसरकारी संस्थाका रूपमा तामाकोसी सेवा समिति नामक संस्था खोलेका थियौँ। राम्रा काम गर्ने योजना थियो तर हाम्रो देशमा कुनै काम गर्नुको अर्थ कुनै पदमा पुग्ने र राजनीति गर्ने साधन बन्छ भन्ने सोच राखिन्छ भन्ने सोचेको थिइनँ। त्यही भयो।'

उहाँले लेख्नुभएको छ, 'तामाकोसी सेवा समितिका स्वयंसेवक, सहयोगी र काम गरेका समुदाय एक ढिक्का भएर मेरो पक्षमा नउभिएका भए रामेछापमा सामूदायिक विकास गर्ने मेरो सपना नेताहरूकै कारण अपूरो मात्र होइन, धूलो पिठो हुने थियो।

तामाकोसी सेवा समितिबाहिरबाट रामेछापमा विकासका कनिका छरी टोपल्न आएको मौसमी टुरिस्ट संस्था थिएन। यही जिल्लामा जन्मेको, यहीँको आँधीबेहरी खपेर हुर्केको, यहीँको पाखा पखेरामा जरा गाडेर झ्याङ्गिन लागेको, यही जिल्लामा दिगो विकास गरिछाड्ने अठोटका साथ लागिपरेको, यही जिल्लाका मान्छेले नेतृत्व लिएको संस्था थियो। जसजसले यसको कामलाई आफ्नो स्वार्थअनुरूप नहुने देखे, ती सबैले यसलाई बलियो सौता ठाने।

नेताहरूसँग गाउँलेलाई दिने कोसेली जाली आश्वासन मात्रै थिए। मसँग ठोस काम थिए। मसँग खानेपानी, चर्पी, साना सिँचाइ, स्वास्थ, शिक्षा, बचत तथा ऋण सहकारी, आय आर्जन, महिला परिचालनलगायत हाताहाती कार्यक्रम थिए।'

त्यस्तो 'हाताहाती कार्यक्रम'कै कारण तामाकोसी सहकारी अस्पताल दिन परदिन बलियो बन्दै गएको छ। यसरी अस्पताल चलाउन खर्च कसरी जुट्छ त?

प्रश्नको जवाफमा डा. सुमनले भन्नुभयो, 'अस्पतालमा हाल एकजना निर्देशकसहित तीन जना चिकित्सकहरू र अन्य २८ जना स्वास्थ्यसेवकहरू कार्यरत छन्।'

अस्पतालमा सबै सेवाहरूको सामान्य सेवा शुल्क बिरामीहरूले तिर्नुपर्दछ। औषधिहरू बजार मोलअनुसार बुझाउनुपर्छ। ती सबै रकमबाट अहिले अस्पताल आफ्नै खर्चमा धानिएका छन्। यसको पूर्वाधार र सामग्रीहरूका लागि जर्मन रोटरी भोलेन्टियर डक्टर्स, अस्ट्रेलिया लियन एम्बेसी, रयान नेपाल, रोटरी क्लव धुलिखेल, काभ्रे, बनेपा, जर्मन रोटरी फाउन्डेसन, धुलिखेल अस्पताल जस्ता संस्थाहरूको सहयोग प्राप्त छ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाका करिव १४ हजार सदस्यहरूको स्वास्थ्य बीमा छ, जसमा सदस्यहरूले २०० रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्छ र दुई हजार ८५० रुपैयाँसम्मको सेवा शुल्क नि:शुल्क गरिन्छ। यस अस्पतालबाट करिव ३० हजार बिरामीहरूले वार्षिक उपचार पाउँछन्। गाउँगाउँमा वर्षमा करिव २० वटा स्वास्थ्य शिविरहरूबाट करिव पाँच हजार जनाले आँखा, दाँत, स्त्री रोग, जनरल र भिडियो एक्सरेको नि:शुल्क सेवा पाउँछन्।'

