|

इंगलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपुरले स्टार स्ट्राइक ह्यारी केनको दुई गोलको मद्दतमा एभर्टनलाई ४–० ले पराजित गरेको छ। केन दुई गोलसँगै प्रिमियर लिगमा क्लबको तर्फबाट ९८ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका छन्।

केनले टेडी सेरिङघामको ९७ गोलको कीर्तिमान तोड्दै टोटनह्यामका लागि सर्वाधिक गोलकर्ता बने। २४ वर्षिय इंगल्यान्ड स्ट्राइकर केनले टोटनह्यामका लागि १ सय ३५ प्रिमियर लिग खेलमानै करीअरको ठूलो उपलब्धि हासिल गरे।  जब कि सेरिङघामले २ सय ३६ खेलमा उक्त कीर्तिमान कायम गरेका थिए।

टोटनह्यामलाई सहज जित दिलाउने क्रममा सन हेङ मिनले २६ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा एक गोल गरेको टोटनह्यामका लागि दोस्रो हाफको सुरुवातमानै केनले लगातार दुई गोल गरे। केनले ४७ र ५९ मिनेटमा गोल गर्दे टिमलाई ३–० को अवस्थामा पुर्‍याए। फराकिलो जित दिलाउने क्रममा क्रिष्टियन इरकसनले ८१ औं मिनेटमा गोल गरेका थिए । एभर्टनका लागि वाइन रुनीले केही राम्रा प्रहार गरे पनि गोल गर्न असफल भए।

जितपछि टोटनह्याम लिभरपुल समान ४४ अंकका साथ पाँचौ स्थानमा छ। गोल अन्तरमा अघि रहँदै लिभरपुल चौंथो स्थानमा छ। त्यस्तै शनिबार नै भएका खेलमा चेल्सी लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकियो। चेल्सी दोस्रो स्थानको युनाइटेड समान ४७ अंकका साथ तेस्रो स्थानमा  छ। ६२ अंकका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.