फिचर

संस्कृति र स्वरोजगारीका लागि गुरुकुल
SHARES

पुस ३०, २०७४

    दमक (झापा) : भारतको असम निकासी घर भएका १४ वर्षका उमेश चापागाईं साँझ, बिहान वेदका ऋचा घोकिरन्छन्। उनी तीन वर्षअघि झापाको अर्जुनधारा– १ स्थित शंकराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशाला, साधुटारमा आएका हुन्। असममा हिन्दी र असमी भाषासँगै केही अंग्रेजी पढे पनि उनले संस्कृत भाषा पढेकै थिएनन्। तर असममा हिन्दू कर्मकाण्ड गर्ने र पुराण भन्ने ब्राह्मण नभएकाले आफ्नो र परिवारको रुचिमा संस्कृत पढ्न आएको उनले बताए। ‘हाम्रातिर यस्तो पढ्ने ठाउँ पाइँदैन’, उनले भने, ‘मेरो र परिवारको पनि रुचि भएकाले गुरुकुलमा संस्कृत पढ्न आएको हुँ।’ 

    संस्कृत पढ्न थालेको तीन वर्षमै उनी सामान्य हिन्दू संस्कारका कर्मकाण्ड गर्नसक्ने भएका छन्। ‘बेलाबेला वेद, रुद्री पाठ गर्न जाने गरेका छौँ। यसबाट हुने आम्दानीले व्यक्तिगत खर्च जुटाउन सजिलो हुन्छ’, अध्ययन थालेको तीन वर्षमै आम्दानी गर्न सुरु गरेका उनले खुसी सुनाए। 

    असमकै तीनसुकियाका आदित्य निरौलाले असममै ८ कक्षासम्म अध्ययन गरे। भाषा हिन्दी, अंग्रेजी र असमी मात्रै थियो। नेपालीसमेत पढ्न नपाएका उनी परिवार र आफन्तको साथ लागेर आठ महिनाअघि यहाँ आएका हुन्। चण्डी सकेर रुद्री अध्ययन गर्दै आएका उनले भने, ‘चण्डी पाठ गर्न बेलाबेला गइन्छ, दान दक्षिणा पनि पाइन्छ।’ असममा गुरुकुल नभएकाले नेपाल आएको र पण्डित भएर गाउँमै पुराण सुनाउने उनको लक्ष्य छ। 

    भुटानको चिराङमा ८ कक्षासम्म जोङ्खा र अंग्रेजी पढेका १८ वर्षका डिल्लीराम मिश्र पनि दुई साताअघि मात्र साधुटारको गुरुकुल आइपुगेका हुन्।

    नेपालीभाषीहरूले भुटानमा हिन्दू संस्कारका कार्जे गर्दा पण्डित–पुरोहित पाउनै गाह्रो छ’, उनले भने, ‘गुरुकुलमा पढियो भने छिट्टै पण्डित भइन्छ र आम्दानी पनि गर्न सकिन्छ भनेर दिदीभिनाजुसँग यहाँ आएको हुँ।’

    ०३३ सालबाट सुरु भएको यस गुरुकुलमा हाल १३५ जना बटुकहरू अध्ययनरत छन्। प्राचार्य छन्दुराम भण्डारीका अनुसार उनीहरूले आवासीय सुविधासहित गुरुकुलमा संस्कृत वाङ्मयको अध्ययन गरिरहेका छन्। ‘नेपालका विभिन्न जिल्लाका साथै भारत र भुटानबाट पनि बटुकहरू अध्ययनका लागि यहाँ आउने गरेका छन्’, उनले भने, ‘यसले वैदिक हिन्दू संस्कार र संस्कृत भाषा तथा वाङ्मयको संरक्षणमा पनि ठूलो सहयोग पुगेको छ।’

    बढ्दो संस्कृत मोह
    अंग्रेजी शिक्षाको प्रभाव बढिरहे पनि संस्कृत भाषाप्रतिको मोहले भने अझै धेरैलाई तान्ने गरेको छ। कैलालीको धनगढी फूलबारीका भुवन पोखरेलले ११ कक्षासम्म धनगढीमै अध्ययन गरे। तर त्यसलाई माया मारेर संस्कृत शिक्षा लिन उनी झापा आइपुगेका छन्। दुई वर्षदेखि गुरुकुलीय शिक्षा लिँदै आएका उनले भने, ‘डिग्री सक्नेहरू पनि यहाँ बेरोजगार छन्, तर गुरुकुलमा पढ्दा बेलैदेखि आम्दानी पनि हुन्छ, संस्कार जोगिन्छ अनि भविष्य पनि सुरक्षित हुन्छ। त्यसले गर्दा ११ कक्षा छोडेर गुरुकुलमा आएको हुँ।’

