|

काठमाडौं : बाल्यकालदेखिका साथीहरुसँगका मायाप्रेम र खटपटका कुराहरुको संगालो साहित्यकार नयनराज पाण्डेको संस्मरण 'यार' को विमोचन भएको छ।

पाण्डेको संस्मरणात्मक कृतिको विमोचन पनि उनका यार अर्थात् साथीहरुले नै गरेका छन्। शनिबार प्रज्ञाप्रतिष्ठानको डबलीमा 'यार'को विमोचन गरिएको हो। विमोचन गर्नका लागि 'यार'का पात्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, नरेन्द्रजंग पिटर, जय हमाल, राजव र शार्दूल भट्टराई उपस्थित थिए। 

'यार' नामक एक लेख प्रकाशित भएपछि यसलाई अन्य साथीहरुसँगका संस्मरण लेखेर किताबको रुप दिएको साहित्यकार पाण्डेले बताए।

उनले 'यार' शब्दबाट धेरै साथीहरुलाई समेट्न सकिने भएको पुस्तकको नाम पनि यार राखेको बताए।

उनले पुस्तकमा कुनै बनावटी कुरा नभएर वास्तविकता लेखेको बताए। उनले भने, 'यसमा कुनै बनावटी कुरा लेखेको छैन, आफ्ना कमजोरी पनि उदृत गरेको छु।' संस्मरण संग्रह विमोचन पूर्व लेखिका एवं सञ्चारकर्मी शिवानीसिंह थारुसँग अन्तरक्रिया गर्दै उनले भने, 'यसमा मैले धेरै लेखकहरुको पोल पनि खोलेको छु।'

नेपालगञ्जमा बसाइका क्रममा बनेका साथीहरु र पछि काठमाडौं आएपछि बनेका साहित्यकार साथीहरुसँगका स-साना घटनाहरुलाई लेखेर पुस्तकको रुप दिएको उनले बताए। पुस्तकमा पारिवारिक र व्यक्तिगत कुरा पनि इमानदारीकासाथ लेखेको दाबी गरे। 'धराप लेख्दाखेरी मलाई गाह्रो भएको थियो। यसमा विवाहेत्तर सम्बन्धका बारेमा लेखेको छु', उनले संस्मरणमा लेखेका विषयबारे भने, 'यो लेखेपछि मैले मेरो सबभन्दा नजिकको यार श्रीमतीलाई पढ्न दिएको थिएँ, कुनै नराम्रो प्रतिक्रिया आएन र बोझ बिसाएजस्तो भयो।' त्यस्तै, उनले अरुका लागि यौनकर्मी मिलाइदिएका कुरा पनि पुस्तकमा रहेको बताए।

पाण्डेले आफूले जुन साथीका बारेमा लेखेको हो उनीहरुलाई जानकारी भने नदिएको बताए। उनले भने, 'मैले जसलाई साथी बनाएर यसमा लेखेँ उहाँहरुलाई आफ्नोबारेमा लेखेको थाहा छैन। यो पढेपछि उहाँहरुलाई संस्मरण इमानदारिताका साथ लेखेको रहेछ भन्ने लाग्नेछ।'

यसअघि, उपन्यास 'उलार', 'लू', 'सल्लीपिर' 'घामकिरी' जस्ता कृति र कथा लेखनमा ख्याती कमाएका पाण्डेको संस्मरण 'यार' फाइन प्रिन्टले प्रकाशन गरेको हो। यसको मूल्य ४७५ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.