केही वर्ष अगाडि एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'मा तामाकोसी सेवा समितिका संस्थापक स्व. जगदीश घिमिरेले भन्नुभएको थियो, 'मैले मेरो जन्मस्थल मन्थली रामेछापमा ०३९ सालमा स्थापना गरेको तामाकोसी सेवा समिति नामक सामाजिक संस्थामार्फत मेरो नेतृत्व र संलग्नतामा भएका जैविक कृषि, खानेपानी, चर्पी निर्माण, सरसफाई, स्वास्थ्य, सहकारी, तरकारी उत्पादन, डाले घाँससम्बन्धी क्रियाकलाप तथा सीमान्तकृतहरूको सशक्तीकरण र सामुदायिक विकासका अभियानहरू मेरा त्यही विश्वासका अभिव्यक्तिहरू हुन्।'

हुन पनि, धर्मपत्नी दुर्गा घिमिरे, डा. सुमन कर्माचार्य र टिमको जिम्मा स्व. जगदीश घिमिरेले छाडेर जानुभएको तामाकोसी सेवा समितिका कार्यहरू मन्थलीको उराठ जीवनमा पाखामा विना स्याहार लटरम्म फुल्ने लालीगुँरासझैँ फुलिरहेछन्।

यसमा सबैभन्दा सक्रिय र जिम्मेवारी लिएर गाउँमै बस्ने डा. सुमनको त जति तारिफ गरे पनि नपुग्नेरहेछ।

साँच्चै भन्ने हो भने उक्त अस्पताललाई मोडेल अस्पतालको रूपमा देशका अन्य भागमा पनि विस्तारित गर्न सके कति लाभदायक हुन्थ्यो होला?

ती गाउँहरूमा पुग्नु सजिलो थिएन। मोटरबाटो कतै थिएन। झण्डै एक दिनभर हिडेपछि मात्र पुगिने ठाउँहरू थिए। डा. सुमनले भन्नुभयो, 'तर पनि हामीले ती बस्तीहरूमा पुग्ने अठोट गर्‍यौँ र स्त्री रोगसँगै दाँत र आँखाको स्वास्थ्य शिविर जान लाग्यौँ। पैदल यात्रा र भारीमा सम्पूर्ण बन्दोबस्ती बोकेर।

जाँदाजाँदै, डा. सुमनले देख्नुभएको मार्मिक दृश्य उहाँकै शब्दमा, 'लाजका कारणले पाठेघर झर्ने समस्याका बारेमा बताउन नचाहने ती असहाय महिलाहरूलाई यो स्वास्थ्य समस्या नै हो कि होइन भन्ने पनि द्विधा थियो। किनभने बच्चा जन्मिएपछि पाठेघर त खस्छ नै भन्ने उनीहरूको विश्वास। यो बुझाउन पनि हामीलाई दुई वर्ष लाग्यो।'

डा. सुमनको भनाइ थियो, 'हरेक महिना ती गाउँका महिला समूहमा पुग्ने हाम्रा अनमी बहिनीहरू बडो मिहिनेत र उत्साहका साथ समूहका हरेक महिलाहरूका स्वास्थ्य समस्याहरू पत्ता लगाउन कटिबद्ध थिए। स्वास्थ्य जागरण विस्तारै बढ्दै गयो। सोअनुरूप हामीले स्वास्थ्य सेवा प्रदान गर्न सक्ने हाम्रो क्षमता थिएन, न त राज्यका स्वास्थ्य निकायहरू नै यसका लागि विकसित थिए। हामीले सोच्यौँ, अब केही गर्न सकिएन भने पनि वर्षमा एक पटक चिकित्सकसहित स्वास्थ्य टोली लिएर ती गाउँहरूमा पुग्ने।'

तर ती गाउँहरूमा पुग्नु सजिलो थिएन। मोटरबाटो कतै थिएन। झण्डै एक दिनभर हिडेपछि मात्र पुगिने ठाउँहरू थिए। डा. सुमनले भन्नुभयो, 'तर पनि हामीले ती बस्तीहरूमा पुग्ने अठोट गर्‍यौँ र स्त्री रोगसँगै दाँत र आँखाको स्वास्थ्य शिविर जान लाग्यौँ। पैदल यात्रा र भारीमा सम्पूर्ण बन्दोबस्ती बोकेर। कहिलेकाहीँ एक दिन गाडीमा र एक दिन हिँडेपछि मात्र गन्तव्यमा पनि पुग्ने गर्थ्यौं। यो कुरा झण्डै १८ वर्षअघिको हो।'

