|

काठमाडौं : निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ। आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। 

‘आइतबार कार्यालय खुल्नासाथ आयोगले भनेअनुसार नै सूची बुझाउनेछौं,’ यादवले भने। आयोगले सूची नसच्याए राजपाको परिणाम रोक्ने चेतावनी दिएको थियो। चेतावनीपछि राजपाका नेता शुक्रबार आयोगका अधिकारीलाई भेट्न पुगेका थिए। भेटपछि राजपाले आयोगसँग सूची सच्याउन केही दिन पर्खन आग्रह गरेको थियो। यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो। समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ।

निर्वाचनअघि बुझाइएको सूचीमा पनि राजपाले 'क्लस्टर' मिलाएको थिएन। आयोगले त्यतिबेलै आपत्ति जनाए पनि राजपाले सूची नसच्याई चुनावमा होमियो। राजपाले अहिले वरीयता सूची पनि आयोगले भने जसरी बुझाउन आनाकानी गर्दै आएको थियो। समानुपातिकको बन्दसूचीमा भएको ‘क्रम’ अनुसार नै प्रतिनिधि छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो। त्यसप्रति निर्वाचन आयोगले आपत्ति जनाएको हो।

उम्मेदवारी दर्ता गराउँदा बुझाएको बन्दसूचीमा महिलाको संख्या पुर्‍याइए पनि अल्पसंख्यक तथा अन्यको थिएन। राजपाले प्रदेश २ का लागि समानुपातिकको बन्दसूचीमा ४२ वटै नाम मधेसी समूहबाट राखेको थियो। समावेशीको ‘क्लस्टर’ उल्लंघन गरेको राजपाले मधेसी समुदायको नाममा पनि क्रम मिचेपछि आयोगले त्यसो नगर्न सचेत गराएको थियो। त्यसले राजपाभित्रै व्यापक असन्तुष्टि सिर्जना गरेको थियो। ‘केही असन्तुष्टि थियो, साथीहरूमा त्यो सबै सम्बोधन भइसकेको छ,’ यादवले प्रष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.