    पाँचथरको अमरपुरमा २ कक्षासम्म अंग्रेजी बोर्डिङ स्कुल पढेका १२ वर्षका सन्देश सुवेदी तीन वर्षदेखि गुरुकुलमा रहेर संस्कृतका विभिन्न ग्रन्थको अध्ययन गरिरहेका छन्। ‘सानैदेखि पुराण भनेको मलाई मनपथ्र्यो’, नौ वर्षको उमेरमा घर छोडेर हिँड्न लाग्दा ९० वर्षकी हजुरआमाले बालखै छ भनेर पीर मान्दै रोएको सुनाएका उनले भने, ‘मैले हजुरआमा रोएपछि नरुनू आमा, म पुराण भनेर तपाईंलाई सुनाउँला भन्दै आएको हुँ।’

    पूर्वाधारको अभाव
    जिल्लाकै पुरानो गुरुकुल पाठशाला भए पनि यहाँ भौतिक पूर्वाधारको भने अभाव रहेको छ। बटुकहरू खरले छाएको पुरानो टहरामा समेत बसेर अध्ययन गर्ने गरेका छन्। गुरुकुलका जग्गा व्यवस्थापन समितिका संयोजक योग्यनिधी चौलागाईंले भने, ‘आकर्षण यति धेरै छ कि बटुकहरूलाई आनन्दसँग पढेर अध्ययन गर्ने भवनहरूको पनि अभाव छ। त्यसैले महायज्ञ लगाएर गुरुकुलको जग्गा पाँच बिगाहा पु¥याउने लक्ष्य राखेका छौँ।’ 

    समिति सदस्य एवम् दमकका व्यवसायी लक्ष्मण श्रेष्ठको अगुवाइमा दमकका विभिन्न व्यवसायीहरूको सहयोगमा तीन तले भवनको निर्माण पनि भइरहेको छ। गुरुकुलका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाका अनुसार उक्त भवनमा हालसम्म करिव ४८ लाख रुपैयाँ खर्च भएको र थप २५ लाख रुपैयाँको आवश्यकता रहेको छ।

    साधुटार र पौराणिक महत्त्व
    यो स्थान तत्कालीन खुदुनावारी गाविसको वडा नंं.– १ मा पर्छ। यसलाई जगतगुरु शंकराचार्य माधवाश्रमजीले नेपालकै पहिलो शंकराचार्य पीठको रूपमा घोषणा गरेको ४२ वर्ष पुगेको संस्थापक केदारनाथ खतिवडाले बताए। ०२७ सालदेखि यहाँ बसोवास गर्दै आएका गुरुकुलका संस्थापक खतिवडाका अनुसार पौराणिककालको तपोभूमि रहेकै कारण यो स्थानलाई वर्षौंअघिदेखि साधुटार भन्ने गरिएको उनले जनाएका छन्। 

    चुरे क्षेत्रसँग जोडिएको यो स्थान धार्मिक र सांस्कृतिक रूपमा मात्र नभई प्राकृतिक रूपमा समेत सुन्दर रहेको छ। यस्तै, साधुटारको रूपमा चिनिएको यो स्थान भने पौराणिक महत्त्वसँग जोडिएको स्थान हो। व्यासाचार्य खतिवडाका अनुसार यो स्थान पाण्डवहरूले वनवास जानुअघि धनुष वाण बिसाएको स्थान हो। सोही स्थानमा अझै पनि समीको रूख रहेको उनले बताए। 

    यस स्थानका बारेमा महाभारत ग्रन्थको वन र विराट पर्वमा समेत वर्णन गरिएकाले यो धार्मिक र पौराणिक स्थान रहेको उनको भनाइ छ। उनले भने, ‘गरुड पुराणमा उल्लेख भएअनुसार यस स्थानमा २६ हजार ऋषिहरूले तपस्या पनि गरेका थिए। त्यसैले यो साक्षात धर्मस्थल पनि हो।’

गोपाल झापाली

पत्रकार गोपाल झापाली थाहाखबरका झापाको दमकस्थित संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]