यस्तै अर्को घटना थियो, एक महिलाले ल्पाष्टिक चुरा पाठेघर थेग्न राखेका थिए। झण्डै ६ महीना अघि राखेको त्यो चुरा निकालेर मैले रिंग राखिदिए। मैले त्यो चुरा फाल्न खोज्दा उनले भनिन् मलाइ दिनोस्। मैले भने फोहोर छ। उनीले भनिन्, यो चुरा मैले मेरो भतिजीबाट लिएको हो। मैले फिर्ता दिनुपर्छ। मैले सफा गरेर उनलाइ दिए।

सत्र वर्षको उमेरमा रक्सी खाने श्रीमानको कुटाइले गर्भपतनसँगै पाठेघर झर्न सुरु भएकी एक महिला उनको ६५ वर्षको उमेरमा जाँच गराउन आएकी थिइन्। गर्भपतनपछि उनी माइत गइन्। श्रीमान भारततिर। त्यसबेलासम्म उनीहरूको भेट भएको थिएन। उनले माइतमा नै जीवन गुजारिन्। उनले भनिन्, 'त्यसपछि मैले श्रीमानको अनुहार पनि देखेको छुइनँ। मेरा सन्तानहरू बाख्रा, खसी र भैँसी छन्। तिनीहरूको स्याहार गरेर खुसी छु।'

त्यस्तै अर्की एक महिलाको पाठेघर यति कडा भएर बाहिरिएको थियो कि त्यो हातले ठेल्दा पनि भित्र जाँदैनथ्यो। उनले आफ्नो व्यथा बताइन्। हरेक दिन श्रीमान रक्सी पिएर त्यसलाई ठेलेर यौनसम्पर्क गर्न कोसिस गर्थे। उनलाई यति पीडा हुन्थ्यो कि हरेक दिन हरेक रात उनी पटक पटक मर्थिन् रे! 'जीवनको एक मरण पर्खनु मात्र मेरो उद्देश्य थियो', उनी भन्थिन्। पछि श्रीमानले अर्की श्रीमती ल्याए। त्यसपछि उनी एक्लै बस्न थालिन्। तर यो उनको लागि जीवनदान सरह थियो। यस्तो थियो त्यस बखतका ग्रामीण महिलाहरूको अवस्था।

यी यस्ता केही प्रतिनिधि व्यथाहरू मात्र हुन्। यस्ता सयौँ पीडा भोगेर बसेका गाउँका महिलाहरूलाई हामी सयौँको संख्यामा भेट्थ्यौँ। हामी यति विवश थियौँ कि न त हामी उनीहरूका पीडाहरूलाई साँच्चै नै अन्तस्करणले बुझ्न सक्थ्यौँ, न उनीहरूको परिवेशलाई फेरिदिन सक्थ्यौँ वा मानसिक तनावहरूलाई कम गराउन नै सक्थ्यौँ। मात्र एकछिन पीडा सुनिदिने साक्षी हुनेबाहेक हामी केही गर्न सक्दैनथ्यौँ। ती घाउ बनेका पाठेघरहरूको ओखतीमूलो, घाउ नभएका पाठेघरहरूमा रिङ प्रेसरी र केही आश्वासनबाहेक हामीसँग दिन सक्ने केही हुँदैनथ्यो। तर हामी धन्य हुन्थ्यौँ, कमसेकम उनको पीडा सुन्ने पहिलो मान्छे हुन पाएकोमा। उनलाई आश्वस्त गर्न पाएकोमा।'

तर आज उहाँहरूसँग केही भए पनि खुशी हुने बाटो छ। तामाकोसी सेवा समिति र उक्त समितिले गरेका सकारात्मक कार्यहरू फैलिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.