|

काठमाडौं : नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन्।

दोलखा–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले प्रदेश प्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकार राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको बताए।

“सरकारले षडयन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ”–उनले भने, “होइन भने सरकारले यथाशीघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकोस्।” उनले सरकारले राष्ट्रियसभाको निर्वाचन समयमा नगराएर आफ्नो कार्यकाल लम्ब्याउन चाहेको धारणासमेत व्यक्त गरे।

उनले वाम गठबन्धनले बहुमत ल्याउँदा पनि वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको गुनासो गरे। पूर्वसभामुख नेम्वाङले व्यवहारमा एमाले र नेकपा (माओवादी केन्द्र) एक भइसकेको भन्दै अब सैद्धान्तिक हिसाबले मात्र एक हुन बाँकी रहेको बताए। 

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्किसकेपछि पार्टी एकतालाई मूर्तरुप दिने बताए। उनले मुलुकमा राजनीतिक दलको निर्वाचन प्रतिस्पर्धा सकिएकाले अब समृद्धिको बाटोमा लाग्नुको विकल्प नभएको पनि बताए।

सो अवसरमा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र प्रदेशसभा सदस्य पशुपति चौलागाईँ र विशाल खड्काले दोलखाको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.