छापा

जाडो थेग्न परालको भर
SHARES

तस्विर–अन्नपूर्ण पोस्ट
पुस ३०, २०७४

    इटहरी : सरस्वती ऋषिदेवलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। ‘नागरिकता हेर्नुपर्छ,’ उनले भनिन्, ‘१५÷१६ वर्षमा बिहे गरेको। ’उनी अहिले सायद २५÷२६ वर्षकी भइन्। तर, उनी चार जना छोराछोरीकी आमा भइसकेकी छन्। ‘छोरी पाउने भनेर छोरै छोरा भए,’ कान्छो सन्तानका रूपमा छोरी पाएकी उनले भनिन्, ‘छोराले भन्दा बढी माया गर्छ भनेर छोरी पर्खेको, अब नपाउने।’

    उनका सन्तान नजिकैको मनमोहन प्राविमा पढ्छन्। बिदाका दिन भएकाले शनिबार उनीहरू गाउँमै खेलिरहेका थिए। उनका श्रीमान् रिक्सा चलाउन बिहानै घरबाट निस्केका थिए। उनी भने छिमेकीसँग घर अगाडिको कच्ची बाटोमा घुर तापिरहेकी थिइन्। उनको घरअगाडि बाटोभरि बालिएको परालको धुवाँ उडिरहेको थियो। थारू र ऋषिदेव समुदायको बसोबास रहेको उक्त बस्तीको दिनचर्या अहिले बिहान र बेलुका घुर ताप्नु बनेको छ। ‘निकै जाडो छ, छोराछोरीलाई लुगा किन्नुभन्दा फोहोर र दाउरा बाल्नु नै सस्तो पर्छ,’ सरस्वतीले भनिन्।

    उनको माइलो छोरा नौ वर्षको भयो। हिँड्न सक्दैन। जन्मिँदै अपांगता भएको उनको छोरो दुईकोठे प्लास्टर नगरिएको पक्की घरभित्र परालमाथि ओछ्याइएको गुन्द्रीमा बसेको थियो। उनी भन्दै थिइन्, ‘जाडोमा ओढ्न भनेर एउटा ब्ल्यांकेट त नगरपालिकाले सहयोग गरेको छ, त्यही पनि छोरोले दिसा गरेर फोहोर बनाइदिन्छ, दुई वटा मागेको दिएनन्।’

    सरकारको दुई लाख रुपैयाँ सहयोगमा उनले इटहरी १० को ऐलानी जग्गामा इँटाको घर बनाउन सकेकी हुन्। घर त बन्यो तर घरभित्र एउटा औसत परिवारलाई चाहिने सामान भने छैन। न खाट, न कुर्सी, न टेबल, न कार्पेट। ऋषिदेव परिवार गुन्द्री ओछ्याएर सुत्ने गर्छ। ‘जाडोमा चार–पाँच महिनाचाहिँ पराल ओछ्याउनुपर्छ,’ उनले भनिन्।

    उनले भुइँमा ओछ्याएको परालसमेत किनेर ल्याएकी होइनन्। ‘एक सोरी परालको चार सय रुपैयाँ पर्छ,’ उनले निर्धक्कसाथ भनिन्, ‘दुई सोरी पराल राति–राति चोरेर ल्याएको, यति भए जाडो कट्छ।’

    लुगा पनि मागेर लगाउन बाध्य सरस्वतीको गाउँमा उनको जस्तै दुई दर्जन बढी परिवार छन्। जो जाडोमा शीतले नुहाउँछन्। उनीहरू अहिलेसम्म खाटमा सुतेका छैनन्। ढोकै नभएको घरमा बस्दै आएका धेरैले सरकारी सहयोगमा पक्की घर त बनाएका छन् तर त्यो घरले न्यानो भने दिँदैन। धेरै नेपाली जाडोमा सिरक डसनाका खोल फेर्छन्, उनीजस्ता विपन्न समुदायसँग न सिरक–डसना छ, न खोल फेर्ने पैसा।

अन्नपूर्ण पोस्ट

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]