|

सुर्खेत : कार्यालय समयमा पोसाक लगाएरै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतभित्र तास खेलिरहेको अवस्थामा भेटिएका ३ जना प्रहरीलाई आवश्यक कारबाहीका लागि छानबिन सुरु भएको छ।

२७ पुस दिउँसोको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार नरेश खत्री, हवल्दार प्रवीण थापा र प्रहरी जवान ज्ञान बहादुर बिक तास खेलिरहेको भिडियो सार्वजनिक भएको थियो।

उक्त भिडियो सार्वजनिक भएपश्चात् क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले यसप्रति ध्यानाकर्षण भएको भन्दै छानबिन प्रक्रिया सुरु गरिएको जनाएको छ।

कार्यालयका एसपी राजेन्द्र खड्काले यस विषयमा थप अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया थालिने बताए।

प्रहरी कार्यालयभित्र यस्तो क्रियाकलाप भएको प्रति दुःख व्यक्त गर्दै उनीहरुलाई प्रहरी नियमावलीअनुसार कारबाही थालिने एसपि खड्काको भनाइ छ।

छानबिनको जिम्मा प्रदेश प्रहरीलाई

कार्यालय पोसाकमै तास खेलिरहेको अवस्थामा भेटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यरत प्रहरी हवल्दार तथा प्रहरी जवानहरुलाई आवश्यक छानबिनका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेत लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै पेसागत मर्यादालाई  दुरुपयोग गर्दै पोसाकमै तास खेल्नु गलत भएको भन्दै विज्ञप्तिमा दुई प्रहरी हवल्दार र प्रहरी जवानलाई सम्बन्धमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ६ नं. प्रदेश प्रहरी कार्यालय, सुर्खेत पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले तत्काल छानबिन समितिसमेत गठन गरी ३ जनालाई नै  छानबिन गरी दोषी पाइएमा कानुनअनुसार कारबाही गरिने बताए।

के थियो भिडियोमा

सुर्खेत वीरेन्द्रनगरका विनोद सिंह विष्टले आफ्नो शुक्रबार फेस्बुकमार्फत सार्वजनिक गरेको उक्त भिडियोमा कार्यालयभित्र ३ जना प्रहरी पोसाकमै तास खेलिरहेका छन्।

विष्टले हिरासतमा लिएको एक जना व्यक्तिबारे बुझ्न ट्राफिक कार्यालय गएको उल्लेख गर्दै कार्यालयमा पुग्दा कर्मचारीहरु तास खेलिरहेको भेटिएको बताए।

सामाजिक सञ्जालमा तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले छानबिन सुरु गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.