|

चितवन: नेपालकै उत्कृष्ट धार्मिक पर्यटकिय क्षेत्र तथा पवित्र तिर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलाको भव्य तयारी गरिएको छ। मेला व्यवस्थापन समितीले आवश्यक तयारी पुरा गरेको जनाएको छ।

यहाँ आज बेलुकादेखि नै मेला भर्ने भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । रातभर धुनी बालेर जाग्राम बसेका झत्तजनहरु भेली विहान नुहाएर पुजा गर्ने गर्दछन्।

देवघाट क्षेत्र विकास समितिले १५१ सदस्यीय मेला व्यावस्थापनन समिति गठन गरेर तयारी गरेको छ। समितिका संयोजक एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले मेलामा आउने भक्तजनहरुलाई सहजताका लागि आवश्यक सुरक्षा सहितको  तयारी गरिएको बताए। 

उनका अनुसार चिसो मौसम भएकाले भक्तजनहरुलाई धुनीको व्यवस्था समेत मिलाईएको छ। यस्तै स्वास्थ्य उपचार, शौचालय, स्नान स्थल व्यवस्थापन, विद्युत, आकस्किम उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।पौडेलले यहाँको झोलुंगे पुलको समेत आवश्यक मर्मत गरिएको बताउँदै पंक्तिबद्ध भएर हिंड्न अपिल गरेका छन्।

चितवन, नवलपरासी र तनहुँको संगम स्थलमा रहेको देवघाटमा वृद्दवृद्दाको सहजताका लागि आवश्यक व्यवस्था समेत गरिएको छ । यहाँ माघी मेलामा लाखौं भक्तजनहरुले स्नान गर्ने गर्दछन् ।

देवघाटनमा स्नानगरी पुजा गर्नाले मोक्षमिल्ने र मनोकामना पुरा हुने विश्वास रहेको छ । त्रिशूली र कालिगण्डकी नदीको संगम वेणीमा माघेसंक्रान्ति मेला लाग्छ ।

यसरी मिलाइएको छ ट्राफिक व्यवस्थापन

देवघाटमा देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजनहरु आउने भएकाले सवारीको ठुलो चाप हुने हुँदा सवारी आवागमन र पार्किंङका लागि स्थान तोकिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए ।

आज र भोली यहाँ आउने विभिन्न सडकमा एकतर्फि सवारीको व्यवस्था मिलाईएको पन्तको भनाई छ । उहाँका अनुसार नारायणगढ,भरतपुर तर्फबाट देवघाट जाने सवारीलाई ईलाका प्रहरी कार्यालय रामनगर जंगल मुखबाट भित्र प्रवेश गराउने र आँपटारीबाट बाहिर निस्कने व्यवस्था छ ।
 
मुग्लिङतर्फबाट देवघाटको चितवन खण्डमा जाने सवारीलाई रामनगरको ठीमुरा चोकबाट भित्र प्रवेश गराउने र आँपटारीबाट बाहिर जाने व्यवस्था छ । यस्तै मुग्लिङतर्फबाट देवघाटको तनहुँ खण्डमा जाने सवारीलाई दासढुङ्गा पुलबाट भित्र प्रवेश गराउने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाईएको छ । 

रामनगर र ठीमुरा दुवैतर्फबाट देवघाटमा प्रवेश गरेका मोटर साईकलहरुलाई सीताराम संस्कृत माध्यामिक विद्यालयको परिसरमा र रामनगरतर्फबाट आउने सवारीहरुलाई सीताराम संस्कृत माध्यामिक विद्यालय पछाडिको खुल्ला चौरमा पार्किङ गराउने व्यवस्था मिलाइएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.