|
तस्विर– नागरिक दैनिक

बर्दिया : जिल्लामा हुलाकी सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाए पनि ठेकेदार र आयोजना सम्बद्ध अधिकारीको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी अनिमियतता गरेकोे पाइएको छ। मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको ठहर प्राविधिक टोलीले गरेपछि अनिमियतताको  तथ्य खुलेको हो। 

२६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको मधुवन नगरपालिका–८ देखि नेपाल–भारत सीमामा पर्ने मुर्तिहासम्म १८ किलोमिटर सडक मापदण्डविपरीत छ। यस्तै ढोढरी–भुरिगाउँ र ढोढरी–राजापुर गरी ७९ करोड रुपैयाँ लागतमा हुलाकी सडक निर्माण हुँदैछ।

 ठेकेदारले मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको प्राविधिक टोलीको ठहरपछि अनियमितता पुष्टि भएको हो। सडकको तीनै खण्ड निर्माणको जिम्मा पप्पु, आशिष र शर्मा जेभी कम्पनीले पाएको छ। 

गुलरिया नगरपालिकाभित्र पर्ने हुलाकी सडकमा मापदण्डविपरीत काम भइरहेकोे मेयर मुक्तिनाथ यादवले बताए। ‘सडकमा प्रयोग गरिएका निर्माण सामग्री आँखैले देखेर जो कोहीले पनि मापदण्डविपरीत रहेको थाह पाउँछ’, उनले नागरिकसँग भने, ‘सडक पटानीदेखि  थिकनेससम्म मापदण्डविपरीत छ।’

नगरपालिकाको प्राविधिकसहितको टोलीले पटकपटक अनुगमन गरेको बताउँदै यादवले निर्माणक्रममा भएको त्रुटि सच्याएर काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे। ‘मैले आयोजना प्रमुखलाई त्रुटि सच्याइदिन आग्रह गरेको छु’, उनले भने, ‘काम छिटोछरितो गर्ने नाममा गुणस्तरमा आँखा चिम्लनु भएन।’

सडक पटानी गर्नेक्रममा ५ देखि २० किलोको ढुंगा प्रयोग गरेको पाइएको छ। सडक पटानी गर्दा ढुंगा (गिटी) को आकार ७० एमएम र माटो १५ देखि २० प्रतिशत प्रयोग गर्ने मापदण्ड तोकिएको छ। तर, सडकमा ५० प्रतिशत माटो र गिटीको ठाउँमा ढुंगा राखेको देखिन्छ। 

अनुगमनक्रममा  गिटीको सट्टा ठूल्ठूला ढुंगा र माटोको प्रतिशत पनि मापदण्डविपरीत प्रयोग गरिएको भेटिएको नगरपालिकाका प्राविधिक रमेश गौतमले बताए। 

बर्दियामा हुलाकी सडकलाई तीन खण्डमा बाँडेर निर्माण भइरहेको छ। एक वर्षअघि तत्कालीन भौतिक पूर्वाधार यातायात मन्त्री रमेश लेखकले हुलाकी सडकका तीनवटै खण्ड निर्माण शिलान्यास गरेका थिए। काममा देखिएको तीव्रताले सडक बन्नेमा विश्वस्त भएका स्थानीय  गुणस्तरहीन सामग्री प्रयोग गरिँदा भने निराश छन्। 

चाल्ने मेसिन बिगँ्रदा सडक पटानीक्रममा  राखिने माटो र ढुंगाको मात्रामा केही सन्तुलन नमिलेको साइड इन्जिनियर दीपनारायण साहले बताए। ‘मापदण्डविपरीत प्रयोग भएका निर्माण सामग्री हटाउन थालेका छौं’, उनले भने। 

राजापुर–ढोढरी, गुलरिया–ढोढरी र ढोढरी–भुरिगाउँको कुल दूरी ५७ किलोमिटर छ।  सुरुमा भारत सरकारको रुचिअनुसार नै बन्ने भनिएको हुलाकी सडकको काम वर्षोसम्म हुन नसकेपछि  नेपाल सरकारले हुलाकी सडक आयोजनामार्फत टेण्डर आह्वान गरेर काम अघि बढाएको हो।  सन् २००४ मा भारत सरकारले हुलाकी राजमार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.