|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन्।

चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा मेडिकल कलेजमा भर्ना लिन बिहीबार र शुक्रबार आईओएमको प्रवेश परीक्षा पास भएका ३ हजार ३ सयमध्ये १ हजार ६ सय विद्यार्थीलाई ‘ओपन हाउस काउन्सिलिङ’मा बोलाएको थियो। काउन्सिलिङमा सहभागी अधिकांश विद्यार्थीले काठमाडौंको महाराजगञ्ज मेडिकल कलेज र नेपाली सेनाको स्वयम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन रुचाए । यी दुवै कलेजमा पूरा सिट भरिए पनि अन्य ६ वटा कलेजमा अझै सिट खाली छन्।

काउन्सिलिङका क्रममा वीरगन्जको नेसनल मेडिकल कलेजमा भर्ना हुन एक जनाले पनि रुचि देखाएनन् भने जनकपुरको जानकी मेडिकल कलेजमा दुई जनाले मात्र भर्ना हुने चाहना राखे। अन्य ४ वटा कलेजका पनि थुप्रै सिट खाली रहे। ओपन हाउस काउन्सिलिङका क्रममा छानिएका विद्यार्थीले रोजेका कलेजमा एक साताभित्र अनलाइनबाट भर्ना हुनुपर्छ। आईओएमले यस वर्ष नेसनललाई ८१ र जानकीलाई ७२ सिट भर्ना कोटा दिएको छ । यो संख्या छात्रवृत्तिबाहेकको हो।

यस्तै, भैरहवाको युनिभर्सल मेडिकल कलेजलाई ९०, ललितपुर ग्वार्कोको किस्ट मेडिकल कलेज, चितवन भरतपुरको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजलाई ८१र८१ सिट पूर्ण शुल्कको कोटा दिएको छ। नेपाली सेनाको कलेजले ९० सिट पाएको छ। विद्यार्थीको पहिलो रोजाइ महाराजगञ्ज कलेज, दोस्रो सेना, तेस्रो पोखराको गण्डकी, चौथो किस्ट र पाँचौं युनिभर्सल परे।

आईओएमका अनुसार युनिभर्सलमा २४ जना, किस्टमा ३४ जना, चितवनमा ६२ जना र गण्डकीमा ७ जनाले भर्ना हुने रुचि देखाएका छन्। आईओएमले बिहीबार ८ सय र शुक्रबार ८ सय विद्यार्थीलाई बोलाएर कलेज रोज्न लगाएको थियो। ‘भर्ना हुने सर्तमा आफूले पढ्न चाहेको कलेज छनोट गर्न दिइएको थियो,’ आईओएमको सूचनामा भनिएको छ, ‘काउन्सिलिङपछि सम्बन्धनप्राप्त कलेजहरूको भर्ना चिकित्साशास्त्र अध्ययन संस्थानबाटै अनलाइनमार्फत गरिने व्यवस्था छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.