|

काठमाडौं : मुलुकको सबैभन्दा पुरानो र ‘ठूलो दल’ नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पराजय बेहोर्नु पर्दा पार्टीका धेरै नेताले पराजयका कारण पार्टी, लोकतन्त्र र मुलुकलाई नैं संकट त पर्ने होइन भनेर चिन्ता व्यक्त गरे। तर, नवनियुक्त पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने पराजयलाई स्वभाविक रुपमा लिन कार्यकर्ता र शुभेच्छुकसँग आग्रह गरेका छन्। 

पार्टीको झापा क्षेत्र नम्वर एक – काठमाडौं सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता शर्माले भने, ‘कांग्रेसले चुनाव हार्‍यो, जे भयो ठीक भयो, विगतका गल्ती र कमजोरीलाई कोट्याएर कोही पनि निरास हुनु पर्दैन।' उनले थपे, 'निर्वाचनमा पार्टी पराजय हुँदैमा हाम्रो भविश्य बर्बाद हुँदैन, तर अब चुप लागेर भने बस्ने होइन।’ शर्माले विगतको कमजोरी र गल्तीलाई सुधार्दै त्यसबाट पाठ सिक्नु पर्ने बताए। 

‘यो निर्वाचनले कांग्रेसलाई सक्षम र सवल प्रतिपक्षीको जिम्मेवारी र कम्युनिष्ट पार्टीलाई बहुमत दिलाएर सरकार चलाउने अवसर दिएको छ', उनले भने, 'कांग्रेसलाई सत्ताबाट जनतामा पुर्‍याएर ठीक भएको छ।’ उनले यथास्थितिमा नबदलिएको कांग्रेसले सत्ता पाएको भए 'हम कभि नहीँ सुध्रेङ्गे' भने झैं हुने थियो। 

उनले जो जुन पदमा भएपनि पार्टी र देशको लागि काम गर्नुपर्ने बताए।

‘म प्रवक्ता भए पनि पार्टी भित्र थिति बसाउने प्रयासमा लाग्ने छु, महाधिवेशनबाट नेविसंघको अध्यक्षमा निर्वाचित भएपछि मैले दुई सय ६५ दिनमै सहज नेतृत्व हस्तान्तरण गरेँ’ शर्माले भने, 'पार्टीलाई व्यवस्थित ढंगले चलाउने त नेतृत्वले हो, मेरो भूमिका त जनतालाई पार्टीले गरेका काम जस्ताको तस्तै खुलस्त पार्ने मात्र हो।’

कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गरेका कामको प्रचार गर्न नसकेको बताए। उनले भने, ‘कांग्रेसले आफैले गरेको काम पनि भन्न सकेन, हिजो सिपाहीको जागिर खाँदै गरेको छोराको चिन्ताले हरेक सिपाहीका आमा रुने गर्दथे। आज त्यही सिपाही चाँड पर्वमा आमाको आशीर्वाद लिन जान सक्ने अवस्था कसको कारणले भयो? त्यो कांग्रेसले अघि सारेको शान्ति प्रकृयालाई हामीले जनतासमक्ष बुझाउन सकेनौं।’

शर्माले गत वैशाख २४ गते नैं मधेश केन्द्रित दललाई पेलेर कांग्रेसले स्थानीय तहको निर्वाचन गर्न सक्ने भए पनि त्यो नगरेको बताए। ‘बैशाख २४ गते चुनाव दुई नम्बर प्रदेशमा चुनाव गरेको भए कांग्रेसले एक सय तह जित्न सक्थ्यो, तर त्यो सिट कांग्रेसले प्राप्त गर्न राजपाका नेतालाई थुनेर र फोरमलाई गोली ठोक्नु पर्दथ्यो, अनि एक सय जनताको गोलीले शिकार गर्नु पर्दथ्यो’, शर्माले भने ‘एक सय जना मधेशी जनताको रगतमा लतपतिएको मत पत्रबाट विजयी हुन कांग्रेस चाहँदैन थियो।’

असन्तुष्ट मधेस केन्द्रित दललाई सहमतीमा ल्याएर असोज २ गते दुई नम्बर प्रदेशको निर्वाचनमा एक जना नेपालीको रगत नबगाइकनै निर्वाचन सम्पन्न भएको कांग्रेसले जनतालाई बुझाउन नसकेको शर्माको गुनासो थियो।

उनले पहिलो संविधानसभाको निर्वाचनपछि ४ जना कम्युनिष्ट नेता प्रधानमन्त्रीले संविधानको स पनि लेखेनन तर दोश्रो संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत पाए पछि कांग्रेस सभापति शुशील कोइराला नेतृत्वको सरकारले संविधान लेखेको कुरा कांग्रेसले भन्न नजनाएको स्वीकारे । शर्माले भने ‘कम्युनिष्टहरुले बाँडेको भ्रम र सपनाबाट जनतालाई भ्रममा पारियो, हामीले बुझाउन सकेनौं।’

उनले आफूलाई प्रशंसा नचाहिएको भन्दै आफ्नो कामको खबरदारी गर्न आग्रह गरे। आफू सात जना साथिले जारी गरेको प्रतिवद्धताबाट कदापी पछि नहटेको भन्दै ‘कांग्रेस बदल्नु पर्छ। उमेरले होइन, विवेकले पार्टी चल्नु पर्छ’ भन्ने पक्षमा अडिग रहेको बताए।

‘राजनीति गर्नेले कुनैं न कुनैं पेशा गर्नै पर्छ। पेश नगर्नेले राजनीतिलाई विकृत बनाउँछ’ उनले भने ‘यदि कोही नेविसंघको भाइलाई के पेशा छ भनेर सोध्दा जवाफ दिन सकेन र सम्पतीको श्रोत देखाउन सकेन भने उसलाई कुनैं दिन हामीले अख्तियारको गेटबाट रुमालले मुख छोपेको देख्नु पर्ने हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.